भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो।

काठमाडौँ– भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईईएक्सको 'डे अहेड' र 'रियल टाइम मार्केट'बाट ६५४ मेगावाट विद्युत् चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो।

नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो। १७ पुसबाट १७ चैतसम्म विद्युत् आयातको अनुमति पाएको हो। १८ चैतबाट १५ भदौसम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटीसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए।

उनले आरटीसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए।