विशेष र देउवा पक्षबीच पहिलो चरणको वार्ता निष्कर्षविहीन

विशेष पक्षीय वार्तामा सहभागी एक नेताले पहिलो चरणको वार्ता सकिएको र फेरि आ-आफ्नो समूहमा छलफल गरेर वार्तामा बस्ने जानकारी दिए।

काठमाडौँ– विशेष महाधिवेशन पक्षधर र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ।

वार्तामा दुवै पक्षले आ–आफ्नो धारणा राखे पनि निष्कर्षमा पुग्न नसकेको हो। विशेष पक्षीय वार्तामा सहभागी एक नेताले पहिलो चरणको वार्ता सकिएको र फेरि आ-आफ्नो समूहमा छलफल गरेर वार्तामा बस्ने जानकारी दिए।

"हामीले आफ्नो कुरा राख्यौँ उहाँहरूको पनि आफ्नो कुरा रह्यो," उनले भने, "निष्कर्ष केही आएको छैन। हामी फेरि वार्तामा बस्छौँ।"

वार्तामा विशेष महाधिवेशन पक्षले पेस गरेको मागमा देउवा पक्षले समर्थन नगरेको ती नेताले बताए। दुवै पक्ष पार्टीलाई विभाजन हुन नदिने गरेर वार्ता भइरहेको पनि उनको भनाइ छ।

"महामन्त्रीद्वयसँग हामी बस्छौँ। उहाँहरूले पनि सभापतिसित कुराकानी गर्नुहुन्छ," उनले भने। अधिकतम सहमति गर्ने प्रयास अनुरूप दुवै पक्षले छलफल गरेर फेरि बस्ने तयारी भएको हो।

दिउँसो बोलाइएको केन्द्रीय समिति बैठक अगाडि वा पछाडि बस्ने गरेर फेरि छलफल हुन लागेको हो। 

यो पनि: विशेष महाधिवेशन पक्ष र देउवाबीच वार्ता: सहमति नभए नेतृत्व चयन गर्ने‍