कतिपय राजनीतिक दलका नेताहरू निजी स्कुल र कलेजमा लगानीकर्ता छन्। आफ्नो लगानी सुरक्षित बनाउने विषय नै उनीहरूको पहिलो प्राथमिकतामा पर्छ।
कास्कीमा गुरुङ राजालाई हराएर कुलमन्दन शाह राजा बने। राज्य सञ्चालन गर्न ब्राह्मण चाहिने ठानेर शाहले ब्राह्मणहरू ल्याई कास्कीमा स्थापित गराए। ती ब्राह्मणहरू पश्चिम सिञ्जाबाट आएका हुन् भनिन्छ। कास्कीको पाँच हजार फिटभन्दा माथिको भेगमा सबै गुरुङ बस्ती थिए, अहिले पनि छन्। ‘ब्राह्मणहरू धेरै मिहिनेती भएका हुँदा उनीहरूले धेरै काम गर्छन्’ भन्ने ठानेर ल्याइएको बुझाइ थियो। तल्लो फाँट पामेदेखि कोत्रेसम्म कृषि कर्मका लागि पनि उनीहरूलाई ल्याइएको ठानिन्छ।
ती ब्राह्मणहरू पढाइमा तेज थिए। धेरैजसो ब्राह्मण पुरुषहरू पढ्न भारतको बनारस जान्थे। पाल्पा, गुल्मी र अर्घाखाँची भेगका ब्राह्मणहरू पनि बनारस पढ्न जान्थे। आफूले पढे पनि उनीहरूले अरू स्थानीयलाई पढाउने विषयमा खासै चासो दिएका थिएनन्। धेरै स्थानीय बासिन्दा शिक्षा र ज्ञानबाट वञ्चित हुनाको कारण पनि त्यही हो।
कास्कीमा कखरा
२ हजार सालभन्दा केही पहिलेबाट नेपालमा पाठशाला खुल्न थालेका हुन्। त्यही समयताक पसल चलाएर बसेका स्थानीय नेवारले बनारसतिर पढेर आएका ब्राह्मणलाई ‘तिमीहरूले पढेर मात्र हुँदैन, पढेको कुरा अरूलाई पनि सिकाउनुपर्छ’ भन्दै आवाज उठाउन थाले। त्यसपछि यस भेगमा सानातिना पाठशाला खुल्न थाले। त्यसपछि पोखरेलीले कखरा सिक्न पाए। उतिखेर कखरा सिक्ने पनि प्राय: सबै पुरुष हुन्थे।
विन्ध्यवासिनी क्षेत्रमा बनारसबाट संस्कृत पढेर आएकाहरूले अनौपचारिक संस्कृत पाठशाला शुरू गरे। त्यसबाट बजार क्षेत्रका केही बालबालिकाले अक्षर चिन्न र पढ्न पाए। अहिले 'पोखरेली युवा सांस्कृतिक परिवार'को कार्यालय भएकै ठाउँमा पहिले संस्कृत पाठशाला थियो। बनारसबाट संस्कृत पढेर आएकामध्ये रेग्मी र पराजुली थरका बाहुनहरू धेरै हुन्थे। ब्राह्मणहरू बिहान बेलुका पढाउँथे, दिउँसो जजमानी गर्न जान्थे।
बाटुलेचौरबाट विन्ध्यवासिनीसम्म पढ्न आउन गाह्रो हुने भएकाले त्यताका पण्डितहरूले पनि पाठशालाको आवश्यकता महसुस गरेर नयाँ पाठशाला खोले। उतिबेला एउटै शिक्षकले धेरै विषय पढाउँथे। बजारहरूमा पाठशाला थपिँदै जान थालेपछि गाउँघरबाट तिनमा थप विद्यार्थी आउन थाले। भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको समय थियो त्यो। त्यसको प्रभाव नेपालमा पनि पर्दै थियो। पढ्नुपर्छ र जागरूक बन्नुपर्छ भन्ने भावना चारैतिर बढ्दै गयो।
नारनथानमा पहिले एउटा पाटी (धर्मशाला) थियो। बाहिरबाट तीर्थ जाने यात्रीहरू त्यहाँ बास बस्थे। स्थानीयहरूले जग्गा दान दिएर त्यो धर्मशाला बनाएका थिए। पछि त्यही धर्मशालामा विद्यार्थीहरू पढाउन थालियो। नारनथानमा बस्ने पाटी थियो। त्यहाँ विद्यार्थी जम्मा पारेर पढाउन थालियो। त्यो नै पोखराको सम्भवतः पहिलो पाठशाला हो। त्यसअघि पोखरामा कुनै पनि स्कुल थिएनन्। धनीमनिका छोराछोरी काठमाडौँ पढ्न जान्थे। त्योबेला काठमाडौँका प्रख्यात स्कुलमा पर्थे जुद्धोदय र दरबार हाईस्कुल। उतिखेर यताबाट पैदलै हिँडेर काठमाडौँ पुग्नुपर्थ्यो। पृथ्वी राजमार्ग खुलिसकेको थिएन।
पाठशाला शुरू भएपछि त्यसमा कक्षा एकदेखि चारसम्म पढाइ भयो। त्यस पहिले पाठशालामा 'एक-दुई कक्षा' भन्ने नै थिएन। सम्भवतः २००९/११ तिर कास्की जिल्लामा औपचारिक शिक्षाको शुरूआत नारनथानबाटै भएको हो। २०११ सालमा नारनथानकाे स्कुल नेसनल हाईस्कुलमा रूपान्तरण भएर नदीपुरमा उक्लियो। पछि बगरमा मल्टिपर्पोज स्कुलका रूपमा लगियो। त्यही स्कुल नयाँ शिक्षा लागू भएपछि राष्ट्रिय माविका रूपमा टुँडिखेलमा स्थापित भयो
हवाईजहाजमा हालेर पोखरा पुर्याइए फर्निचर
सो स्कुल २०१४ सालमा हाईस्कुल टुँडिखेलमा सर्यो। अमेरिकन सरकारले 'राम्रा स्कुलमार्फत विभिन्न खालका सीपयुक्त शिक्षा दिनुपर्छ' भन्ने उद्देश्यले पोखरामा नेसनल हाईस्कुललाई भोकेसनल ट्रेनिङ स्कुलका रूपमा विकास गर्न भवनहरू बनाइदिएपछि स्कुल त्यहाँ सर्यो। भवनहरू त बनाइए तर बस्नका लागि फर्निचर थिएनन्। फर्निचरसमेत भैरहवाबाट हवाईजहाजमा ल्याइयो। हामी सबै विद्यार्थीहरू फर्निचर लिन विमानस्थल गयौँ। २०१४ सालमै हाईस्कुलको विद्यार्थी भएको हुनाले फर्निचर बोक्न गएको याद छ। नेसनल हाईसकुल 'भोकेसनल स्कुल'का रूपमा स्थापित भएपछि पोखरामा आधुनिक शिक्षाको शुरूआत भयो।
भाेकेसनल स्कुल स्थापित भइसकेपछि बाटुलेचौरमा 'विन्ध्यवासिनी विद्यालय' शुरू भयो। औपचारिक शिक्षा शुरू गर्ने भन्दै विन्ध्यवासिनी स्कुल पनि शुरू भयो।
कालान्तरमा यहाँका भूपू सैनिकहरू पनि छोराछोरी पढाउनुपर्छ भन्दै स्कुल खोल्ने काममा जुटे। उतिखेर भूपू सैनिकहरूले छोराछोरी खासै पढाउँदैनथे। सैनिकका छोराछोरी सैनिक नै हुने चलन थियो। अहिलेको अमरसिंह हाईस्कुलकाे स्थापनाकालीन नाम 'सोल्जर बोर्ड हाईस्कुल' थियो। भूपू सैनिकहरूको कल्याणकारी संस्थाले आर्थिक सहयोग गरेका कारण विद्यालयको नाममा 'सोल्जर' झुन्डिएको हो। अमरसिंह हाईस्कुलको भवन २०१७/१८ सालमा भवन निर्माण शुरू भएको थियो।
शिक्षाको महत्त्व बुझ्दै जाँदा अभिभावकहरू सक्रिय हुन थाले, विद्यालयमा विद्यार्थी बढ्न थाले। दिनमा व्यापार गर्ने व्यापारीहरूसमेत पढ्न चाहन्थे तर रोजीरोटी छाडेर दिउँसो स्कुल जान अप्ठ्यारो भएकाले उनीहरूका लागि रात्रि पाठशाला चलाइयो। पोखरा-१३ मा अहिले भद्रकाली स्कुल र क्याम्पस छ। त्यहीँ पहिले रात्रि पाठशाला शुरू गरियो। बगरको नेसनल हाइस्कुल टु 'मल्टिपर्पोज'मा दिउँसो हाईस्कुल र राति रात्रि पाठशाला शुरू भयो। रात्रि पाठशाला शुरू हुनुभन्दा एक दुई वर्षअगाडि हुनुपर्छ, छात्राहरूका लागि नदीपुरमा 'कन्या स्कुल' शुरू भयो। त्यसपछि तालबाराही स्कुल खोलियो। क्रमशः स्कुलको संख्या बढ्दै गयो। २०१५/१६ सालसम्म पोखराले शिक्षाको क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको थियो।
त्यो बेला जननिर्वाचित सरकार भएका कारणले पनि विद्यालयका लागि सरकारले रकम विनियोजन गर्न थालेको थियो। पर्याप्त स्रोत भएपछि विद्यालय चलाउने कुरामा मान्छेमा चासो र जागरूकता फैलियो। त्यसपछि पोखरामा धेरै स्कुल सञ्चालन भए। कुनै पनि बालबालिका स्कुल अभावले नपढी बस्नुपर्ने वा काठमाडौँ या बनारस जानुपर्ने बाध्यता हट्यो।
पोखरामै क्याम्पस र तालिम केन्द्र
स्कुल खोलिए तर यहाँको पढाइ सकेपछि एसएलसी दिन र थप अध्ययन गर्न कहाँ जाने भन्ने समस्या आइलाग्यो। पोखरामा पढेर 'प्राइभेट' जाँच दिन कोही पाल्पा त कोही काठमाडौँ गए। पोखराका कतिपय विद्यार्थीले २००८ सालमै एसएलसी पास गरिसकेका थिए। स्वअध्ययन गरेर पनि जाँच दिने बढ्न थाले। प्रजातन्त्र प्राप्तिपछि पढ्ने जागरण र हुटहुटी बढ्न थाल्यो। खर्च गर्न सक्नेहरू बाहिर जान्थे। नसक्नेहरूका लागि पोखरामा उच्चशिक्षाको आवश्यकता महसुस भयो। यहाँका व्यवसायी, पोखरा उद्योग वाणिज्य संघ, नगर पञ्चायत, सबै मिलीजुली क्याम्पस खोल्ने अभियानमा लागे।
क्याम्पसको शुरूआत कन्या स्कुलबाट भयो। त्यसपछि खरको छाप्रोबाट पृथ्वीनारायण क्याम्पस (पीएन) शुरू भयो। २०१७ साल भदौ १७ गते यसको औपचारिक शुरूआत गरिएको थियो। अहिले पीएनमा सुविधासम्पन्न भवनहरू छन्। यस क्याम्पसमा पनि रात्रि पाठशाला शुरू भयो। आर्थिक अवस्था अलि कमजोर हुनेका लागि पीएन वरदान नै बन्यो। बिस्तारै यसमा विज्ञान र वाणिज्य लगायतका विषय थपिए।
पोखरा उपत्यका र कास्कीका विभिन्न ठाउँमा स्कुल खोल्न पोखरा बसोबास गर्ने व्यक्तिहरूको ठूलो योगदान छ। बजारका व्यवसायीसँग चन्दा उठाएर धेरै विद्यालयको कोठा बने। कालान्तरमा जनस्तरमा शिक्षाबारे सहयोगी भावना विकास भयो। आर्थिक सहयोग गर्न असमर्थहरूले जग्गा दान गरे। धेरै ठाउँमा त्यसरी पनि विद्यालय बने। ६०/६५ वर्षभित्र शिक्षाको क्षेत्रमा पोखराले धेरै फड्को मार्यो। २०३० सालमा नयाँ शिक्षानीति आएपछि सबै खालका विद्या आर्जन गर्ने थलोका रूपमा पोखरालाई स्थापित गर्यौँ। अमेरिकन सरकारको सहयोगमा नेपालमा विद्यालयहरूको संख्या बढ्यो। विद्यालय संख्या बुद्धिसँगै गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई तालिम आवश्यक ठानियो।
पृथ्वीनारायण क्याम्पसको उत्तर पट्टिको भवनलाई शिक्षक तालिम केन्द्रका रूपमा विकसित गरियो। अमेरिकन सरकारले नै त्यो भवन बनाइदिएको हो। सो तालिम केन्द्र क्याम्पसभन्दा पनि पुरानो हो। यस क्षेत्रमा एउटै मात्र तालिम केन्द्र थियो त्यो। पश्चिमाञ्चल भेगका गुल्मीदेखि लमजुङसम्मका शिक्षक हुन चाहनेहरू यहीँ तालिम लिन आउँथे। एकवर्षे र दुईवर्षे तालिम सञ्चालन हुन्थे त्यहाँ।
विश्वविद्यालय हुँदै दर्जन 'मास्टर्स'
कालान्तरमा नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन आयो। पोखरामा पनि प्राइभेट क्याम्पस धमाधम खोल्न शुरू भयो। निजी र सामुदायिक क्याम्पसहरू भटाभट खुल्न थाले। त्यसपछि विश्वविद्यालयको आवश्यकता खट्कियो। २०४२ सालमा पोखरामा पनि विश्वविद्यालय खोल्नुपर्छ भनेर हामीले सरकारसँग माग गर्यौँ। उद्योग वाणिज्य संघदेखि लिएर शिक्षा क्षेत्रका साथीहरूलाई पोखरामा जम्मा पारेर सरकारसँग हामीले मागपत्र प्रस्तुत गर्यौँ।
२०५३/५४ सालमा आएर सरकारले कानुन बनाएरै पोखरा विश्वविद्यालयको स्थापना गर्यो। नयाँ शिक्षा नीति आइसकेपछि पोखरामा इन्जिनियरिङ तथा वन विज्ञान अध्ययनका लागि क्याम्पसको आवश्यकता खट्क्यो। सोही अनुसार लामाचौरमा इन्जिनियरिङ क्याम्पस र नयाँ गाउँमा वनविज्ञान क्याम्पस बन्यो। चिकित्साशास्त्र अध्ययन संस्थान रामघाटमा स्थापित भयो । त्यहाँ नर्सिङकाे पढाइ शुरू भयो। यसरी पोखराले अनेक खाल शैक्षिक संस्था र शिक्षाको शुरूआत गर्यो।
शुरूआतमा 'एक्सलेन्ट सेन्टर'का रूपमा विकास भएको पोखरा कालान्तरमा 'ग्राजुयसन' र 'मास्टर्स सेन्टर'का रूपमा अघि बढाइयो। पृथ्वीनारायण क्याम्पसमा मात्रै मास्टर्स डिग्रीका १२/१३ विषय पुगिसके। वनविज्ञान र चिकित्साशास्त्र र इन्जिनियरिङमा पनि मास्टर्स डिग्री शुरू भइसकेको छ। पोखरामा निजी क्षेत्रमा पनि मास्टर्स शुरू भएको छ। पोखरा इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा मास्टर्स डिग्री लिन सकिन्छ। शिक्षा क्षेत्रमा यति उल्लेख्य उपलब्धि हुँदाहुँदै पनि यसको प्रवर्द्धन भने गर्न भने सकिएको छैन। अन्यत्रबाट विद्यार्थीलाई पोखरामा आकर्षित गर्न सकेका छैनौँ।
हामीले बागलुङ, चितवन, बुटवल लगायतका अभिभावक र विद्यार्थीलाई 'ल है, पोखरा शिक्षाको केन्द्र भइसकेको छ' भन्न सक्नुपर्थ्यो। तर, त्यसो भन्न सकिरहेका छैनौँ, पहलकदमी बढाउन सकिएको छैन। हामी गुणात्मक शिक्षा दिन सक्छौँ भन्ने सन्देश नेपालका सबै प्रदेशमा पुर्याउन जरुरी छ। मास्टर्स डिग्री नै झन्डै १८ विषयमा दिन सक्ने ठाउँ काठमाडौँबाहेक नेपालमा अन्यत्र कहीँ छ भने त्यो पोखरा नै हो। अब हामी आफैँले पोखराको प्रवर्द्धन गर्नुपर्छ। सरोकारवालाहरू संयुक्त रूपमा जुटौँ।
शिक्षालाई यत्तिकै छोड्न हुन्न
यसो भन्दै गर्दा हाम्रा चुनौती पनि प्रशस्त छन्। कुनै पनि सरकार कस्तो खाले शिक्षानीति अंगिकार गर्ने भन्नेबारे यकिन छैनन्। धेरै कार्यदल र आयोग बनेका छन् तर कस्तो खाले शिक्षानीति ल्याउने, सर्वसुलभ बनाउने कि गुणस्तरीय भन्ने लगायतका विषयमा विरोधाभासमा छन्। कतिपय राजनीतिक दलका नेताहरू निजी स्कुल र कलेजमा लगानीकर्ता छन्। आफ्नो लगानी सुरक्षित बनाउने विषय उनीहरूको पहिलो प्राथमिकतामा पर्छ। उता, शिक्षालाई सरकारले संविधानप्रदत्त अधिकारको विषय बनाउनेबारे बहस हुने गरेका छन्। त्यसो हुँदा उनीहरूलाई अप्ठ्यारो पर्न जान्छ र दोधारमा उभिन्छन्।
तर, शिक्षालाई यत्तिकै छोड्नु हुन्न। यसमा ठूलो लगानी भएकाले लगानी खेर जान दिनु हुन्न। नेपालजस्तो गरिब मुलुकले शिक्षामा गरेको लगानीलाई प्रतिफलयुक्त बनाउन सबै लाग्नुपर्छ। शिक्षा सर्वसुलभ बनाउनै पर्छ। तर, सर्वसुलभ ठानिएको सरकारी शिक्षाको प्राय: सबैतिर गुणस्तर कमजोर छ। निजी क्षेत्रको गुणस्तर राम्रो ठानिन्छ। त्यसो हुँदा निजी शिक्षालय सञ्चालकका चासोलाई पनि सम्बोधन गर्दै सरकार अघि बढ्नुपर्छ।
(नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मुल्मीसँगको कुराकानीमा आधारित)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
