सुदूरपश्चिम प्रदेशको बजेट ५ महिनामा मात्र ८.४ प्रतिशत खर्च

चालु आर्थिक वर्षको पाँच महिनामा सुदूरपश्चिम प्रदेश सरकारले कुल विनियोजित बजेटको जम्मा ८.४ प्रतिशत मात्र खर्च गरेको आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनले देखाएको छ।

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मंसिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कुल विनियोजित बजेटको ८.४ प्रतिशत मात्र खर्च भएको छ।

आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बजेटमध्ये मंसिरसम्म १६.५१ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ विनियोजित १९ अर्ब ८३ करोड पाँच लाख ६ हजार रुपैयाँमध्ये २.८९ प्रतिशत मात्र खर्च भएको छ। 

यो अवधिमा सवारीसाधन करतर्फ २६ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा २५ करोड ९७ लाख नौ हजार संकलन भएको थियो। घरजग्गा रजिस्ट्रेसन दस्तुर भने घटेको छ।

यो शीर्षकमा गत वर्ष मंसिरसम्म १५ करोड १७ लाख ७० हजार रुपैयाँ संकलन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा आठ करोड २० लाख सात हजार रुपैयाँ संकलन भएको हो। मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ।

अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने गत वर्ष मंसिरसम्मको चार करोड १२ लाख ५१ हजार रुपैयाँबाट वृद्धि भई यो वर्षको सोही अवधिमा आठ करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य एक अर्ब ६५ करोड रुपैयाँ राखेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य एक अर्ब ६० करोड सात लाख १५ हजार रुपैयाँ राखेको थियो।

आर्थिक वर्ष २०८१/८२ मंसिरसम्म ४८ करोड ७६ लाख २३ हजार रुपैयाँ संकलन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ४५ करोड २४ लाख ८४ हजार रुपैयाँ संकलन भएको हो।