आजकल धेरैजसो मानिस पुराना दिनलाई सुनौलो समयका रूपमा स्मरण गर्छन्। तर, बुवाको त्यो बेलाको अन्तर्वार्ताबाट स्पष्ट हुन्छ— त्यो बेला पनि समस्या यथावत् थियो, यही थियो, जे आज छ।
आज पुस १० गते। मेरो बुवा भूपी शेरचनको ९०औँ जन्म जयन्ती।
जन्मदिनलाई विशेष रूपमा मानिन्थ्यो हाम्रो घरमा। बिहानै टिका लगाएर आशीर्वाद लिने, दिउँसो स्कुलमा चकलेट बाँड्ने, बेलुका परिवार र नजिकका आफन्तहरूसँग कृष्ण पाउरोटीको २ पाउन्डको केक काटेर शुभकामना ग्रहण गर्ने। जन्मदिनको महत्त्व हाम्रो घरमा अझै पनि छँदैछ। त्यसैले होला, पुस महिना लागेपछि सामान्य बेलाभन्दा बुवाको सम्झना अझ बढी आउँछ। हामीबीच बुवाको कुरा बढी हुने गर्छ।
अनि हरेक वर्ष म यो महिनामा उहाँका कविता या अन्तर्वार्ता झिकेर दोहोर्याएर पढ्छु। यसपालि पनि त्यसै गरेर पढेँ, कवि बुबाको स्मृतिमा।
बुवाले आफ्नो निधन भन्दा झन्डै २ वर्ष अगाडी दिएको एउटा अन्तर्वार्ता छ, जुन त्यो बेला एकदम विवादास्पद बन्यो। म सम्झन्छु–बुवाले त्यति बेला हिन्दू साप्ताहिकको प्रदीप उपाध्यायलाई दिनुभएको अन्तर्वार्ता। २०४४ साल भदौ २४ गते छापिएको त्यो अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, “यो प्रज्ञा प्रतिष्ठानको मेरो कार्यालयको उत्तरपट्टिको झ्याल मात्र खोल्नु— त्यहाँ मरीच गन्हाउँछ। त्यहाँ मरीच मात्र होइन, उसका सांघातिक मसलाहरूको सिनो गन्हाउँछ। प्राज्ञिक सच्चा अर्थमा प्राज्ञिक हुन् भने तिनका भावनालाई अहिले फूलका विषयमा, मायालुका चुम्बनका विषयमा, छोराछोरीलाई अँगाल्ने अँगालोको विषयमा तिनीहरूले कलम थन्क्याएर हातलाई दूषित मरीचीय दुर्गन्धलाई छेक्न आफ्नो कलमरूपी चुप्पी तिखार्नु पर्नेछ। जस्तो कि, म तिखार्न जाँदै छु। म किरिया खान्छु—दुई महिनाभित्र म यो मन्त्रीमण्डललाई हल्लाउन सकिन भने म कविता लेख्दिनँ।”
मेरो कवि बुवाले यो अन्तर्वार्ता दिँदा बुवा र पञ्चायत व्यवस्था दुवैको आयुको अन्तिम चरण थियो। मरीचमान सिंह प्रधानमन्त्री भएको समय। बुवा त्यति बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य (राजाबाट मनोनीत) हुनहुन्थ्यो। उहाँले हिन्दू साप्ताहिकमा दिएको जवाफमा त्यस बेलाको परिस्थितिप्रति घोर आक्रोश झल्कन्थ्यो, त्यसको प्रतिरोधमा केही गर्छु भन्ने अठोट थियो।
त्यो बेलाको उहाँको अभिव्यक्तिमा केही अतिशयोक्ति हुन सक्छ। उहाँले भावनामा बहेर त्यस्तो अभिव्यक्ति दिनुभएको थियो होला, तर त्यो भावना पूर्ण रूपमा सच्चा थियो, छ।
उहाँको सम्पूर्ण आशय थियो—‘कलम हातमा हुनेहरूले परिवर्तनको लागि कलम चलाउनै पर्छ।’
त्यस बेला अहिलेजस्तो मिडिया र सोसल मिडियाको पहुँच थिएन। समाजमा सञ्चारभन्दा साहित्यको प्रभाव बढी थियो। बुवाले भन्नुभएजस्तो दुई महिनामै तत्कालीन सरकार त ढलेन। बरु, त्यो अन्तर्वार्ता दिएलगत्तै बुबा सधैँजसो सिकिस्त बिरामी हुनुभयो र, २०४६ जेठ १ गते बित्नुभयो। अन्तर्वार्ता दिए पछिको ३१ महिना र बुवाको निधनको १० महिनापछि त्यो सरकार ढलेको थियो।
सरकार ढल्यो, व्यवस्था परिवर्तन भयो, नयाँ सरकारहरू आए, तर समस्या समाधान भएन। उल्टो बढेर विकराल बन्दै गयो। माओवादी जन्मायो, राजसंस्था फाल्यो। अझ पछि गएर भ्रष्टाचार र कुशासनको जालो भनेकै हाम्रो संस्कृतिको पाटो झैँ बन्यो र, यसैले जेनजी आन्दोलन निम्त्यायो।
आजकल धेरैजसो मानिस पुराना दिनहरूलाई सुनौलो समयको रूपमा स्मरण गर्छन्। तर, बुवाको त्यो बेलाको अन्तर्वार्ताबाट स्पष्ट हुन्छ—त्यो बेला पनि समस्या यथावत् थियो, यही थियो (जे आज छ)। स्केल र साइज सानो थियो होला, तर त्यति बेलाको लागि त्यो समस्या ठुलै थियो। व्यापक भ्रष्टाचार, जबाफदेहिताको अभाव, खस्कँदो शिक्षा तथा स्वास्थ्य प्रणाली, बढ्दो गरिबी, चर्को महँगीसहित त्यस बेला पनि जनतामा निराशा व्याप्त थियो।
त्यसताका जनतामा उम्लिरहेको चरम असन्तोष र परिवर्तनको चाहनालाई बुवाले उतार्नु भएको थियो— साहित्यिक पत्रिका ‘गरिमा’ (२०४१ जेठ) मार्फत। कविताको शीर्षक थियो—‘सर्पको खोजीमा।’
काठमाडौँ र अझ भनौँ
यो सिङ्गै देश नै
दिन पर दिन
कालो–नीलो हुँदै गइरहेको छ,
सर्पदंशित मान्छे झैँ।
म सर्पको खोजीमा छु
हो,
म ती विषालु सर्पहरूको खोजीमा
धेरै अघिदेखि हिँडिरहेछु
असन पसेर जसले नुन–चामलका बोरा
र, तेलका टिनलाई डसे
बजार घुमेर मोटा कपडा
र, इँटा–सिमेन्ट–छड र कर्कट पातालाई डसे
अस्पताल पसेर डाक्टरलाई डसे
स्लाइनको नली भएर थुप्रै बिरामीलाई डसे
अँध्यारामा नर्सलाई
र, औषधी पसलमा औषधी भई
रोगीका ‘पर्स’लाई डसे
बालबालिकाका दूधका डब्बालाई डसे
विद्यालय पसेर
देशको भविष्यलाई डसे
हाकिमको कलमको निब भएर असंख्य कर्मचारीलाई डसे
मलाई खोजी छ,
हो, मलाई खोजी छ
ती काला विषालु सर्पहरूको
एक युग बित्यो
म हातमा लौरो बोकी
गल्ली/गल्ली/चोक/चोक/वन–जङ्गल र बाटाघाटामा
ती सर्पका खोजीमा हिँडेको तर
सर्पका साटोमा मैले बरु
गल्ली/चोक/वन–जङ्गल बाटा–घाटालाई पो दंशित पाएँ।
⁎
यो पढ्दा यस्तो लाग्छ, म आजकै परिस्थितिबारे पढ्दै छु। त्यही परिस्थिति जसले २३ र २४ भदौको जेनजी आन्दोलन निम्त्यायो। युवाहरूलाई ज्यान हातमा राखेर सडकमा आउन बाध्य बनायो। कविता अझ अगाडी बढ्छ—
अब म बढी सतर्कताको साथ खोज्दैछु
पछ्याउँदै छु ती छद्मभेषी सर्पलाई जसले
सभ्य रूपमा सभ्यतालाई,
पुजारी भई देवतालाई डसे
मलाई खोजी छ,
हो, मलाई खोजी छ
र जसले भिडभित्र पसी
नीला सर्प भई हाम्रो संस्कृतिलाई डसे
नदेखिएका पनि होइनन् ती अँध्यारामा
तर, मेरो प्रहारभन्दा अघि ती दुलाभित्र पस्थे
तिनलाई पनि नभत्काएको होइन मैले
तर मैले पछ्याउँदा पछ्याउँदै पनि
ती भागेर पर्खालभित्र पसे
पर्खाल भत्काएँ तर, अपसोच !
ती यति अग्ला पर्खालभित्र पसे,
जसलाई म न उक्लिन सक्छु, न भित्र पस्न सक्छु
मलाई थाहा छ,
व्यर्थ छ मेरो अभियान
सर्प मार्नु ता परै जाओस्
बरु कुनै पनि क्षण म आफै डसिन सक्छु
तैपनि बसेको छु म पर्खाल कुरेर
पर्खाल घुरेर
कारण मलाई खोजी छ ती सर्पको
जसले यो सुन्दर देशलाई बारम्बार
डसिरहेछ
डसिरहेछ
डसिरहेछ।
⁎
यो कविता प्रकाशित हुँदा म कक्षा ८ मा पढ्दै थिएँ। राजनीति खासै धेरै बुझ्दिन थिएँ तर, यति त बुझ्थेँ कि देशमा जे भइरहेछ, ठिक भइरहेको छैन। यो कवितामा देशको अवस्था उजागर गर्दै भ्रष्टाचारीहरूले देशको सबैभन्दा उच्च शक्ति बिन्दुबाट प्रश्रय पाइरहेको दर्साइएको छ।
उक्लिन पनि नसकिने, पस्न पनि नसकिने पर्खाल भनेर कविले तत्कालीन राजदरबारको सुरक्षा घेराप्रति संकेत गर्नुभएको छ, जसभित्रका भाइ–भारदारहरूले (छद्मभेषी सर्पहरू) यी अवैध गतिविधिलाई प्रश्रय दिइरहेका छन् भन्ने जनमानसमा धारणा बनेको थियो। विडम्बना! त्यति बेला जे थियो, अहिले पनि त्यही स्थिति छ। पदीय दुरुपयोगसँगै भ्रष्टाचार र कुशासन देशको सर्वोच्च स्थानबाटै संरक्षित छँदैछ।
कवि भूपी शेरचनका कविताहरूको विशेषताको कुरा गर्दा एउटा मुख्य पक्ष भनेको कविताको कालजयी स्वरूप हो। र, यस सन्दर्भमा कविताहरूमाझ सबैभन्दा बढी दिइने उदाहरणहरू हुन्—शहीदहरूको सम्झना, यो हल्लै हल्लाको देश हो, हामी आदि। आजको परिस्थितिमा पनि यी सबै कविता उत्तिकै सान्दर्भिक छन्। ‘शहीदहरूको सम्झना’मा भनेजस्तै अहिले पनि नयाँ बिहानीको लागि कैंयौं सपुतहरूले मरेर जानुपर्यो। ‘यो हल्लै हल्लाको देश हो’मा भनेजस्तै अहिले पनि हामी हल्लै हल्लाको थुप्रोमा उभिरहेका छौँ। ‘हामी’ कवितामा भनेजस्तै हामी अहिले पनि कसैको इशारामा टेक्ने, हिँड्ने र दगुर्ने फगत पाइताला हौँ। तर, मलाई लाग्छ— अहिलेको सन्दर्भमा सबैभन्दा प्रासंगिक कविता हो, सर्पको खोजीमा।
हुन त अहिलेका यी सर्पहरूको अनुहार सबैले छर्लङ्ग देखिसकेका छन्। पराकाष्ठामा पुगेको भ्रष्टाचार र कुशासन सहन नसकेर अन्ततः जेनजी पुस्ताले त्यो पर्खालमाथि आक्रमण गरेर एक हदसम्म भत्काउन सफल भए पनि। तर, आजकलका सर्पहरू अझ डरलाग्दा गोमन/धामन हुन्। यिनलाई लखेट्दा यिनीहरू भागेर पर्खाल नाघ्दैनन्, उल्टै आफ्नो शरीर घुमाएर र टाउको ठाडो पारेर पछ्याउनेलाई डसिदिन्छन्। पर्खाल बाहिर, पर्खाल भित्र यिनीहरू यति छ्यापछ्याप्ती छन् कि अब त तिनीहरूलाई लखेट्नु असम्भवजस्तै भइसक्यो।
कवि बुवाले भनेजस्तै देश अझै पनि दंशित छ यी सर्पहरूबाट।
(पत्रकार एवं लेखक कविता शेरचनको 'भूपी: छोरीको स्मृतिमा' पुस्तक प्रकाशित छ। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
