नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब २१ करोडको कारोबार

बुधबार नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिनझैँ बुधबार पनि बजारमा झिनो सुधार देखिएको हो।

बुधबार नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा कायम भएको छ। यस दिन फ्लोट इन्डेक्स स्थिर रहे पनि सेन्सेटिभ इन्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले ओरालो लागेका छन्।

परिसूचक बढे पनि कारोबार रकममा भने मंगलबारको तुलनामा केही गिरावट आएको छ। मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३२० कम्पनीको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले बढेको छ। यस्तै, थ्रिस्टार हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी र एनएमबी माइक्रोफाइनान्सको करिब ७.५ प्रतिशतले वृद्धि भएको छ। बजार बढे पनि मूल्य घट्ने कम्पनीहरूको गिरावट दर ३.५ प्रतिशतभन्दा कमै रहेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। यसको २६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भयो। यस्तै, युनियन हाइड्रोपावरको २३ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कुल १३ उपसमूहमध्ये आज आठ वटाको परिसूचक बढेको छ भने पाँच वटाको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशतले बढेको छ। बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह भने आज सामान्य ओरालो लागेका छन्।