पानीदेखि प्राणी प्रणाली बुझाउने हिटी कला प्रदर्शनी

हिटी प्रणाली कला प्रदर्शनीले कथा, किंवदन्ती र विज्ञान–प्रविधि हुँदै कलाकारका क्यानभासमार्फत हिटीको महत्त्व, सामाजिक जीवन र यसको वर्तमान अवस्थाका विविध पाटोलाई उजागर गरेको छ।

तस्वीर : प्रबिता/उकालो

काठमाडौँ– चारपाँच तले अग्ला भवनअगाडि एउटा कुनामा हिटी (ढुंगेधारा) छ। धारामा तीनचार वटा पानी थाप्ने जार, बाल्टिन र ड्रम लस्करै राखिएका छन्। हिटीकै छेउमा एउटा कालो ट्यांकी छ। हिटीअगाडिको कालोपत्रे सडकमा पानी बोक्ने ट्यांकर बस्तीतर्फ हाँकिएझैँ देखिन्छ। वसन्तपुरस्थित भीमसेनस्थान मन्दिरको फेदमा रहेको यही ‘हिटी’को वर्तमान यथार्थलाई कलाकार पूजा महर्जनले आफ्नो क्यानभासमा दुरुस्तै उतारेकी छिन्।

पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा शुक्रबारदेखि शुरू भएको ‘हिटी प्रणाली’सम्बन्धी कला प्रदर्शनीकी एक सहभागी कलाकार हुन् उनी। उपत्यकाका पुराना हिटीमा पानी आउन छाडेसँगै ट्यांकरमा भर पर्नुपरेको वर्तमान यथार्थलाई व्यक्त गरेको उनले बताइन्।

null

प्रदर्शनीका अर्का सहभागी कलाकार हुन्— इशान परियार। उनले बंगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा रहेको हिटीलाई क्यानभासमा उतारेका छन्। पोखराका इशान पहिलो पटक काठमाडौँ आउँदा यहाँको कला-कौशल देखेर लालायित भएको बताउँछन्।

“पोखरामा पनि ढुंगेधारा थिए तर यहाँका हिटी र वास्तुकला यति कलात्मक छन् कि यिनको निर्माण कसरी भयो होला भन्ने कौतूहल लाग्छ,” कलाकार परियार भन्छन्, “यस प्रदर्शनीका लागि छनोट भएपछि हिटी प्रणालीका बारेमा अझ धेरै कुरा बुझ्ने मौका पाएँ।”

null

उनका अनुसार, प्रदर्शनीअघि ‘हिटी प्रणाली’ पुस्तकका लेखक पद्मसुन्दर जोशीबाट स्थलगत भ्रमण र कार्यपत्रमार्फत हिटीका प्राविधिक पक्षदेखि प्रचलित किंवदन्तीहरूबारे जानकारी मिलेको थियो। कुम्भेश्वरको हिटीमा गोसाइँकुण्डको पानी आउने जनश्रुतिले उनलाई विशेष प्रेरणा दिएको छ। उनले आफ्नो सिर्जनामा कुम्भेश्वर मन्दिरअगाडि ठूलो कुम्भ (घैँटो) राखेका छन्, जहाँबाट हिटीमा पानी झरेको देखिन्छ।

“कुनै विषयको सिर्जना गर्दा कलाकारले कि त यथार्थपरक वा वैचारिक शैली अपनाउँछ। मैले दोस्रो शैली रोजेको छु,” परियार भन्छन्, “जोशी सरले भन्नुभए झैँ हिटी पानी मात्र नभई प्राणी प्रणालीसँग पनि सम्बन्धित छ। मेरो अर्को क्यानभासमा पानी थाप्ने मानिससँगै सर्प र भ्यागुतालाई पनि समेटेको छु, जो हिटी प्रणालीका अभिन्न अंग हुन्।”

null

विज्ञान-प्रविधि रुखो हुन्छ, कलाले मिठास भर्छ: पीएस जोशी
शहरी विकास विशेषज्ञ तथा लेखक पद्मसुन्दर जोशी विज्ञान र प्रविधिलाई अलि रुखो विषय मान्छन्। “मेरा लागि हिटी प्रणाली जति प्राविधिक थियो, कलाकारहरूले विभिन्न दृष्टिकोणबाट क्यानभासमा उतारेको देख्दा निकै आनन्द लाग्यो,” जोशी भन्छन्, “हिटीसँग जोडिएका प्राणीदेखि ट्यांकरसम्मको तीतो यथार्थलाई कलाकारहरूले कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ।”

प्रदर्शनीले हिटीको ऐतिहासिक महत्त्वलाई जीवन्त राख्ने काम गरेको उनले बताए। एउटा चित्रमा ढुंगेधाराको धारोमा गाइनेकिरा (झ्यालिन्चा) झुम्मिएको देख्दा उनी दंग छन्।

null

“पानी पर्न रोकिँदा गाइनेकिराहरू पानीको मसिनो धारमा खेल्दा रहेछन्, मैले कहिल्यै नियालेको थिइनँ। त्यो दृश्य निकै सुन्दर लाग्यो,” उनले भने। निर्जीव लाग्ने वस्तुमा जीवन्तता दिने काम कला र कलाकारले नै गर्ने उनको बुझाइ छ।

ई–आर्टुस नेपाल र रोट्र्याक्ट क्लब अफ यलले आयोजना गरेको यस तीनदिने प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार किरण मानन्धरले गरेका थिए। प्रदर्शनीमा विदिता केसी, आशा डंगोल, इरिना ताम्राकार, विनोद प्रधान, कृपा तुलाधर, प्रलिस्था महर्जन लगायतका कलाकारका कृतिहरू राखिएका छन्। प्रदर्शनी पुस २७ गते आइतबार साँझ ४ बजेसम्म पाटन संग्रहालयमा चल्नेछ।