मनोनयन दर्तापछि महावीरले भने– रिसको झोँकमा उम्मेदवार बनेँ

महावीर पुनले सरकार र कर्मचारीले असहयोग गरेपछि राजीनामा दिएको र रिसको झोँकमा उम्मेदवारी दिएको बताएका छन्। माघ ४ मै राजीनामा दिए पनि आफ्नै अनुरोधमा सार्वजनिक नगरिएको पनि उनले बताए।

म्याग्दी– प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका महावीर पुनले अपमान महसुस भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर रिसको झोँकमा उम्मेदवार बन्न आएको बताएका छन्।

शिक्षा नियमावली, विश्वविद्यालयसम्बन्धी छाता ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोषसम्बन्धी ऐन अध्यादेशबाट ल्याउने प्रयासमा कर्मचारीतन्त्र र सरकार नै असहयोगी बनेको बताएका छन्। त्यही कारण निराश बनेर मन्त्रीबाट राजीनामा दिएर पुर्ख्यौली थलोमा उम्मेदवार बन्न आइपुगेको उनको भनाइ छ।

म्याग्दी निर्वाचन क्षेत्रबाट जिल्ला समन्वय समितिका कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएपछि उनले सरकार र कर्मचारीसँग असन्तुष्टि पोखेका हुन्। आफूले माघ ४ गते साँझ मन्त्रिपरिषद् बैठकमा शिक्षासम्बन्धी केही नियमावली र कार्यविधिसम्बन्धी अध्यादेश टेबुल गरेको तर मन्त्रालय र स्वयं प्रधानमन्त्री कार्यालयका सचिवले असहयोग गरेको उनको भनाइ छ।

“कर्मचारीहरूले निर्वाचन आयोगको स्वीकृति लिएर अध्यादेश नियमावली र कार्यविधि ल्याउन पाइन्छ भनी सुझाएका थिए,” पुनले भने, “तर निर्वाचन आयोगले नपाइने भनेपछि मलाइ झुक्याइएको र अपमान गरेको महसुस भयो। अनि ४ गते राति १२ बजेअघि नै मन्त्री पदबाट राजीनामा दिएको हुँ।” 

तर आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाको विषय माघ ६ गते बिहानसम्म सार्वजनिक नगरिदिन भनेको पुनले बताए। “त्यसैले आज मात्र सार्वजनिक भएको हो,” उनले भने।

मन्त्री हुँदै माघ ४ गते रातिसम्म विभिन्न दलले आफूलाई उम्मेदवार बन्न प्रस्ताव गरेको पनि पुनले बताए। तर कसैको ‘अन्डर’मा बस्ने स्वभाव नभएको कारण स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ। 

राजीनामा गरी मन्त्री क्वाटरमा पुगेपछि मात्र आफूले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको उनले बताए। “माघ ५ गते साँझ अबेर मेरो आत्मकथाका किताबहरू बोकेर जीपमा पोखरा हिँडे। पुर्ख्यौली गाउँ राम्चे र नागीका तीनजना पूर्वलाहुरेहरू साथमा लिएर मंगलबार बिहान ७ बजे पोखराबाट म्याग्दीतर्फ लागेँ। त्यहीँबाट म्याग्दीमा रहेका आफ्ना सहयोगीलाई प्रस्तावक र सर्मथक खोजिदिन भनेको थिएँ,” उनले सुनाए।

पुनको प्रस्तावकमा चित्रबहादुर तिलिजा छन्। उनले भने, “आज (मंगलबार) बिहान ८ बजेसम्म मैले महावीर पुन उम्मेदवार बन्न म्याग्दी आउलान् भन्ने कल्पना गरेकै थिइनँ। किनभने सोमबार दिउँसो मैले उहाँलाई फोन गरी आफूले सुनेका कुरा सोध्दा मलाई कुनै छनक नै दिनुभएको थिएन।”

nullउम्मेदवारी दर्तागरी खाना खान बेनीस्थित होटल डाँफेमा पुगेका पुनलाई फकाउन रास्वपाका उम्मेदवार युवराज रोका कार्यकर्तासहित पुगेका थिए। पुनका चुनावी कमाण्डर तिलिजाका अनुसार, रास्वपाका उम्मेदवार बन्न लागेका रोकाले आफूले उम्मेदवारी नदिने भन्दै रास्वपाको उम्मेदवार प्रस्ताव गरेका थिए। तर पुन मानेनन्। 

उम्मेदवारी दर्तापछि बेनीको क्याम्पसचोकस्थित एक पसलबाट साउण्ड सिस्टमसहितको माइक किनेर जिल्लाको पश्चिम मालिका र धवलागिरि गाउँपालिकातर्फ प्रचारमा निक्लेका छन्। उनले उकालोसँगको भेटमा भने, “जिल्लाको पश्चिम भेगका गाउँहरूमा १२ दिन घुमेर पोखरा फर्कन्छु र फेरि उत्तरी र मध्य क्षेत्रमा चुनाव प्रचारमा निक्लन्छु होला।”

nullपुन पुर्ख्यौली घर म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ८ नागी हो। तर उनी चितवनको रत्ननगरमा हुर्केका थिए। पुन र जापानी मानवशास्त्री प्राध्यापक जिरो कावाकितासँग कनेक्सन छ। त्यो हो, एउटै भुगेलमा अपनाइएको विकास मोडेल र रोमन म्यागासेसे पुरस्कार।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिख, घार, पाउद्वार, खिवाङ, स्वाँता लगायत बस्तीमा सन् १९७०–८५ को दशकमा प्राध्यापक कावाकिताले ‘स्थानीयको समस्या स्थानीयकै सहभागितामा समाधाान गर्ने’ केजे मेथोड (कावाकिता जिरो मेथोड) अपनाएर पम्पिङ सिस्टमको खानेपानी, लघुजलविद्युत् र जंगलबाट घाँसदाउरा ओसार्न रोपवे प्रविधि भित्राएका थिए। त्यसका लागि कावाकिताले हिमालय संरक्षण संस्था (आईएचसी) स्थापना गरेका थिए। 

त्यही भूगोलमा पुनले जिरो कावाकिताको विकास मोडेल पछ्याउँदै सन् १९९० को दशकदेखि सामुदायिक पर्यटन, व्यवसायिक शिक्षा, स्थानीय पार्टपुर्जा र टीभीका एन्टेना प्रयोगगरी वायरलेस इन्टरनेट सेवा पुर्‍याएका थिए। एउटै भूगोलमा एउटै विकास मोडेल ‘केजे मेथोड’ अपनाएर समुदायको जीवनस्तर उकास्न काम गरेकोले कावाकिता र पुन दुवैले रोमन म्यागासेसे पुरस्कार जितेका थिए।