चार घण्टादेखि बसेको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

जसरी पनि सहमति जुटाउन आजै फेरि अर्को वार्ता गर्ने तयारी भइरहेको कांग्रेस नेता प्रदीप पाैडेलले बताए।

काठमाडाैँ– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच भएको दोस्रो पटकको वार्ता पनि निष्कर्षविहीन बनेको छ।

पार्टीभित्रको विवाद मिलाउन तथा दुई पक्षबीच सहमति जुटाउने विषयमा चार घण्टासम्म चलेको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको कांग्रेस नेता प्रदीप पाैडेलले बताए। जसरी पनि सहमति जुटाउन आजै फेरि अर्को वार्ता गर्ने तयारी भइरहेको उनले बताए। यसअघि आजै दिउँसो सम्पन्न पहिलो चरणको वार्ता पनि निष्कर्षविहीन बनेको थियो।

वार्तामा सहभागी अर्का नेताले देउवाको राजीनामा र अन्तरिम समयको नेतृत्व कसले लिने भन्ने विषयमा सहमति नजुटेको जानकारी दिए।

विशेष महाधिवेशन पक्षधरले संस्थापन तथा शेरबहादुर देउवापक्षसँग वार्ताका लागि चार सदस्यीय समिति गठन गरेको छ। जसमा प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य छन् भने देउवाबाट रमेश लेखर र बालकृष्ण खाण सहभागी छन्।

संस्थापन/देउवा पक्षका नेताहरूले विधानविपरीत विशेष महाधिवेशन आयोजना गरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। 

अर्कोतर्फ, विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले भने कुनै पनि बहानामा निर्वाचन प्रक्रिया नरोक्न र छिटो मतदान शुरू गर्न दबाब दिएका छन्। विशेष महाधिवेशन प्रतिनिधिले पार्टीको सभापति फेर्नुपर्ने अडान राखेका छन्।