प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएसँगै सत्तारूढ गठबन्धनको ध्यान मन्त्रिपरिषद् विस्तारतर्फ सोझिएको छ।
काठमाडौँ– पुस ११ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता गठबन्धनको ध्यान सरकार विस्तारतर्फ सोझिएको छ।
पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री दाहालसँगै नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्रीमा नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका तर्फबाट उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल, विनाविभागीय मन्त्रीका रूपमा दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राईले पनि शपथ लिएका थिए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछाने तथा जनमत पार्टीको तर्फबाट अब्दुल खानले पनि सोही दिन शपथ लिएका थिए।
मन्त्री नियुक्त भएका भण्डारी, साह, राई र खानले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन्, नयाँ मन्त्री नियुक्तिको पनि टुंगो लागेको छैन।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी थियो। दाहालको सचिवालयले अब एक साताभित्रै सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री रहेको जनाएको छ।
“विश्वासको मत लिइनसकेकाले सरकार विस्तार हुन सकेको थिएन। अब विश्वासको मत प्राप्त भइसकेको छ, छिट्टै पूर्णता दिने तयारीमा प्रधानमन्त्री लाग्नुभएको छ”, सचिवालयका एक सदस्यले भने, “सत्ता साझेदार दलसँग छलफल गरेर यसबारे टुंगो लाग्छ।”
सम्भवतः यही सल्लाहकै निम्ति प्रधानमन्त्री दाहाल बुधबार साँझ गोरखाबाट फर्केर सत्ता गठबन्धनको प्रमुख घटक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिधै बालकोट पुगेका थिए।
एमाले उपमहासचिव विष्णु रिमाल पनि प्रधानमन्त्रीले विश्वासको मत लिइसकेकाले अब छिट्टै सरकारले पूर्णता पाउने बताउँछन्। “अब गठबन्धन दलको बैठक बसेर छलफल हुन्छ”, उनले भने, “विश्वासको मतसम्म पर्खिएका थियौँ। अब छिट्टै दलहरूबीच छलफल भएर सरकारले पूर्णता पाउँछ।”
उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुको अर्थ नरहेको भन्दै सरकारले छिट्टै पूर्णता पाउनेतर्फ गठबन्धनको तयारी रहेको प्रस्ट पारे।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारलाई पूर्णता दिन प्रधानमन्त्रीले छलफल अघि बढाएको बताए। “अब धेरै ढिलो हुँदैन, सरकारले छिट्टै पूर्णता पाउँछ”, उनले भने, “प्रधानमन्त्रीले तयारी अघि बढाइसक्नुभएको छ। गठबन्धन दलबीच छलफल भएर मन्त्रालयको समेत टुंगो लगाई सरकारले पूर्णता पाउँछ।”
मन्त्रालयको भागबन्डा टुंगो लाग्न बाँकी
माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारमा अहिले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी मात्र सहभागी छन्। सरकारलाई समर्थन दिएको राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने/नहुने टुंगो लागिसकेको छैन।
प्रधानमन्त्री दाहाल भने आफ्नो नेतृत्वको सरकारलाई समर्थन दिएका सबै पार्टीलाई सरकारमा सहभागी गराउन प्रयासरत छन्। सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा आफ्ना मुद्दा सम्बोधन भए सरकारमा जाने संकेत देखाएको राप्रपाले सरकारमा जाने/नजानेबारे निर्णय गरिसकेको छैन।
नागरिक उन्मुक्ति पार्टीले आफूले उठाएका माग सम्बोधनका लागि लिखित प्रतिबद्धता माग गरेको छ। सरकारलाई समर्थन दिएका सबै दल सरकारमा सहभागी हुने स्थिति आए मन्त्रालयको भागबन्डा कसरी मिलाउने भन्ने टुंगो छैन। “कसले कति मन्त्रालय पाउने भन्ने विषयमा समझदारी भइसकेको छैन। मोटामोटी छलफल मात्रै भएको छ”, दाहालनिकट एक नेता भन्छन्, “पहिले समर्थन दिएर सरकारमा सहभागी नभएका दलले के निर्णय गर्छन्, त्यसमा प्रष्ट भएपछि सरकारले पूर्णता पाउला।”
एमाले उपमहासचिव रिमाल मन्त्रिपरिषद्लाई पूर्णता दिने, मन्त्रालय भागबन्डालगायत सबै विषय गठबन्धन दलको बैठक बसेर निर्णय गर्ने बताउँछन्। अहिले सरकारमा एमालेबाट सबभन्दा धेरै ४ मन्त्री, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट एक–एक जना मन्त्री सहभागी छन्। गठबन्धनभित्र एमालेले ८, माओवादी केन्द्रले ५, रास्वपाले ३, राप्रपाले २, जसपाले २, जनमत पार्टीले १ र नागरिक उन्मुक्ति पार्टीले १ मन्त्रालय पाउने विषयमा छलफल भएपनि ठोस निर्णय भइसकेको छैन।
एमाले, माओवादी र रास्वपाबाट उपप्रधानसहित मन्त्रालयको जिम्मेवारी पाउँदा जसपा र राप्रपाले पनि उपप्रधानमन्त्रीसहित मन्त्री पाउनुपर्ने अडान राखेका छन्। संविधानमा मन्त्रिपरिषद्को अधिकतम संख्या २५ सम्म हुने व्यवस्था छ। अहिले २२ वटा मात्र मन्त्रालय छन्। गठबन्धनभित्र मन्त्रालय संख्याभन्दा बढी मन्त्रीको दाबी भइरहँदा भागवण्डा मिलाउन समस्या देखिएको छ।
जसपा सांसद प्रदीप यादव सरकार निर्माणमा समर्थन गरी प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा जाने/नजानेबारे टुंगो नलागेको बताउँछन्। “सरकारमा सहभागी हुने वा के गर्ने भन्ने निर्णय लिने जिम्मा पार्टी अध्यक्षलाई दिइएको छ”, उनले भने, “उहाँले नै यसबारेमा निर्णय गर्नुहोला। अहिले केही निर्णय भएको छैन।”
राप्रपाले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पार्टीले उठाएका माग सम्बोधन भएपछि विश्वासको मत दिएको राप्रपाले सरकारमा जाने विषयमा भने निर्णय गरिसकेको छैन। राप्रपाभित्र सरकारमा सहभागी हुनुपर्ने मत बलियो छ। प्रदेश भागबन्डामा राप्रपाले बागमती प्रदेशको सभामुख पाएसँगै संघीय सरकारमा राप्रपा सहभागी हुने संकेत देखिएको छ।
राप्रपा उपाध्यक्ष एवम् सांसद धुव्रबहादुर प्रधानले आफ्नो पार्टी दाहाल नेतृत्वको सरकारमा सहभागी हुने जानकारी दिए। “हामी सरकारमा सहभागी हुन्छौँ। अब विस्तार हुने मन्त्रिपरिषद्मा हाम्रो पनि सहभागिता हुन्छ”, उनले भने, “गठबन्धनभित्र कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने विषय टुंगो लागिसकेको छैन। मन्त्रालयको टुंगो लागेपछि सरकारमा जान्छौँ।”
को-को छन् मन्त्रीका दाबेदार?
मन्त्रिपरिषद्लाई पूर्णता दिँदा सरकारमा नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने गठबन्धन दलहरूबीच समान धारणा बनेको छ। तर, त्यसका लागि आवश्यक मापदण्ड भने बनिसकेको छैन।
एमाले उपमहासचिव रिमाल सरकारमा अब क–कसलाई प्राथमिकता दिने भन्ने विषय गठबन्धनमै सहमति हुने र पार्टीले व्यक्तिको नाम सिफारिस गर्ने बताउँछन्।
एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा को-को सहभागी हुन्छन् भन्ने यकिन भइसकेको छैन। तर, एमाले र माओवादी केन्द्रबाट मन्त्री बन्ने 'लाइन'मा रहेका केही सांसदहरूको भने चर्चा शुरू भइसकेको छ। मन्त्रीका लागि एमालेबाट टोपबहादुर रायमाझी, रघुवीर महासेठ, एलपी साँवा, देवराज घिमिरे, भगवती चौधरी, पदम गिरी लगायतको चर्चा छ।
यसअघि अवसर नपाएका नयाँ अनुहार धेरै समेट्नुपर्ने दबाब एमालेमा देखिन्छ। यसबाहेक अन्य सांसदहरू पनि आफू मन्त्री बन्न नेतृत्वसमक्ष लबिइङ गरिरहेका छन्।
माओवादीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनुपर्ने माग उठिरहेको छ।
जनार्दन शर्मा र वर्षमान पुनले शुरूआती चरणमा सरकारमा जाने चाहना देखाएका थिए। पुनले गृह मन्त्रालयको नेतृत्व लिन चाहे पनि गृह माओवादीको भागमा नपरेपछि उनी मन्त्रीको दौडबाट पछि हटेका छन्। शर्माको पनि मन्त्री बन्ने चाहना भएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा विवादित बनेकाले पार्टीभित्रै उनलाई मन्त्री बनाउन नहुने माग उठेको छ।
यस्तो अवस्थामा माओवादी केन्द्रबाट सुदन किराती, अमनलाल मोदी, शक्ति बस्नेत, महेन्द्र राय यादव, हितबहादुर तामाङ, माधव सापकोटा लगायत मन्त्री बन्ने चर्चा छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोशिमा कार्की, शिशिर खनाल, सन्तोष परियार, डा. चन्दा कार्कीलगायतको नाम चर्चामा छ। यस्तै राप्रपाबाट उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय पाएमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन नै सरकारमा जान चाहिरहेका छन्। त्यस्तै, धुव्रवहादुर प्रधान, धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, विक्रम पाण्डेलगायतले पनि मन्त्री बन्ने चाहना राखेका छन्। जसपा र नागरिक उन्मुक्ति पार्टीले निर्णय गरिनसकेकाले अहिले नै को–को मन्त्रीका दाबेदार छन् भन्ने स्पष्ट छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
