जस्तो ममता उस्तै गगन गर्जन

इमर्जेन्सीपछि प्रतिपक्षमा पुग्दा इन्दिरा गान्धीलाई कारबाही गर्न खोज्ने सरकारविरुद्ध प्रदर्शनहरूमा सहभागी भई ममता ‘नोटिस’ मा परेकी थिइन्। राजाले सत्ता हातमा लिएपछि भएको आन्दोलनमा गगन चम्किए।

सन् २०११ मे २०– जनसागरको अगुवाइ गर्दै चिरपरिचित निलो किनारा भएको सेतो सुती धोती र हवाई चप्पल पड्काउँदै ममता बनर्जी एक किलोमिटर पैदल हिँडेर कोलकातास्थित पश्चिम बंगाल मुख्यमन्त्रीको अफिस भवन (राइटर्स बिल्डिङ) प्रवेश गर्छिन्। सरासर मुख्यमन्त्रीको अफिस कोठा छिर्छिन् र कुर्सीमा बस्छिन्। १८ वर्षअघि पुलिसले जगल्ट्याएर घिसार्दै उनलाई त्यही राइटर्स बिल्डिङबाट निकालेको थियो।

ममतालाई दुर्व्यवहार गरी अपमानपूर्ण शैलीमा बाहिर निकाल्ने वामपन्थी सरकार (सीपीएम, सीपीआई र फरवार्ड ब्लकको गठबन्धन हुनेगर्थ्यो) ३४ वर्ष लामो शासनपछि गर्ल्यामगुर्लुम्म ढलेको छ। ममता आफैले गठन गरेको तृणमूल कांग्रेसले २९४ सदस्यीय राज्य विधानसभा चुनावमा १८४ सिटसहित बहुमत पाएको छ।

बलात्कारबाट गर्भवती भएकी बोल्न नसक्ने एक जना पीडितको जाहेरी बलात्कारका आरोपी सत्तारूढ पार्टीमा आवद्ध भएकै कारण दर्ता हुन नसकेपछि ममतासमक्ष पुगेकी हुन्छिन्। पीडितलाई लिएर मुख्यमन्त्री कार्यालय पुगेकी ममतालाई तत्कालीन मुख्यमन्त्री ज्योति बसु भेट्नै इन्कार गर्छन्। लडाकु स्वभावकी ममता त्यहीँ धर्ना बस्दिन्छिन्।

पुलिस लगाएर महिलाद्वयलाई चुल्ठो समातेर घिसार्दै बाहिर निकालिन्छ। दुवैलाई चोटपटक लागे पनि पीडितलाई अस्पताल लगिन्छ, ममतालाई प्रहरी हिरासत। “यहाँ अब अनुनय–विनय गर्न आउने छैन,” उनी संकल्प गर्छिन्, “शिर ठाडो पारेर आउनेछु।”

राजनीतिक विरासत मात्रै होइन ‘गडफादर’ बेगर निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी एक महिलाले लडाकु स्वभाव र अथक संघर्षको बलबुतामा नेपालभन्दा तीन गुणा बढी जनसंख्या भएको प्रान्तमा मुख्यमन्त्री बनेको दिन थियो। १७ वर्षको उमेरमै बुवा गुमाएपछि जेठी छोरी ममताले कलिलै उमेरमा पारिवारिक जिम्मेवारी सम्हाल्नपरेको थियो। विद्यार्थीकालमै कांग्रेस पार्टीमा आबद्ध ममताको लागि सन् १९७७ मा कांग्रेसको पराजय पहिलो ‘टर्निङ प्वाइन्ट’ भइदियो।

इन्दिरा गान्धीलाई कारबाही गर्न खोजिरहेको थियो मोरारजी देसाई सरकार, विरोधमा कांग्रेस स–साना सडक प्रदर्शन गर्थ्यो, जसमा ममताको सहभागिता हुन्थ्यो। प्रधानमन्त्री देसाई कोलकाता आउँदा पार्टीको योजनाअनुसार कालो झण्डा देखाउँदा त सुरक्षा पर्खाल तोड्दै प्रधानमन्त्री चढेको गाडी नजिकै पुगिन्। सडक प्रदर्शनहरूमा लडाकु, जुझारु, आक्रामक शैलीले गर्दा ममतालाई मान्छेहरूको ध्यान आकर्षित गर्न समय लागेन।

सन् १९७७ मा वामपन्थीहरूको सत्तारोहणसँगै पश्चिम बंगालको राजनीतिमा हिंसाले प्रवेश गर्छ। धर्ना, प्रदर्शन जे गर्दा पनि विपक्षीहरूउपर सत्ताद्वारा निर्देशित आक्रमण हुन थाल्छ। ममता बनर्जीले अनगिन्तीचोटि कुटाइ खान्छिन्। मध्यावधि चुनावमार्फत सन् १९८० मा केन्द्रमा कांग्रेसकै सरकार आए पनि ममताले कुटाइ खानेक्रम रोकिँदैन, किनकि पश्चिम बंगालमा वामपन्थीकै सरकार थियो।

‘हेबीवेट’ कम्युनिस्ट उम्मेदवार सोमनाथ चटर्जीलाई सन् १९८४ को लोकसभा चुनाव हराइदिएपछि चाहिँ २९ वर्षीया ममता राष्ट्रिय परिदृश्यमै सुनिइन्। सांसद भए पनि उनको लडाकु स्वभावमा न कुनै परिवर्तन आयो, न भुईं तह नै छाडिन्। कुनै हत्या, बलात्कारको घटना भए पुगिहाल्थिन्। महँगी, कालोबजारीको विरोधमा सडक प्रदर्शन गरि नै रहिन्। 

लोकप्रियता चुलिँदै गएपछि बंगालका कांग्रेसी नेताहरू असुरक्षित महसुस गर्न थाल्छन्, अनि उनको खुट्टा तान्न शुरू हुन्छ। दुष्प्रचार गर्न थालिन्छ। तर उनीसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष राजीव गान्धी नै प्रभावित भएकाले कसैको केही चल्दैन। राजीवले उल्टै उनलाई युथ कांग्रेसको महासचिवको जिम्मेवारी दिन्छन्। 

युथ कांग्रेसको अध्यक्ष बनाउन खोज्दाचाहिँ इर्ष्यालु नेताहरूको चर्को विरोधले राजीवलाई पनि रोक्छ। सन् १९८९ मा कांग्रेसीहरू नै ममतालाई हराउन लागि पर्छन् र चुनाव हार्छिन् पनि। चुनाव हारेपछि अब दिल्ली बसिरहन परेन, पूरै समय पश्चिम बंगालमै हुन्छिन्। सडक प्रदर्शन गरिरहन्छिन्। सन् १९९० मा त उनीउपर र्‍यालीमै सांघातिक आक्रमण हुन्छ। टाउकोमा फलामे डण्डीको दुई मार परेपछि ढलेकी उनी लामो समय मृत्युसँग संघर्ष गर्छिन्।

पश्चिम बंगालका ठूला कांग्रेस नेताहरू कम्युनिस्ट सत्तासँग भित्रभित्रै साँठगाँठ गरी आफ्नो राजनीति चलाउने शैली अख्तियार गरिरहेका थिए। उनीहरू कांग्रेसलाई कम्युनिस्ट सरकारका लागि ‘कम्फर्टेबल’ प्रतिपक्षमै राखिरहन चाहन्थे। ममताचाहिँ  भिडेर गद्दीबाट हटाउन चाहन्थिन्।

सन् १९९१ मा राजीवको हत्या भएसँगै उनी पार्टीमा ‘अनाथ’ भइन्। उनको लोकप्रियताबाट असुरक्षित मण्डलीले पन्छाउन हरसम्भव जोड लगाइरहँदा संरक्षण गर्दिने नेता रहेनन्। त्यसैले त ‘राजीवको हत्या हुँदा बुवाको मृत्युपछि दोस्रोचोटि अनाथ भएँ’ भनेकी छन्।

नेता साथमा नभए पनि जनता साथमा रहेकी उनी सन् १९९१ को लोकसभा चुनाव जितेपछि पिभी नरसिंह रावको मन्त्रिपरिषद्‍मा राज्यमन्त्री त बनिन्, पश्चिम बंगाल कांग्रेस समितिसँग उनको झगडा चर्कंदै गयो। सन् १९९६ को लोकसभा चुनावका लागि कांग्रेसबाट टिकट पाउनेहरूको नामबाट आक्रोशित उनले चुनावै लड्दिन भनिन्, उनी निकटका आकांक्षीहरूलाई ‘टार्गेट’ गरेरै टिकटबाट वञ्चित गरिएको थियो। अखिरमा मैदानमा उत्रिइन् र जितिन् पनि। 

दोस्रोचोटि सन् १९९७ मा पनि प्रदेश कांग्रेसको अध्यक्षमा पराजित भएपछि चाहिँ उनी अब पार्टी नै छाड्ने मनस्थितिमा पुग्छिन्। तृणमूल मञ्चको नाममा समानान्तर गतिविधि शुरू गरेपछि बंगाल कांग्रेससँग सम्बन्ध झनै तिक्त हुँदै जान्छ। कलिलै उमेरमा पार्टीमा लागेकाहरूलाई पहिलोचोटि पार्टी छाड्ने निर्णय यसै पनि सजिलो हुँदैन। उनले सोनिया गान्धीलाई पार्टीको नेतृत्व सम्हाल्न घच्घच्याइ रहिन्, सोनियाले आफू विदेशी मूलको व्यक्ति भारतमा स्वीकार्य नहुने भन्दै अनिच्छा व्यक्त गरिरहिन्। 

१९९७ डिसेम्बर १७ को दिन आगामी लोकसभा चुनावका लागि पार्टी दर्ताको आखिरी दिन थियो, उनले खुसुक्क तृणमूल कांग्रेसको नामबाट पार्टी दर्ताको निवेदन दिइन्। १९९८ जनवरी १ मा दल दर्ताको प्रमाणपत्र लिएपछि कांग्रेसले उनलाई निष्कासन गर्‍यो। सात सांसदसहित लोकसभामा पुगेकी ममता सन् १९९८ मा अटलविहारी वाजपेयी नेतृत्वको सरकारमा भारतमा निकै महत्त्वपूर्ण मानिने रेलमन्त्री बनिन्।

पेट्रोलको भाउ बढ्दा मन्त्रिमण्डबाट बाहिरिने धम्की दिने ममताले पटक–पटक राजीनामा पनि गरिन्। ‘पपुलिस्ट’ भनेर काफी आलोचना भयो। कांग्रेससँग गठबन्धन गरी राज्य विधानसभाको चुनाव सन् २००१ मा फेरि पनि वामगठबन्धनले नै बाजी मार्‍यो। सन् २००४ मा भाजपासँग मिलेर लडेको लोकसभा चुनावमा त उनीबाहेक तृणमूलका कसैले चुनाव जितेनन्। सन् २००६ को राज्य विधानसभा चुनावमा कम्युनिस्ट गठबन्धनले जित्दा २९४ सदस्यीय विधानसभामा तृणमूलले मात्रै ३० सिट जित्यो।

तीन दशकभन्दा बढी समयदेखि शासन गरिरहेको वामपन्थी सरकारले राज्यभित्र लगानी भित्र्याउन नसकी रोजगारी सिर्जना गर्न नसकेको आदि आलोचना खेपिरहेको थियो। ज्योति बसुको अवसानपछि पश्चिम बंगालका मुख्यमन्त्री बनेका बुद्धदेव भट्टाचार्य लगानी आकर्षित गर्न बल गरिरहेका थिए। उनकै जोडबलमा टाटा समूहले उसको बहुचर्चित ‘नानो’ कारको प्लान्ट पश्चिम बंगालमै स्थापना गर्ने भयो।

जग्गा अधिग्रहणमा किसानहरूको आक्रोश थाहा पाएपछि ममताले किसानहरूको आन्दोलनको नेतृत्व लिइन्। ममताको हस्तक्षेपपछि सिंगुरका किसानहरूको आन्दोलन राज्यव्यापी बन्न पुग्यो। पुलिसले गोली चलाउनुपर्ने अवस्थाहरू बने। आमरण अनशनमा बसेकी ममताले राष्ट्रपति र प्रधानमन्त्रीको अनुरोधमा २६ दिनमा अनशन तोडेकी थिइन्। ममता नेतृत्वकै आन्दोलनको कारण टाटा समूहले सन् २००८ सिंगुर प्रोजेक्ट बन्द गर्‍यो। गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले टाटालाई गुजरातमा स्वागत गरे।

सन् २०११ को विधानसभा चुनावमा ममताको पक्षमा जबर्जस्त माहोल देखियो। पपुलिस्ट र ‘स्ट्रिट फाइटर’ भनेर उनलाई व्यंग्य कस्ने ‘भद्रलोक’ समेत उनको पक्षमा लागेपछि ‘लालकिल्ला’ भत्कियो। सिंगुरमा विफल भएको टाटालाई गुजरातमा रातो कार्पेट ओछ्याउने मोदीको देशैभरि लगानीमैत्री मुख्यमन्त्रीको रूपमा वाहवाही भयो। जग्गा अधिग्रहणमा किसानको चित्त बुझाउन चासो नदेखाउँदा बुद्धदेव भट्टाचार्य मात्रै होइन, वामपन्थीहरूकै पश्चिम बंगालबाट सफाया भयो। (युट्युब च्यानल खबरगाँव)

सन् २०२१ को विधानसभा चुनाव जितेर ह्याट्रिक गरेकी ममताको लडाकु छवि उस्तै छ। भक्खरै उनलाई चुनावी रणनीतिमा सघाइरहेको ‘आइप्याक’को अफिसमा केन्द्र सरकार अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)ले छापा मारेको सुनेपछि उनी आफै पुगेर कतिपय ग्याजेटहरू आफैले बोकेर हिँडिन्। यसै वर्ष हुने विधानसभा चुनावमा पार्टीको उम्मेदवारदेखि रणनीतिबारे भएको गृहकार्य थाहा पाउन ईडीले छापा मारेको आरोप लगाएकी छन्।

ममताको राजनीतिक जीवनका कतिपय कुरा गगन थापासँग मिल्दाजुल्दा छन्। निम्न मध्यमवर्गीय र जागिरे परिवारमा जन्मे/हुर्केका उनी राजनीतिक विरासत र ‘गडफादर’बेगर नै चम्किएका नेता हुन्। इमर्जेन्सीपछि प्रतिपक्षमा पुग्दा इन्दिरा गान्धीलाई कारबाही गर्न खोज्ने सरकारविरुद्ध प्रदर्शनहरूमा सहभागी भई ममता ‘नोटिस’ मा परेकी थिइन्। राजाले सत्ता हातमा लिएपछि भएको आन्दोलनमा गगन चम्किए। ममताजस्तै सडकबाटै उदाए। भलै ममताले झैँ अनगिन्ती भौतिक आक्रमण सहनुपरेन, राजाको सरकारले गगनविरुद्ध देशद्रोहको मुद्दा लगाएकै हो। 

समानुपातिकमार्फत पहिलो संविधानसभाकै सदस्य अनि १२औँ महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य भए पनि ममताले झैँ असुरक्षित महसुस गरी उनको भूमिका खुम्च्याउनेदेखि पन्छाउनेसम्मका प्रयत्न नेताहरूबाटै नभएका होइनन्। सडकमा गणतन्त्रको नारा लगाएपछि जनआन्दोलनकै क्रममा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई राजावादी करार गरेकै हुन्।

नेविसंघको अध्यक्ष बन्नबाट रोक्न नसकिने देखेपछि महाधिवेशन नै भाँड्ने हर्कत पार्टी संस्थापनकै निर्देशनमा भएको थियो। पार्टीको सर्वाधिक लोकप्रिय नेतालाई अघि सारेर भोट बढाउने होइन कि, कसरी तेजोबध गर्ने भन्ने नै पार्टी संस्थापनको रह्यो– संस्थापनमा कोइरालापक्ष हुँदा होस् वा कोइरालाइतरको अहिलेको संस्थापन। 

लोकप्रिय हुनुका साथै लडाकु, संघर्षशील भए पनि पार्टीको संरचनामा विरोधीहरूको हालिमुहालीका कारण ममताको प्रदेश कांग्रेसको नेतृत्व गर्ने दुवै प्रयत्न विफल भएजस्तै गगनको पनि १३औँ महाधिवेशनमा महामन्त्री उम्मेदवार हुँदा त्यही हविगत भयो। केन्द्रीय समितिमा पार्टी संस्थापनको बहुमतका कारण उनले न समयमै महाधिवेशन गराउन सके, न विधान बमोजिमको विशेष अधिवेशन नै। अबको महाधिवेशनबाट सभापतिमा निर्वाचित भयो भने त असान्दर्भिक भइएला भनेर गगन पार्टीबाटै पन्छिए हाइसञ्चो हुन्थ्यो भन्ठान्नेहरूको कमी थिएन।

कांग्रेसको विवाद अब कानूनी लडाइँको चरणमा प्रवेश गर्नेछ। विशेष महाधिवेशनले नै वैधानिकता पायो भने त उनको नेतृत्व कायम हुन्छ, उनको दिग्विजय नै भइहाल्यो। आधिकारिकता पाएन भने पनि उनले ममताजस्तो संघर्ष गर्न नपर्ने हुनसक्छ। 

चुनावको तालिकाअनुसार आधिकारिकता नपाउने समूहले चुनावमा भाग लिन नपाउने भए पनि त्यो समूहलाई भाग लिने अवस्था नबनाई चुनावमा जान सजिलो छैन। एक त देशकै ठूलो पार्टीबाट फुटेको समूहलाई चुनावमा भाग लिन नदिने अवस्था विवेकसम्मत हुँदैन। त्यही समूह चुनाव भाँड्न सक्रिय भइदिनासाथ सुरक्षा थ्रेट बढिहाल्छ।

आधिकारिता नपाए पनि चुनावमा जाँदा गगन नेतृत्वको पार्टीले कस्तो नतिजा निकाल्छ अहिले भन्न नसकिए पनि कांग्रेसलाई अहिलेसम्मकै कमजोर पार्टी बनाइदिने अनुमान गर्न सकिन्छ। ममताले छाडेपछि पश्चिम बंगालमा कांग्रेसको हालत खराब छ। सन् २०२१ को विधानसभा चुनावमा कांग्रेसले शानदार शून्य सिटमा चित्त बुझाउन परेको थियो भने, २०२४ को लोकसभा चुनावमा एक सिट। यहाँ के हुन्छ हेर्दै जाऊँ।