राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि काठमाडौँमा

आगामी पुस २३ देखि २६ गतेसम्म नवौँ संस्करणको 'एनभीए' राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

काठमाडौँ– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी पुस २३ देखि २६ गतेसम्म नवौँ संस्करणको 'एनभीए' राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा पाँच वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले साबिक विजेता नेपाल पुलिस क्लबसहित एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने जानकारी दिए।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने यस प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीका आधारमा खेलहरू सञ्चालन गरिनेछ। प्रतियोगिताको उपाधि विजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। पुरस्कारको यो राशिसँगै प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई प्रोत्साहित गर्न सर्वोत्कृष्ट घोषित हुने एक खेलाडीलाई ५० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ। साथै, प्रत्येक खेलको 'प्लेयर अफ द म्याच'ले १५ हजार नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिताको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार नगदसहित 'शेरबहादुर खड्का स्पेसल अवार्ड'बाट सम्मानित गरिने अध्यक्ष खड्काले बताए। करिब ४० लाखको अनुमानित बजेटमा सम्पन्न हुन लागेको यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकासमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।