कर्णालीतिर झुमा–काली सांगीतिक जोडा (भिडियोसहित)

सुदूरपश्चिमको संगीतलाई जतिसक्दो प्रवर्द्धन गर्ने उद्देश्यसहित देउडा गायनको शैली र ढोरपाटन (बागलुङे) भाकाको प्रयोगमाझ ‘कर्नाली सलल’ बजारमा आएको छ।

काठमाडौँ–  
कोइलीझैँ बोली नि बोल्याकै राम्रो
चम्क्यार बोल्या नि, मस्क्यायर बोल्या नि
बोल्याकै राम्रो, 
ओ मेरा बाजा, बोल्याकै राम्रो!

नेपालको सांगीतिक बजारमा अहिले ‘कर्नाली सलल’ गीत चर्चामा छ। जहाँ गायिका झुमा लिम्बू, संगीतकार कालीप्रसाद बाँस्कोटा र गीतकार हर्क साउद एकैसाथ सुनिँदैछन्, गाइदैँछन्। 

सुदूरपश्चिमको संगीतलाई जतिसक्दो प्रवर्द्धन गर्ने उद्देश्यसहित देउडा गायन शैली र ढोरपाटन (बागलुङे) भाकाको प्रयोगमाझ ‘कर्नाली सलल’ आएको रहेछ। “मैँले देउडाको भाका मिसाएर हल्का ट्युन गरेको थिएँ, यसलाई गीतकार हर्क साउदले मलजल गरिदिनुभएको हो,” उकालो संवादमा आएका संगीतकार बाँस्कोटाले भने, “हर्क भनेको यस्तो प्रतिभा हो जो आफू लुकेर, छिपेर बसिरहनुभएको रहेछ। बागबजारस्थित हर्कजीको क्याफेमा भेट भएपछि हामी एकाकार भयौँ, जुट्यौँ।”

यसअघि ‘सुन साइँली’ गीतमार्फत जोडिएका हर्क र काली अरू सिर्जनामा पनि जोडिन क्रममा रहेछन्। “हर्कजी बारुद भरिएको मान्छे हो, सलाई लगाइदिनुपर्छ, रकेट उडाउन सक्छ,” काली भन्छन्, “कर्नाली सलल गीतमा पनि हर्कले रकेट उडाएका छन्।”

null

काली–हर्ककै संयोजनमा आएको सुन साइँलीभित्रको कथाको अन्तर्य पनि सुनाउन चाहे कालीप्रसादले। आज जो पनि विदेशमा छन् वा आफ्नो युवाकालमैँ श्रम–रोजगारीमा बिदेसिएका छन्, उनीहरू केही कालपछि वा संघर्षको एउटा अवधिपछि देशमै फर्किएर रमाइलो गर्ने (जीवन बिताउने) ध्याउन्नमा हुन्छन् नै। खाडी मुलुक होस् वा अमेरिका–युरोप। घरगाउँ फर्किएर रमझम गर्ने सपनामाझ गीतकार हर्कले लेखेको शब्दमा कालीले संगीत भरेका रहेछन्। “संयोग भनौँ, यो गीतको ‘४० कटेसि रमाउँला’ भन्ने लाइन एउटा थेगो झैँ बन्यो नेपाली समाजमा,” कालीले सुनाए।

पढाइ र दक्षतामा मेकानिकल इन्जिनियर कालीप्रसाद आफ्नो रुचि र संगतले मात्रै सांगितीक जगत्‌मा आएका रहेछन्। जस्तो, संगतकै कारण गीतकार श्रवण मुकारुङको शब्दमा आएको ‘राई माइलाले गाउँ छाड्यो रे’ पनि उस्तै थेगो झैँ बनाइदिएका छन् कालीले, अद्भुत संगीत भरेर। “झुमासँगको संगतका कारण म केही पूर्वेली भाका, लिम्बूका मुन्धुम, पालम र हाक्पारेमा पनि काम गरिरहेको छु,” काली भन्छन्, “कर्नाली सललबाट पश्चिम पुगेका छौँ, अब पूर्व पनि जाने हो। बीचमा मधेशका लागि पनि केही काम भइरहेको छ।”