भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा तत्कालीन राजा रणजित मल्ल आफै उपस्थित भएर माधव नारायणको व्रत प्रारम्भ गरेको इतिहास छ।
भक्तपुर– भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा एक महिने माधव नारायण मेला एवं व्रत शुरू भएको छ। उक्त मेला नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको विश्वास छ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुने पुजारी सरोजन शर्माले बताए।
साँखुको शाली नदीमाभन्दा पहिलादेखि यो मेला एवं व्रत शुरू भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको भन्दै उनले तत्कालीन राजा रणजित मल्ल आफै उपस्थित भएर व्रत प्रारम्भ भएको शिलालेखमा रहेको जानकारी दिए।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरू हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शंख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने गरिन्छ।
त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उनको भनाइ छ। व्रतालुले खाली खुट्टा पैदल नै तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्किन्छन्।
दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने परम्परा रहेको व्रतालु विनोदकुमार प्रजापतिले जानकारी दिए।
व्रतालुहरू त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा छ। त्रिवणी धाममा एक महिनासम्म गणेश, कुमार, फूल ल्याउने माली र पाँच जना गुरु पुरोहितले व्रत एवं पूजाको व्यवस्थापन गर्ने उनले जानकारी दिए।
एक महिनापछि व्रतालुहरूले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरूको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ।
आजदेखि एक महिनासम्म यहाँ माधवनारायणको कथा वाचन हुने गर्छ। यस वर्ष सात जना महिलाले त्रिवेणी धाममै बसेर व्रत पूरा गर्ने भएका छन्। त्रिवेणीधामका जलाशयमा बसेर तालाक्वोका ११ वर्षीय क्रिजल प्रजापतिदेखि ६५ वर्षीय ज्येष्ठ नागरिकसम्मले व्रत प्रारम्भ गरेका छन्।
समितिले त्रिवेणी धाममा महिलाहरूको लागि मात्रै व्रत बस्ने व्यवस्था गरेको छ। महिला पुरुष गरी यसवर्ष ३५ जनाले माधवनारायणको व्रत बसेको माधवनारायण व्रत समितिले जनाएको छ। हनुमन्ते खोलामा पानीको सट्टा ढल बगेकाले यहाँ व्रत बस्नेको संख्या घट्न थालेको छ। ढललाई हनुमन्ते खोलाबाट नबगाई व्यवस्थापन गर्न भक्तपुर नगरपालिकासँग स्थानीयले माग गरेका छन्।
भक्तपुर नगरपालिकाभित्रका सबै ढल मिसिएर दुर्गन्धित बनेको हनुमानघाटको उक्त हनुमन्ते खोलामा मेला सञ्चालनका लागि भक्तपर नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्नका लागि खाल्डो बनाइएको र त्यही खाल्डोमा राति बग्ने पानी र इनारको पानी हाले स्नानको लागि व्यवस्था गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
