देउवाले पार्टी जिम्मेवारी छाडनुपर्ने र निर्वाचनमा सहभागी हुन नपाउने विशेषको माग

देउवा निकट एक केन्द्रीय सदस्य भने विशेष पक्षधरले अगाडि सारेको सर्तले सहमति नहुने बताउँछन्।

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ।

मंगलबार राति ९ बजेदेखि मतदानको समय निर्धारण गरिएको छ। यता विशेषले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा संस्थापन पक्ष अहिले देउवा निवासमा छलफलमा व्यस्त छन्। बिहान दुवै पक्षको वार्ताका क्रममा उठेका कुरामा पनि छलफल चलिरहेको छ।

विशेष महाधिवेशन पक्षले भने कुनै पनि भागबन्डा र माग आफूहरूको नभएको बताएको छ। मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले आफूहरूको तर्फबाट वार्तामा सहभागी नेतालाई  सभापति शेरबहादुर देउवाले पार्टीको जिम्मेवारी छोडनुपर्ने र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने अजेन्डा सहित वार्तामा पठाइएको बताए।

यस्तै, संस्थापन पक्षले विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने पनि अजेन्डा रहेको बताए। "हाम्रो प्रष्ट अजेन्डा वार्तामा जाने साथीहरूलाई भनेर पठाइएको छ। त्यो भन्दा दायाँबायाँ गएर कुनै सहमति हुँदैन," पोखरेलले भने।

संस्थापनसँग भएको छलफल बन्द सत्रको हलमा प्रस्तुत गरेर त्यसलाई हलले अनुमोदन गरे मात्रै सहमति हुने नत्र निर्वाचन प्रक्रियाबाट नेतृत्व फेरिने उनको भनाई छ। सोमबार राति चार सदस्यीय वार्ता समिति गठन भएको थियो।

विशेष पक्षबाट प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य छन् भने देउवाबाट रमेश लेखर र बालकृष्ण खाण सहभागी थिए।

देउवा निकट एक केन्द्रीय सदस्य भने विशेष पक्षधरले अगाडि सारेको सर्तले सहमति नहुने बताउँछन्। "मध्यमार्गी कुनै प्रस्ताव आउने हो भने सहमति होला। तर सभापति जिम्मेवारीबाट हट्ने र चुनाव नै लड्न नपाउने भन्ने कुरो सहमतिको विषय नै हुँदैन," उनले भने, "सभापति छलफलमा हुनुहुन्छ। आवश्यक निर्णय अगाडि बढ्ला।"

भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले भने प्रतिनिधिको भावना विरुद्ध गएर महामन्त्रीले कुनै सहमति गर्न नसक्ने भन्दै निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन तर्फ अगाडि बढाउनुपर्ने भन्दै दबाब दिइरहेका छन्। सहमतिकै वातावरण भन्दै आजका लागि संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठक पनि अहिलेसम्म बस्ने तय हुन सकेको छैन।

बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजे सारिएको थियो। उक्त बैठक बस्ने अझै टुंगो छैन। विशेष महाधिवेशनमा सहभागी नेताहरूले भने सहमति नभए केन्द्रीय समितिमा नजाने बताइसकेका छन्।