स्थलगतः झापा–५

ओली–बालेन भिड्दा गर्माएको माहोल, चियापसलदेखि घर–घरसम्म के छ चर्चा?

फागुन २१ गते हुने निर्वाचनमा सबैभन्दा ज्यादा चासो र चर्चामा रहेको झापा–५ का मतदाताको मनस्थिति, उम्मेदवारबारेको बुझाइ र चुनावी प्रचारप्रसार शुरू नहुँदैको ‘अर्ली माहोल’बारे स्थलगत रिपोर्ट:

दमक, झापा– बिहानको समय, दमक नगरपालिका–५ मा रहेको बगान चिया क्याफेमा केही युवाबीच चियाको चुस्कीसँगै गरमागरम छलफल चलिरहेको छ। छलफलको विषय छ, झापा–५ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसको सम्भावित नतिजा। 

यहाँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार छन्। नेपाली कम्युनिस्ट पार्टीका युवानेता रन्जित तामाङ, नेपाली कांग्रेसबाट मन्दरा चिमरिया र श्रम संस्कृति पार्टीबाट समिर तामाङसमेत यही क्षेत्रबाट उम्मेदवार छन्। तर चिया पसलको छलफल भने ओली र बालेनमा केन्द्रित थियो। 

कोही युवा ओलीले झापामा धेरै विकास गरेको दाबी गर्दै थिए, कोहीचाहिँ अब उनको समय सकिएकाले युवालाई समय दिनुपर्ने बताउँदै थिए। “बालेन त केपी ओलीसँगको इगोका कारण मात्र यहाँ आएको हो। ओलीको बलियो क्षेत्र हो यो, यहाँ उनी हार्दैनन्,” त्यहाँ रहेका एक युवा भन्दै थिए, “जितेर गए बालेन झापा फर्केर आउँदैन। अर्को चुनावमा निर्वाचन क्षेत्र फेर्छ। अहिले नै निर्णय गर्न हुन्न।” 

त्यही समूहमा रहेकी एक युवतीको भने फरक धारणा थियो। उनी भने बालेनले काठमाडौँमा विकास गरेको र अब प्रधानमन्त्री बनेपछि देशकै विकास गर्ने बताउँदै थिइन्। “म त यसपालि बालेनलाई समर्थन गर्छु,” उनको भनाइ थियो। 

null

काठमाडौँ महानगरपालिकाको मेयरमा करिब डेढ वर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेर झापा हानिएका बालेनले काठमाडौँमा के–के विकास गरेको भनेर त उनले केही खुलाइनन्। तर सामाजिक सञ्जालको तीव्र प्रचारका कारणले हुनसक्छ, दमकका चोकबजारमा पनि ‘बालेनले काठमाडौँको विकास गरेको’ बुझाइ बाक्लिँदै गरेको उनको भनाइले देखाउँथ्यो। 

दमकको गणतान्त्रिक चोकमा एकाबिहानै भक्का खाने मानिस जम्मा हुने गर्छन्। चोक आसपासका क्षेत्रमा पनि भक्कादेखि सडक किनारमा चिया पिउन आउनेहरूको बिहानैदेखि घुइँचो लाग्छ। झापा–५ मा गत माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता भएपछि यी ठाउँमा यस्तो भीड बेस्सरी बढेको छ। र उनीहरूबीचको छलफलको प्रमुख विषय नै ओली र बालेनमध्ये कसले चुनाव जित्ला भन्ने देखिन्छ। 

झापाका मतदातामाझ मात्र होइन, अन्यत्र पनि ओली र बालेनको प्रतिस्पर्धा सम्भवतः सबभन्दा धेरै चर्चामा छ। कारण ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।

यो ‘अर्ली माहोल’ 
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अहिलेसम्म चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छैनन्। उम्मेदवारहरूको घरदैलो कार्यक्रम पनि शुरू भएको छैन। निर्वाचन आचारसंहिताअनुसार दल र उम्मेदवारले फागुन ४ गते भन्दा पहिले घरदैलो कार्यक्रम र सभा गर्न पाउँदैनन्। तर त्यसका बाबजुद पनि झापा–५ मा चुनावी माहोल असाध्यै बढेको छ।  

null

झापा–५ को यो भूगोल त्यही क्षेत्र हो जहाँबाट २०४८ सालदेखि नै ओली उम्मेदवार रहँदै आएका छन्। काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बनेर २०७९ को निर्वाचनमा मेयर जितेका बालेन पहिलोपटक यही क्षेत्रमा ओलीसँग प्रतिस्पर्धा गर्न आएका हुन्। 

यही क्षेत्रमा पर्ने कमल गाउँपालिका–४ की देवीमाया नेपाल किराना पसल व्यवसायी हुन्। ओली र बालेनकै विषयमा मानिसहरूले धेरै चर्चा गरेको सुनेकी उनी भन्छिन्, “कसैले बालेनलाई भोट दिने भनिरहेका छन्, कसैले यो क्षेत्रको विकास गर्ने ओली भएकाले उनलाई नै भोट दिनुपर्छ भनिरहेका छन्। चर्चा उहाँ दुई जनाकै मात्र छ।” 

देवीमायाले अहिलेसम्म कुनै दलका नेता वा उम्मेदवार मत माग्न वा प्रचारप्रसार गर्न भने नआएको बताइन्। “जसले जिते पनि जनताको जीवनस्तर कहिले सुध्रिने होइन। कसैले केही गर्ला भन्ने त आस पनि छैन,” उनले भनिन्, “अब मत माग्न आउलान्। उनीहरूको कुरा सुनेर कसलाई मत दिने भनेर धारणा बनाउँछु।” 

दमक नगरपालिका–५ का पूर्णबहादुर थापा ८३ वर्षका भए। २०४८ देखि नै यहाँको चुनावी प्रतिस्पर्धा हेरिरहेका उनले यसअघि ओलीलाई टक्कर दिने बलिया उम्मेदवार नभएको, यसपालि बालेन नै प्रतिस्पर्धी बनेर आएपछि धेरै चासो बढेको बताए। यो चासोबीच आफूलाई पनि मत बदल्न मन लागेको उल्लेख गर्दै उनले भने, “पुराना नेताले ३६ वर्ष शासन गरे, देशको अवस्था सुधार भएन। मेरो त उमेर पनि पुग्यो। अब नाति/नातिना र पनातिको भविष्यका लागि भोट परिवर्तन गर्नुपर्छ कि भन्ने लागेको छ।”

null

दमक नगरपालिकाको बजार क्षेत्र आसपासमा भेटिएका जेन–जी उमेर समूहका मतदाता, अन्य युवा मतदाता र त्यहाँ व्यवसाय गरिरहेकाहरूमा बालेनको उम्मेदवारीले तरंग ल्याएको देखिन्छ। ग्रामीण क्षेत्रमा भने अहिले पनि ओलीकै चर्चा ज्यादा सुनियो। 

शनिबार दमकबाट इटहरी जान लागेको बसमा भेटिए, दमक–८ का विकल्प सुब्बा। माओवादीको सशस्त्र द्वन्द्वको बेलादेखि नै माओवादीमा आबद्ध भएका थिए उनी। पछिल्लो ७–८ वर्षयता भने उनी राजनीतिबाट अलग भएका छन्। आफू राजनीतिबाट टाढा भए पनि राजनीतिक माहोलले भने उनलाई तानिहाल्छ। जस्तो, अहिले झापा–५ को चुनावी माहोलले पनि उनलाई तानेको छ।

“युवा पुस्ताका कुरा सुन्दा बालेनलाई खोजेको देखिन्छ। जातीय समुदायका कुरा सुन्ने हो भने समिर तामाङ (श्रम संस्कृति पार्टीका उम्मेदवार) लाई भोट दिने भन्छन्,” उनले भने, “तर अहिले जसले जे चर्चा गरे पनि मत दिँदा भने ओलीलाई नै दिन्छन्। यहाँ जित्ने भनेको ओली नै हो।” 

सुब्बा आफै भने श्रम संस्कृति पार्टीको पक्षमा रहेछन्। उनले मत पनि सोही पार्टीका उम्मेदवारलाई दिने बताए। तर आफूले मत नदिए पनि झापा–५ मा ओली नै बलियो उम्मेदवार रहेको उनको ठम्याइ छ। 

“राजनीति र सबै हिसाबले ओली नै बलिया हुन्। उनी यहाँका स्थानीय हुन्, दमकका लागि विकास गरेका पनि छन्,” उनले भने, “बालेनले जित्यो भने फर्केर आउँदैन। कम्तीमा जस्तै भए पनि ओली त आउँछन्। उनलाई ढुंगा हान्न पनि सकियो, गाली गर्न पनि सकियो। बालेनलाई सकिन्न। ऊ त काठमाडौँ बस्ने मानिस, शैली नै अर्कै छ।”

null

झापाको कमल गाउँपालिकामा आदिवासी सन्थाल समुदायको पनि उल्लेख्य बसोबास छ। त्यही समुदायको प्रतिनिधित्व गर्ने कमल गाउँपालिका–२ का कमल सोरेनले २०७९ को निर्वाचनमा ओलीलाई मत दिएको बताए। यसपालि भने उनलाई मत बदल्नुपर्छ कि भन्ने लागिरहेको छ। 

“यहाँबाट जितेर गएकाले हाम्रो समुदायका लागि केही गरेनन्। नयाँले केही गर्लान् कि भन्ने आशा छ,” उनले भने, “अब उम्मेदवार मत माग्न आउलान्। उनीहरूसँग आफ्ना समस्या र गुनासा राख्छौँ। कसले के भन्छ, हेर्छौँ। अनि सोचेर निर्णय गर्छौं।” 

कमल गाउँपालिका–५ का रामप्रसाद राईले झापा–५ का दुई जना उम्मेदवार प्रधानमन्त्रीका दाबेदार रहेको सुनेका छन्। तर जो आए पनि आफ्नो क्षेत्रका लागि कसैले काम गर्ला भन्ने आशा नभएको उनले सुनाए। “ओली, बालेन र समिर तामाङको नाम सुनेको छु। उनीहरू प्रधानमन्त्री नै बन्न खोजेका छन् रे,” उनी भन्छन्, “पहिले उनीहरूका कुरा सुन्छु। अनि भोट कसलाई दिने, हेर्नुपर्ला।”

null

दमक बजारमै बसोबास गर्ने गोमा पौडेलको आकलनअनुसार झापा–५ मा अहिलेसम्म ओली नै बलियो अवस्थामा छन्। “स्थानीय पनि हुन्। दमकका लागि केही गरेका पनि छन्। केहीले बालेनको चर्चा गरे पनि अहिलेसम्म ओलीले नै जित्ने मेरो आकलन छ,” उनी भन्छिन्, “चुनाव हो, मतदान हुने दिनसम्म के–कस्तो माहोल बन्छ भन्ने अहिल्यै थाहा त हुन्न। तर अहिलेसम्मको माहोलमा उनी बलियो छन्।” 

दमकमै भेटिएका एक एमाले समर्थकले भने विदेशमा बस्ने छोरा र छोरीका कारण यसपालि मत परिवर्तन गर्ने निधोमा पुगेको सुनाए। “छोरा र छोरीले जसरी पनि बालेनलाई जिताउनुपर्छ भनेर दबाब दिएका छन्। सन्तानकै कुरा नसुन्न पनि भएन,” उनले भने।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार आउँदो फागुन ४ देखि मात्र दलका र स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार र चुनावीसभा गर्न पाउँछन्। तर यसबीचमा पनि दलहरूले चुनावलक्षित बैठक, छलफल र आन्तरिक तयारी गरिरहेका छन्। झापा–५ मा दलका १५ र स्वतन्त्र ९ समेत २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। एक लाख ६३ हजार ३७९ मतदाता रहेको यो क्षेत्रमा ६१ मतदानस्थलमा १८५ मतदान केन्द्र तोकिएका छन्।