साफ फुटसलमा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो

जारी साफ महिला फुटसल च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो।

काठमाडौँ– साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ।

थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५–० गोलअन्तरले हराएको हो। ४० मिनेटको यस खेलको पहिलो हाफमै नेपालले ४ गोल गरेको थियो।

खेलको चौथो मिनेटमा जेनिफर रानाको गोलमा नेपालले अग्रता लियो। विमला चाैधरीले ११औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन्। लगत्तै जेनिफरले गोल थपिन्। खेलको १८औँ मिनेटमा मनिषा थापा मगरले गोल गरिन्। खेल सकिन एक मिनेट बाँकी रहँदा फातिमाथ सइनाले आत्मघाती गोल गरेपछि नेपाल विशाल अन्तरका साथ विजयी भयो।​​​​​​​

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो।

यसअघि भारतसँग ११–१ ले पराजित माल्दिभ्सको भने यो लगातार दोस्रो हार हो। यस जितसँगै नेपालले दुई खेलबाट ४ अंक पुर्‍याएको छ।