विशेष महाधिवेशन बन्दसत्र शुरू हुँदै, विधान संशोधनको तयारी

बन्दसत्र शुरू हुनुअघि पनि प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराउने क्रम जारी छ। हिजो नगरेका र आज आएका प्रतिनिधिले नाम दर्ता गराइ रहेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसको आइतबारदेखि शुरू भएको दोस्रो विधान महाधिवेशनको बन्दसत्र शुरू हुँदैछ। बिहान ११ बजेदेखि बन्दसत्र शुरू हुन भने पनि केही समय लाग्ने देखिएको छ।

बन्दसत्र शुरू हुनुअघि पनि प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराउने क्रम जारी छ। हिजो नगरेका र आज आएका प्रतिनिधिले नाम दर्ता गराइ रहेका छन्।

बन्दसत्रमा महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्दैछन्। महामन्त्री शर्माले पेश गर्ने प्रतिवेदनमा विधान संशोधनको पनि प्रस्ताव पेस हुँदैछ। "उहाँले पेस गर्ने प्रस्तावमा विधानमा रहेका केहि व्यवस्था हेरफेर गर्न लागिएको छ," उनी निकट एक नेताले भने,"दुई सहमहामन्त्री थप्ने विषय पनि त्यसमा समेटिन लागिएको छ।"

ती दुई सहमहामन्त्री ४० वर्षमुनिका युवाका लागि र पेसागत क्षेत्रबाट अर्को एक रहने उल्लेख छ। प्रदेश कार्यसमितिमा पनि समानुपातिक आधारमा सहमहामन्त्री थप हुनेछ।

त्यस्तै प्रत्येक तहको अधिवेशन ३ देखि ६ महिनाको फरकमा गर्ने र भातृसंस्थाको पुनः परिभाषा गरी तिनलाई स्वायत्त बनाउने विषय पनि राख्न लागिएको हो।

विशेष महाधिवेशनबाट संशोधन हुन लागेको विधानमा महिलाको सहभागितालाई हरेक संरचनामा संख्या बढाउने तयारी छ। केन्द्रीय कार्यसमिति विस्तार गरेर ७७ जिल्लाअनुसार ७७ जना, २६५ प्रत्यक्ष निर्वाचित र ३६ समावेशी तथा समानुपातिक व्यवस्थाअनुसार सभापतिबाट मनोनित गरी कूल ३०१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने विधान प्रस्ताव गरिएको छ।

महाधिवेशनपछिको शक्तिशाली निकाय महासमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका दुई जना युवा प्रतिनिधि (एक महिला, एक पुरुष) र पेसागत क्षेत्र (डाक्टर, इन्जिनियर, वकिल, नर्सलगायत)बाट एक जना प्रतिनिधि रहने व्यवस्था सहित विधानमा व्यवस्था गर्न लागिएको छ।

बन्दसत्रमा ९ वटा समूह बनाएर निति र नेतृत्वका विषयमा छलफल हुने नेता मनोजमणि आचार्यले जानकारी दिए। आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशन शुरू भएको हो। तोकिएको मितिमा नियमित महाधिवेशन आयोजना नभएपछि विशेष महाधिवेशन आयोजना भएको हो। ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए। तर विशेष महाधिवेशनका क्रममा बहुमत प्रतिनिधि सहभागी भएका छन्।