सुनचाँदीको मूल्य आज पनि बढ्यो

चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि हुँदै बुधबार सुन प्रतितोला दुई लाख ७८ हजारमा कारोबार भइरहेको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ रुपैयाँ कायम भएको छ। 

मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला चार हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो पाँच हजार १९५ मा किनबेच भएको थियो।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।