नेप्से परिसूचकमा ३१ अंकको वृद्धि, ८ अर्ब ४० करोडको कारोबार

आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर दुई हजार ६७२ को बिन्दुमा पुग्दा वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।

काठमाडौँ— साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ को विन्दुमा कायम भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा १.१७ प्रतिशतको वृद्धि हो।

यस दिन ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद-बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहका उपसूचकहरू बढेका छन्। जसमध्ये वित्त समूहको उपसूचक सबैभन्दा बढी ५.७३ प्रतिशतले बढेको छ।

बजारमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुर्खाज फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य भने सबैभन्दा बढी ८.७८ प्रतिशतले घटेको छ।