देशको आर्थिक स्थिति : चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो

समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको छ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वनजिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ। अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व संकलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ।

प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ। त्यस्तै, यो अवधिसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यस्तो, सञ्चितिले १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको छ।

पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.६ प्रतिशतले र अमेरिकी डलरमा २९ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको मंसिर महिनासम्मको कुल विप्रेषण आप्रवाह आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने मंसिर महिनामा मात्र एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ विप्रेषण  भित्रिएको छ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ।

यो अवधिमा नेपाल सरकारको खर्च पाँच खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ र राजस्व परिचालन चार खर्ब ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ। विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको हो।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैंक दर २.७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत रहेको छ।