घट्यो अण्डाको मूल्य

बजारमा माग घटेपछि अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटेको छ।

चितवन– बजारमा अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले देशभरका फार्महरूको दररेट एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी प्रतिक्रेट ९० रुपैयाँले मूल्य घटाएको हो।

नयाँ मूल्यअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, मिडियम अण्डाको मूल्य ५५० रुपैयाँबाट झरेर ४६० रुपैयाँ पुगेको संघले जनाएको छ। फार्मको मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि प्रतिगोटा २५ रुपैयाँबाट २० रुपैयाँमा झरेको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बढ्दो जाडोले विद्यालयहरू बन्द हुनु, पर्यटकीय गतिविधिमा कमी आउनु र उत्पादनको तुलनामा खपत घट्नु मूल्य गिरावटको मुख्य कारण हो। 

“अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार प्रतिक्रेट ५७४ रुपैयाँ लागत हुन आउँछ,” अध्यक्ष पोखरेलले भने, “अहिलेको बजार मूल्य लागतभन्दा निकै कम भएकाले किसानहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।”

जाडो कम भई जनजीवन सहज भएपछि पुनः माग बढ्ने र मूल्यमा सुधार आउने अपेक्षा संघले गरेको छ। संघले बजारको माग र आपूर्तिको अवस्था हेरी समय–समयमा अण्डाको समर्थन मूल्य तोक्ने गर्दछ।