बिटकोइन र इथेरियम जस्ता क्रिप्टोकरेन्सी, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेटहरू 'भर्चुअल सम्पत्ति' अन्तर्गत पर्दछन्। यस्तो सम्पत्तिको कारोबारमा युवा पुस्ताको संलग्नता बढी रहेको पाइएको छ।
काठमाडौँ– नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शंकास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट)सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८ शंकास्पद कारोबार भएको भेटिएको हो।
नेपालमा भर्चुअल सम्पत्ति (भर्चुअल एसेट)को कारोबार अवैध हो। बिटकोइन, इथेरियम जस्ता क्रिप्टो, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल सम्पत्तिभित्र पर्छन्। जसलाई व्यापार गर्न, स्थानान्तरण गर्न, भुक्तानी तथा लगानीका लागि प्रयोग गर्ने गरिन्छ।
प्रतिवेदनअनुसार २०२१ जनवरीदेखि २०२५ जुलाईसम्ममा ६५८ शंकास्पद कारोबार र शंकास्पद गतिविधिको जानकारी राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइले पाएको छ। सन् २०२१ मा १३, सन् २०२२ मा १७३, सन् २०२३ मा १३८ र सन् २०२४ मा २५२ वटा यस्तो कारोबार र गतिविधिको जानकारी एकाइलाई आएका छन्।
त्यस्तै, २०२५ को जुलाई १६ सम्ममा ८२ कारोबार र गतिविधिको जानकारी राष्ट्र बैंकले पाएको छ। हालसम्म प्राप्त शंकास्पद कारोबार ‘रिपोर्ट’अनुसार सबैभन्दा धेरै ९१ प्रतिशतभन्दा बढी अर्थात् ६ सयवटा वाणिज्य बैंकका छन्। त्यस्तै, ४८ विकास बैंक, ६ वटा रेमिट्यान्स कम्पनी, दुई वित्त कम्पनी, एउटा भुक्तानी प्रणाली सञ्चालक र एउटा स्टक ब्रोकरसँग सम्बन्धित रहेको छ। यसरी जानकारीमा आएका शंकास्पद कारोबार र गतिविधिलाई राष्ट्र बैंकले विभिन्न निकायमा पठाउने गरेको छ।
प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा राष्ट्र बैंकले २३२ वटा नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई, ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई, तीन वटा राष्ट्र बैंकअन्तर्गतको भुक्तानी सेवा विभागलाई र एउटा आन्तरिक राजस्व विभागलाई पठाएका छन्।
राष्ट्र बैंकका निर्देशक तथा वित्तीय जानकारी एकाइका प्रमुख वासुदेव भट्टराई शंकास्पद कारोबार बारेका जानकारी विभिन्न अनुसन्धान निकायलाई उपलब्ध गराएको र ती निकायबाट थप अनुसन्धान अघि बढ्ने बताउँछन्। “हामीले जानकारीमा आएका शंकास्पद भर्चुअल सम्पत्तिको कारोबारसँग सम्बन्धित विवरण विभिन्न निकायलाई उपलब्ध गराएका छौँ। थप अनुसन्धान गर्ने, अदालतमा मुद्दा अभियोजन गर्ने र त्यहाँ पुष्टि भएपछि मात्रै यस्तो कारोबार भए–नभएको यकिन हुने हो,” उनले भने।
भर्चुअल सम्पत्तिको शंकास्पद कारोबार गर्ने व्यक्तिको उमेर समूह हेर्ने हो भने ३५ प्रतिशत २६ देखि ३० वर्षका, २० प्रतिशत २१ देखि २५ वर्षसम्मका, २० प्रतिशत ३१ देखि ३५ वर्षका, १२ प्रतिशत ३६ देखि ४० वर्षका, १० प्रतिशत ४१ वर्षभन्दा माथि र तीन प्रतिशत १६ देखि २० वर्ष उमेर समूहका रहेका छन्। यस्तो शंकास्पद कारोबारमा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ। त्यस्तै, २१ प्रतिशत जागिरे, १९ प्रतिशत विभिन्न व्यवसायका मालिक, पाँच प्रतिशत कृषि, दुई प्रतिशत इन्जिनियर, नौ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति तथा चार प्रतिशत स्वरोजगार रहेका छन्।
चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक–एक प्रतिशत छन्। २६ प्रतिशत व्यक्तिको बैंक अकाउन्ट बाइनान्स, क्रिप्टो, विटक्वाइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको खरिद–बिक्रीमा जोडिएको भनेर उनीहरूकै बैंक स्टेटमेन्टबाट देखिएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, १६ प्रतिशत व्यक्ति भर्चुअल सम्पत्तिको कारोबारमा संलग्न रहेको भनेर विभिन्न अनौपचारिक स्रोतबाट र इमेलबाट जानकारी पाएको, दुई प्रतिशत व्यक्तिले क्रिप्टो व्यापारका लागि अर्को व्यक्तिको बैंक खाता प्रयोग गर्ने (मनी म्युल)को प्रयोग गर्ने गरेका कारण शंकामा परेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, पाँच प्रतिशत क्रिप्टो विटक्वाइन तथा स्केल टोकन खरिदका लागि डलर कार्डको प्रयोग गर्ने गरेको, दुई प्रतिशत ग्याम्बलिङ र क्रिप्टोमा संलग्न भएको, दुई प्रतिशत क्रिप्टो र हुन्डीमा संलग्न रहेको तथा चार प्रतिशतले क्रिप्टो फ्रड अर्थात् अरू व्यक्तिले त्यस्तो कारोबारका लागि प्रेरित गरेको प्रतिवेदनमा उल्लेख छ। बयालिस प्रतिशत भने उनीहरूको कारोबारको अवस्था हेरेर शंकामा परेको प्रतिवेदनमा जनाइएको छ। उनीहरूको बैंक खातामा पटक–पटक रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएका कारण शंकास्पद कारोबारका रूपमा चित्रित गरिएको प्रतिवेदनमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
