नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १३८ रन मात्रै बनाउन सक्यो।

काठमाडौँ– आईसीसी टी२० विश्वकपको ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। 

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल २ रनले पराजित भएको हो। जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ।

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १३८ रन मात्रै बनाउन सक्यो। 

नेपालमा रुबिना क्षेत्रीले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८ रन बनाइन्।

नेदरल्यान्ड्सका इसाबेल भान डर वोनिङले ३ विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ५ विकेट गुमाएर १४० रन बनाएको थियो। 

नेदरल्यान्ड्सका बाबेट डे लिडले ४९ तथा स्टेर कालिसले ३० रन बनाइन्। रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे। नेपालका रुबिना क्षेत्रीले २ विकेट लिइन्। 

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। नेदरल्यान्ड्सले भने जिम्बाबे र स्कटल्यान्डलाई हराएको थियो।