एकल विन्दु सेवा केन्द्रको तयारीमा लगानी बोर्ड, १४ निकायमा सम्पर्क व्यक्ति नियुक्त

लगानीको वातावरण सुधार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो र समन्वयात्मक सेवा प्रदान गर्ने उद्देश्यले लगानी बोर्डले ‘एकल विन्दु सेवा केन्द्र’ सञ्चालनको गृहकार्य अघि बढाएको छ।

काठमाडौँ— राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र समन्वयात्मक सेवा उपलब्ध गराउने उद्देश्यसहित लगानी बोर्डको कार्यालयले ‘एकल विन्दु सेवा केन्द्र’ सञ्चालनका लागि गृहकार्य अघि बढाएको छ। बोर्डले छरितो सेवा प्रवाहमार्फत लगानीको वातावरणमा सुधार गर्ने र लगानी आकर्षणलाई गति दिने लक्ष्यका साथ यो संरचना निर्माणको तयारी थालेको हो।

यस प्रयोजनका लागि बोर्डले सहसचिव हेमराज तामाङलाई केन्द्रको संयोजक तोकेको छ भने सेवा प्रवाहलाई प्रभावकारी बनाउन १४ वटा सरकारी निकायले अख्तियारीसहित ‘फोकल पर्सन’ (सम्पर्क व्यक्ति) नियुक्त गरेका छन्।

सम्पर्क व्यक्ति तोक्ने निकायहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत् विकास विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरण रहेका छन्। बोर्डले आवश्यक देखेमा अन्य निकायले पनि थप सम्पर्क व्यक्ति तोक्न सक्ने जनाएको छ।

बोर्डको कार्यालयले सम्बन्धित मन्त्रालय, विभाग तथा निकायसँग समन्वय गरी एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार पारिसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए। उनका अनुसार तत्कालका लागि बोर्डले तोकिएका सम्पर्क व्यक्तिहरूसँग प्रत्यक्ष समन्वय गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने योजना बनाएको छ।

कार्यकारी अधिकृत ज्ञवालीले जेन-जी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएकाले नयाँ कार्यालय व्यवस्थापन र कार्यविधिले अन्तिम रूप पाएपछि मात्र एकै स्थानबाट सेवा प्रवाह सुरु हुने जानकारी दिए। उनले ‘अटोमेसन’ (स्वचालित प्रणाली)मार्फत काम गरिने भएकाले प्रविधिको प्रयोग महत्त्वपूर्ण हुने बताए।

सम्पर्क व्यक्तिहरूसँगको छलफलमा ज्ञवालीले लगानीसम्बन्धी राष्ट्रिय लक्ष्य हासिल गर्न र सुशासन कायम गर्न सबै निकायले अपनत्वसहित काम गर्नुपर्नेमा जोड दिए। “लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ। यसमा सबै निकायको साथ र सहयोग अपेक्षित छ,” उनले भने।

अहिले विभिन्न निकाय धाउनुपर्ने झन्झटका कारण लगानीकर्ताले सास्ती खेप्नुपरेको भन्दै एकल विन्दु सेवा केन्द्र प्रभावकारी रूपमा कार्यान्वयन भएमा कामकारबाही चुस्त हुने उनले विश्वास व्यक्त गरे।

“हाललाई तोकिएका फोकल पर्सन सम्बन्धित मन्त्रालय तथा निकायका ‘सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट’ हुनेछन्। उनीहरूले लगानी बोर्डबाट सिफारिस भएका आफ्ना निकायसँग सम्बन्धित फाइल तथा प्रक्रियालाई सहज बनाउन सहजीकरण गर्नेछन्,” ज्ञवालीले भने।

सहसचिव हेमराज तामाङका अनुसार ती प्रतिनिधिहरूले सार्वजनिक–निजी साझेदारी ऐन २०७५, सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली २०७७ एवं लगानी बोर्डको रणनीति र व्यावसायिक योजनाअनुसार सेवा प्रवाहमा सहयोग पुर्‍याउनेछन्। साथै, उनीहरूले बोर्डबाट प्राप्त फाइल तथा पत्रको समयमै राय-प्रतिक्रिया दिने र सम्बन्धित निकाय तथा बोर्डबिच समन्वयकारी भूमिका निर्वाह गर्नेछन्।

यस्तो प्रकारको एकद्वार प्रणाली भारतले SEZ हरुमा लागू गरे जस्तै हो जो प्रभावकारि छैन। आफूभित्रको समस्या पहिले पहिचान गर्नुपर्यो। त्यसपछि, अन्य निकायको समन्वयको विषय हेर्नु पर्छ। तर, जागिरको नुन पचाउन पनि केही त गरिराख्नु नै पर्यो। लगे रहो, सुशील जी!!

ऋषिराज कोइराला

4 months, 2 weeks ago