नेप्से परिसूचकमा सामान्य सुधार, करिब ७ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा कायम भएको छ भने ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को बिन्दुमा कायम भएको हो।

नेप्सेका अनुसार यस दिन ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा बैंकिङ ०.१४, वित्त ०.२९, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.१७, उत्पादन तथा प्रशोधन ०.२३ र लघुवित्त उपसूचक ०.२० प्रतिशतले घटेका छन्।

यीबाहेक अन्य सबै समूहका उपसूचक भने बढेका छन्। जलविद्युत् १.०२, लगानी ०.०४, म्युचुअल फण्ड ०.४२, निर्जीवन बीमा ०.०७, व्यापार ०.९८ र अन्य समूह ०.७८ प्रतिशतले बढेका हुन्।

आज थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावरको शेयर मूल्य भने सबैभन्दा धेरै ६.०९ प्रतिशतले घटेको छ।