वरिष्ठ नृत्य निर्देशक थापा र नाट्यकर्मी शर्मा सम्मानित

बाल नाट्य संस्था 'छुनुमुनु'ले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ।

काठमाडौँ– बाल नाट्य संस्था 'छुनुमुनु'ले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ। संस्थाको एकवर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाहरूको दीक्षान्त समारोहको अवसरमा उनीहरूलाई सम्मानित गरिएको हो।

कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १११ रुपैयाँ, ताम्रपत्र, दोसल्ला र भादगाउँले टोपीद्वारा सम्मान गरिएको थियो। सम्मान अर्पण गर्दै छुनुमुनुका अध्यक्ष एवं युवा रंगकर्मी राजन भुजेलले आ-आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा संस्था गौरवान्वित भएको बताए। संस्थाका वरिष्ठ सल्लाहकार प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको अतुलनीय योगदानको स्मरण गर्दै संस्थाले आफ्नो गच्छेअनुसार सम्मान गरेको उल्लेख गरे।

वरिष्ठ नृत्य निर्देशक थापाले कला र साहित्यको उन्नयनमा लागेका सबैप्रति कृतज्ञता व्यक्त गरे। वरिष्ठ नाट्यकर्मी शर्माले उन्नत समाजमा कलाको सदैव सम्मान हुने चर्चा गर्दै विद्यालय र विश्वविद्यालय तहमा पनि रंगकर्म र नृत्य विधाको अध्ययन-अध्यापन हुनुपर्नेमा जोड दिए। नेपालका विद्यालयमा रंगकर्मप्रति बालबालिकाको बढ्दो आकर्षण देख्दा आफू प्रसन्न भएको उनको भनाइ थियो।

वरिष्ठ कलाकार प्रभाकरदेव शर्माले नयाँ पुस्तामा अब्बल नाट्यकर्मीहरू जन्मिरहेकोमा खुशी व्यक्त गर्दै अभिनय सिकाइको एक महत्त्वपूर्ण विधा भएको बताए। त्यस्तै, नाट्यकर्मीहरू पुरु रिसाल, आशान्त शर्मा र केदार श्रेष्ठले बालबालिकालाई नाट्य विधामा अझ सशक्त ढंगले अघि बढाउन सके त्यसको सकारात्मक प्रभाव सिंगो समाजमा पर्ने विश्वास व्यक्त गरे।