नेप्से परिसूचक २८ अंकले बढ्यो, साढे ६ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १.१० प्रतिशतको वृद्धि हो।

सोमबार ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार नेप्से १०.२९ अंकले घटेर २६१०.६३ बिन्दुमा कायम भएको थियो भने पाँच अर्ब एक करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। सोमबार भने बजारमा उल्लेख्य सुधार देखिएको छ।

यस दिन सबै समूहका उपसूचकहरूमा हरियाली छाएको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.०५, विकास बैंक २.७० र होटल तथा पर्यटन समूह २.५३ प्रतिशतले बढेका छन्। यस्तै, बैंकिङ ०.६७, जलविद्युत् १.१४, लगानी १.२५ र अन्य समूहको उपसूचक ०.७३ प्रतिशतले बढेको छ।

यस दिन पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सागर डिस्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज, बन्दीपुर केबलकार एन्ड टुरिजम र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य करिब १० प्रतिशतले बढेको हो। सबैभन्दा धेरै घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेन्चर (२.४९ प्रतिशत) रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ३८ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको ६ लाख २२ हजार ८४० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।