कुलमान घिसिङले दिए मन्त्रीपदबाट राजीनामा

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले बुधबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

काठमाडाैँ– चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले बुधबार साँझ राजीनामा दिएका छन्।

प्रधानमन्त्री सशीला कार्कीसमक्ष उनले केहीअघि राजीनामा पत्र बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारमा उनले उर्जा, जलस्रोत तथा सिचाइँ, भाैतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

उनले जेनजी आन्दोलनपछि गठित नागरिक/चुनावी सरकारमा मन्त्रीका रूपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री कार्कीप्रति धन्यवाद व्यक्त गरेका छन्।

नागरिक सरकारको मन्त्री राजनीतिक दलमा जोडिएपछि घिसिङलाई राजीनामा दिन प्रधानमन्त्रीबाटै दबाव बढेको थियो। घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच गत पुस १४ मा एकीकरण घोषणा भएको थियो।

रास्वपाका सभापति रवि लामिछाने र काठमाडाैँ महानगरका मेयर बालेन्द्र शाहसँगै एउटा सहमतिपत्रमा हस्ताक्षर गर्दै घिसिङ रास्वपाको पहिलो वरीयताको उपसभापति बन्न तयार भएका थिए। उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सँगै जाने सहमति भएको थियो।