तरकारीले मूल्य पाएपछि किसान खुसी

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए।

चितवन– जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन्। 

गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताए। उनले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ।

उनले भने, “खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको छ।” खेतबाटै बिक्री गर्दा घीउ सिमी १२० देखि १३० रुपैयाँ र गोलभेँडा प्रतिक्रेटको एक हजार ६०० देखि दुई हजार ६०० रुपैयाँसम्ममा बिक्री भएको उनले बताए।

उनले अहिले तीन बिघा क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन्। विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका उनी विगतका वर्षको तुलनामा यो वर्ष तरकारीले राम्रो मूल्य पाएको बताउँछन्। तरकारी खेतीमा ग्रेडिङ गरेर बिक्री गर्न सके मूल्य राम्रो पाउने उनले बताए।

भरतपुर महानगरपालिका–२१ का शिवराज बराल पनि आफूले लगाएको तरकारीले मूल्य पाएपछि निकै खुसी छन्। विगत सात वर्षदेखि व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका उनले एक बिघा १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका छन्। उनले भने, “विगतका वर्षको तुलनामा अहिले तरकारीले मूल्य राम्रो पाएको छ।”

अहिले लौका, काँक्रो, गोलभेँडालगायतले राम्रो मूल्य पाएको उनले सुनाए। घिरौला, करेलासमेत बिक्रीका लागि बजार खोज्न जानुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

केरुंगा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले गएको तीन महिनायता किसानले तरकारीको मूल्य राम्रो पाएको बताए। उनले भने, “तीन महिनाअघि राम्रो थिएन। अहिले राम्रो छ।”

बजारको अवस्था हेर्दा फेरि मूल्य ओरालो लाग्ने संकेत देखिएको उनले बताए। वर्षमा तीन खेती तरकारी लगाउँदा कुनै न कुनै खेतीमा मूल्य नपाउँदा मर्का पर्ने गरेको उनको अनुभव छ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए। 

जिल्लामा हाल ७ हजार ७७.९ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ। असोजमा परेको पानीका कारण अहिले तरकारी उत्पादन कम भएकाले पनि बजार मूल्य पाएको उनले बताए। यहाँको तरकारी विदेशी बजारमा समेत माग हुन थालेको उनले जानकारी दिए।

प्रमुख कँडेलले भने, “यहाँको उत्पादन दुबईमासमेत जान थालेको छ।” कार्यालयले व्यावसायिक तरकारी खेतीमा मागका आधारमा लगानी गर्दै आएको बताए।