रोहितको कप्तानीमा टी२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

क्यानले भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरेको छ।

काठमाडौँ– सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकपका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो।

टोलीको उप-कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ। अन्य सदस्यहरूमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन कुमार झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

विश्वकपका खेलहरू ७ फेब्रुअरीदेखि ८ मार्च २०२६ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा सञ्चालन हुनेछन्। नेपाल रहेको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बांग्लादेश र इटाली रहेका छन्। नेपालले आफ्ना समूह चरणका सबै खेलहरू भारतको मुम्बईमा खेल्ने तालिका छ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। त्यसपछि फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बाङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ।