मंगलबार शेयर बजार ४२.२६ अंकले बढ्यो

नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ११ अर्ब ८५ करोड नाघेको छ।

काठमाडाैँ– साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्से बढेको छ। सोमबार नेप्से बन्द थियो, आइतबार बढेको नेप्सेले आज पनि त्यसैलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ४२.२६ अंक बढेर २,७१४.८१ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.८२ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८७ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आइतबार ८ अर्ब ४० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज गोर्खाज फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आँखु खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। सुपर मादी हाइड्रोको मूल्य सर्वाधिक साढे तीन प्रतिशतले घटेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको तथा लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।