नेप्से परिसूचक ९ अंकले बढ्दा ९ अर्बमाथिको कारोबार

बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढ्दा कारोबार रकममा समेत वृद्धि भई नौ अर्ब सात करोड नाघेको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। बुधबारको कारोबारमा झिनो गिरावट देखिएको नेप्से यस दिन ९.२३ अंकले बढेको हो।

नेप्से ९.२३ अंकले वृद्धि भएसँगै परिसूचक २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ। यस दिन फ्लोट इन्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१४ अंकले घटेका छन्।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन बुधबार आठ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार नौ अर्ब सात करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस दिन ३३२ कम्पनीका एक करोड ९० लाख ७५ हजार कित्ता शेयर ९४ हजार १७४ पटकको कारोबारमार्फत खरिद–बिक्री भए।

यस दिन एसवाई प्यानल नेपाल, त्रिशूली जलविद्युत् कम्पनी, श्रीनगर एग्रीटेक इन्डस्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र रावा इनर्जी डेभलपमेन्टको ९ प्रतिशतले उकालो लागेको छ। यता कालिका पावर कम्पनीका लगानीकर्ताले भने सर्वाधिक ६.२५ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

बिहीबार १३ उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्। व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.१५ प्रतिशतले ओरालो लागेको छ।