सेजन सदस्यलाई ७ लाखको बीमा सुविधा

सेजनले आफ्ना सदस्यहरूका लागि ७ लाख रुपैयाँसम्मको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराएको छ।

काठमाडौँ– नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराएको छ। सेजनले प्रत्येक सदस्यलाई एक लाख बराबरको स्वास्थ्य बीमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो।

मंलबार आयोजित एक कार्यक्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्सकी सीईओ अञ्जु श्रेष्ठले सेजन अध्यक्ष भागवत भट्टराईलाई बीमा पोलिसी हस्तान्तरण गराइन्। सेजनले आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षाका लागि संस्थागत कोषबाटै कुल १५ करोड ९६ लाख रुपैयाँ बराबरको जोखिम वहन गराएको हो।

स्वास्थ्य बीमा योजनाअन्तर्गत सेजनका सदस्यले अस्पताल भर्ना हुनासाथ बीमा सुविधा पाउनेछन्। बीमाले सामान्य शल्यक्रिया (माइनर सर्जरी) का लागि १५ हजार रुपैयाँ, आकस्मिक शल्यक्रियाका लागि ३० हजार रुपैयाँ र ठूला शल्यक्रियाका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्नेछ।

साथै, अस्पतालमा भर्ना भएपछि लाग्ने शय्या शुल्क (बेड चार्ज), चिकित्सक शुल्क तथा औषधि उपचारसम्बन्धी खर्चसमेत बीमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए।

सामूहिक दुर्घटना बीमाअन्तर्गत सेजनका सदस्यले दुर्घटनाको प्रत्यक्ष कारणबाट शारीरिक क्षति भएमा अधिकतम सात लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन्। दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चका रूपमा पनि सात लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ।

अध्यक्ष भट्टराईका अनुसार यो बीमा पोलिसी कार्यान्वयनमा आइसकेको छ। अबको एक वर्षसम्म संस्थामा आबद्ध सम्पूर्ण सदस्यले यसबाट लाभ लिन सक्नेछन्।