राफिन्हाको निर्णायक गोलमा बार्सिलोनाले जित्यो उपाधि

स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको छ।

काठमाडाैँ– स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दाहस्थित किंग अब्दुल्लाह स्पोर्ट सिटीको अलिन्मा बैंक स्टेडियममा खेलिएको खेलमा राफिन्हाले निर्णायक गोल गरे।

खेलको पहिलो हाफमा दुवै टिमले २/२ गोलको बराबरी खेलेका थिए। बार्सिलोनाका लागि राफेस डायस बेलोली 'राफिन्हा'ले ३६औँ मिनेटमा फर्मिन लोपेजको एसिस्टमा पहिलो गोल गरे। त्यसपछि रियल मड्रिडका भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समय (स्टपेज टाइम)को दोस्रो मिनेटमा बराबरी गोल फर्काए। स्टपेज टाइमकै चाैथो मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै अग्रता बनाए पनि त्यसको लगत्तै फेरि रियल मड्रिडका गोन्जालो गार्सियाले गोल गर्दै खेललाई २/२को बराबरीमा ल्याए।

दोस्रो हाफमा बार्सिलोनाले दबाब कायम राख्यो र राफिन्हाले ७३औँ मिनेटमा निर्णायक गोल गर्दै ३–२ को अग्रता दिलाए। यो गोल नै जितका लागि निर्णायक बन्न पुग्यो। त्यसपछि बार्सिलोनाले खेल नियन्त्रणमा राख्यो। खेलको अन्तिमतिर फ्रेन्की डे जोङलाई रियल मड्रिडका किलियन एम्बाप्पेमाथि फाउल गरेको भन्दै रातो कार्ड देखाइयो।

यसले बार्सिलोनालाई १० खेलाडीमा सीमित बनायो, तर उनीहरूले अन्तिम मिनेटहरूमा रक्षात्मक रूपमा खेल्दै जित हासिल गरे।

यो बार्सिलोनाको लागि लगातार दोस्रो सुपर कप उपाधि हो, जसले २०११ पछि पहिलो पटक रियल मड्रिड विरुद्धको फाइनलमा लगातार दुई पटक जितेको छ। बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा टिमको लागि यो सिजनको पहिलो ट्रफी हो, जसले ला लिगामा पनि चार अंकको अग्रता बनाएको छ।