विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका र भारत जाने

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी२० पुरुष विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका र भारत जाने भएको छ।

काठमाडौँ– भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी२० पुरुष विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका र भारत जाने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार स्वदेशमा दुई चरणको तयारी क्याम्प सकेलगत्तै टोली वैदेशिक अभ्यासका लागि प्रस्थान गर्नेछ।

नेपाली टोलीले श्रीलंकामा त्यहाँको ‘ए’ टोलीसँग र भारतमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग अभ्यास खेल खेल्ने तालिका छ। हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको टोली अर्को साता श्रीलंका प्रस्थान गर्नेछ। त्यहाँ एक साताको अभ्यासपछि टोली अन्तिम तयारीका लागि मुम्बई जाने क्यानले जनाएको छ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।