म्याग्दीका रैथाने उत्पादनलाई युरोप, अमेरिका, जापान र कोरिया लगायतका देशमा रहेका नेपाली उपभोक्तासम्म पुर्याउन विभिन्न देशमा स्थापित व्यवसायीहरूले जिल्लामै संकलन केन्द्र स्थापना गरेका छन्।
म्याग्दी– बेनी नगरपालिका–५ डढुवाकी मनमाया नेपालीको दैनिकी अचेल फेरिएको छ। केही वर्ष अघिसम्म बारीका कान्लामा फलेका सिमी र गहतका माना–पाथी बोकेर उनी ग्राहक खोज्दै गाउँका घर–घर डुल्थिन्। कहिले उत्पादन बिक्थ्यो, कहिले रित्तो हात फर्किनुपर्थ्यो। तर, अचेल मनमाया सिधै सदरमुकाम बेनी झर्छिन्।
“अहिले त झोलामा एक–दुई पाथी जे छ, त्यो बोकेर कोसेलीघर पुर्याउँछु, तुरुन्तै हातमा दाम पर्छ,” मनमायाले खुसी साट्दै भनिन्, “भाँगो र गहत बेचेरै १०–१२ हजार रुपैयाँ कमाइ हुन्छ, यसैले घरको नुनतेल खर्च धानेको छ।”
मनमाया त प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्ता धेरै किसानका लागि म्याग्दीमा सञ्चालित ‘कोसेलीघर’ भरोसाको केन्द्र बनेको छ। गाउँका पाखोबारीमा उत्पादित रैथाने सामग्रीलाई युरोप, अमेरिका, जापान र कोरिया लगायतका देशमा रहेका नेपाली उपभोक्तासम्म पुर्याउन विभिन्न देशमा स्थापित व्यवसायीहरूले कोसेलीघरका नाममा संकलन केन्द्र स्थापना गरेका हुन्। उनीहरूले केन्द्रमार्फत रैथाने उत्पादनलाई प्रशोधन र प्याकेजिङ गरेर विश्वका अत्याधुनिक सुपरमार्केटका दराजसम्म पुर्याउन पुलको काम गरेका छन्।
म्याग्दीका ग्रामीण पाखोबारीमा बर्खाको एक सिजन मात्र खेती हुन्छ। खेती पनि सबै प्रकारको हुँदैन। बारीका कान्ला र डिलमा मकैसँगै भाँगो, भटमास र बोडी लगाइन्छ। पहिले–पहिले यस्ता उत्पादन घरमै खाएर सकिन्थ्यो, बेच्ने चलन थिएन। तर, बेनीमा ‘कोसेलीघर’ खुलेपछि मनमायालगायत गाउँका धेरै किसानले आफूलाई आवश्यक अन्न राखेर उब्रेको गेडागुडी बेच्न थालेका छन्।
उपभोक्तामा अर्गानिक र रैथाने खानपानप्रति रुचि बढेसँगै स्थानीय कृषि उपजहरू पाइने ‘कोसेलीघर’, ‘सौगातघर’ तथा ‘लोकल मार्ट’ जस्ता संकलन केन्द्र खोल्ने क्रम बढेको छ। यस्ता केन्द्रमा छिर्दा हिमाली र लेकाली स्वादका अनेकन् अन्नहरू भेटिन्छन्। यहाँ मार्सी, जेठोबुढो र गुडुरा चामलदेखि कोदो, फापर र जौको पिठोसम्म उपलब्ध हुन्छन्।
त्यस्तै, लेकाली सिमी, मासको दाल, बोडी, सेल्टुङ, ढकायोको गुन्द्रुक, निउरोको सुकुटी, जंगली रातो च्याउ, मुढेघारको मह र टिमुरजस्ता थुप्रै उपजहरू भेटिन्छन्। यी सामग्री कुनै ठूला फार्मबाट नभई जिल्लाभरका विभिन्न बस्तीका सामान्य कृषकले उत्पादन गरेका माना–पाथी जोडेर संकलन गरिएका हुन्।
स्थानीय हावापानीमा उब्जिएका यी उत्पादनको माग आन्तरिक बजारमा मात्र नभई विश्वभर छरिएका नेपाली उपभोक्तामाझ पनि उत्तिकै छ। विश्व बजारमा देखिएको यही सम्भावनालाई मध्यनजर गर्दै म्याग्दी प्रवासी नेपाली संघ (मोना) द्वारा स्थापित ‘मोना म्याग्दी डेभलपमेन्ट कम्पनी प्रालि’ले ‘स्थानीय उत्पादन संकलन केन्द्र’ सञ्चालनमा ल्याएको छ।
गाउँघरमा उत्पादन हुने रैथाने कृषि उपजलाई संकलन, प्रशोधन र प्याकेजिङ गरी विश्व बजारमा पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको युरोस्टार सुपरमार्केट (बेल्जियम) का सञ्चालक शिवकुमार बरुवालले बताए। उनका अनुसार युरोस्टारले हाल युरोपका विभिन्न देशमा सञ्चालित नेपाली पसल र रेस्टुरेन्टहरूमा खाद्य सामग्री आपूर्ति गर्दै आएको छ।
युरोपमा मात्र होइन, कम्पनीले यहाँका रैथाने उत्पादनलाई अमेरिका, जापान र कोरियाका उपभोक्तासम्म पुर्याउन ती देशका स्थापित व्यवसायीहरूसँगको सहकार्यमा संकलन र प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ।
मोना म्याग्दी डेभलपमेन्टका अध्यक्ष एवं हङकङका व्यवसायी प्रकाश पुन भन्छन्, “म्याग्दी हाम्रो जन्मस्थल भएकाले यहाँका कृषकलाई रैथाने खेतीमा प्रोत्साहन गर्न हामीले खरिदको ग्यारेन्टी गरेका छौँ। म्याग्दी मात्र होइन पर्वत, बागलुङ र लमजुङबाट ल्याइएका गुणस्तरीय उपज पनि हामी उचित मूल्यमा खरिद गर्छौँ। कृषकलाई रित्तै हात पठाउँदैनौँ।”

कोसेलीघरको अवधारणाले ग्रामीण महिलालाई आर्थिक रूपमा सशक्त बनाउन समेत ठूलो भूमिका खेलेको छ। लघु उद्यम विकास कार्यक्रम म्याग्दीमा लामो समय काम गरेकी मालिका गाउँपालिकाकी पूर्वउपाध्यक्ष खरमाया बिटालुका अनुसार ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले यो अभियान शुरू गरिएको हो।
“लघुउद्यम कार्यक्रमअन्तर्गत समूहमा आबद्ध महिलाले सिस्नुको धुलो र टिमुरको चटनी बनाउन थालेपछि त्यसको बजार खोज्ने क्रममा कोसेलीघरको अवधारणा आएको हो,” बिटालु भन्छिन्, “कृषकले घरमा आवश्यक अन्न राखेर उब्रेको थोरै उपज होस् वा समूहमा उत्पादित फसल, त्यसलाई ब्रान्डिङ गरेर बजार पुर्याउने काम कोसेलीघरले गरेका छन्।”
अहिले सदरमुकाम बेनीमा पाँच वटासहित जिल्लाका सबै स्थानीय तहका केन्द्रहरूमा पनि यस्ता संकलन केन्द्रहरू सञ्चालनमा छन्। यी लोकल मार्ट तथा कोसेलीघरहरू किसानका साना–साना माना–पाथीलाई जोडेर बनाइएका ‘स्वादका संग्रहालय’ जस्तै बनेका छन्।
शहरको स्वादमा पूरै भिज्न नसकेका र गाउँको खान्कीको स्वाद नबिर्सेका उपभोक्ता नै रैथाने उपजका मुख्य ग्राहक हुन्। अर्गानिक खानपानका पारखीहरू टाढा–टाढाबाट धाएरै पनि यस्ता सामग्री किन्न पुग्छन्। यस्ता पारखीहरू जब नयाँ ठाउँको भ्रमणमा निस्कन्छन्, तब त्यहाँका रैथाने र जैविक उत्पादनहरू महँगो मूल्य तिरेरै भए पनि खरिद गर्न आतुर देखिन्छन्।
बेनी कोसेलीघरकी सञ्चालिका कमला पौडेल भन्छिन्, “जो जहाँ बसे पनि स्वादको पारखी भयो भने रैथाने उपज थोरै भए पनि किन्छ। कोसेलीघरमा कसैले चार माना वा एक पाथी मात्र पनि बोकेर आउँछन्, हामी खुसीसाथ खरिद गर्छौँ।”
पछिल्लो समय लोकल मार्ट वा कोसेलीघर सञ्चालन गर्न रु ५ देखि १० लाखसम्म लगानी गर्ने गरिएको छ। अन्य पसलमा जस्तो उधारोमा सामान ल्याएर पछि भुक्तानी गर्ने सुविधा यहाँ हुँदैन। धौलागिरि कोसेलीघरकी मीना राम्जालीका अनुसार व्यावसायिक रूपमा सञ्चालित भए पनि कोसेलीघरको लगानी व्यवस्थापन निकै चुनौतीपूर्ण छ। कृषकबाट थोरै परिमाणमा वस्तु खरिद गर्नुपर्ने भएकाले तत्कालै नगदै कारोबार गर्नुपर्ने बाध्यता हुन्छ।
सिमी, भाँगो र सिलमजस्ता वस्तुको माग बढी भएकाले कृषकलाई कहिलेकाहीँ अग्रिम पेस्कीसमेत दिनुपर्ने राम्जाली बताउँछिन्। अन्य खाद्य वस्तुको तुलनामा रैथाने र अर्गानिक उपजको खरिद मूल्य महँगो हुने भएकाले लगानी व्यवस्थापनमा मुस्किल पर्ने गरेको उनको अनुभव छ। “बजार सधैँ एकैनासको हुँदैन। कहिलेकाहीँ व्यापार ठप्प हुन्छ त कहिले बाहिरबाट भ्रमण टोली आउँदा पसलका सामान एकैपटक झ्याप्पै बिक्री हुन्छन्,” उनी भन्छिन्।
राम्जालीका अनुसार छिर्केमिर्के सिमी अन्नपूर्ण–१ दोवाबाट आउँछ। त्यस्तै, कालो सिमी र फापर मुस्ताङबाट, टिमुर तोरीपानीबाट, भाँगो रुम, पात्लेखेत र डढुवाबाट आउँछ। चामल बाबियाचौर क्षेत्रबाट र भीरमह तथा रातो च्याउ गुर्जाबाट ल्याइने गरिएको छ।
खेतबारीमा उत्पादन भएको सानो परिमाणको अन्नपात मात्र होइन, लेकाली प्राकृतिक हावापानीमा सिजनअनुसार वनपाखामा आफैँ उम्रने निउरो, ढकायो, निगालाको टुसा र रातो च्याउ बेचेर पनि स्थानीयले आम्दानी गरिरहेका छन्। धौलागिरि गाउँपालिका–४ मुदी, बगराकी राममाया पुनले यस सिजन (जेठ–असोज) मा मात्र निउरो, टुसा, ढकायो र रातो च्याउको सुकुटी बेचेर ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिन्।
पुन भन्छिन्, “जेठ लागेपछि साउनसम्म जंगली वनस्पति टिप्छौँ र असोज–कात्तिकमा बेच्न लैजान्छौँ। खेती गर्नु पनि पर्दैन, गाईबाख्राले खाइदेला भन्ने डर पनि हुँदैन। झरीबादल र जुकाको टोकाइ खप्ने जाँगर भए वनभरि पैसा फलेको छ।”
म्याग्दीका कोसेलीघरहरूमा बिक्री हुने प्रमुख सामग्रीमध्ये गुन्द्रुक पनि एक हो। गुन्द्रुक बेचेरै यहाँका गृहिणीले मनग्य आम्दानी गर्छन्। मंगला गाउँपालिकाको हिदी र टोड्के, मालिकाको दुखु, बेनीको वाखेत र पात्लेखेत तथा पर्वतको शालिजा क्षेत्रका गृहिणीले व्यावसायिक रूपमै गुन्द्रुक उत्पादन गर्छन्।
सामान्यतया बिक्री नभएर वा घरमा खाएर उब्रेको हरियो साग छिप्पिएर खेर फाल्नुभन्दा त्यसलाई गुन्द्रुक बनाएर बेमौसममा खाने पुरानो चलन हो। तर, अचेल यही गुन्द्रुक म्याग्दीका महिलाको व्यावसायिक आम्दानीको माध्यम बनेको छ। यसरी गुन्द्रुकको व्यावसायिक उत्पादन गर्नेमध्ये एक हुन्— मंगला गाउँपालिका–१ हिदीकी नरमाया रोका मगर।
उनले मुला बिक्री गरेर र मुलाको धजेरा (चिरेर बनाइएको सुकुटी) बनाएपछि बाँकी रहेको सागलाई खेर जान दिन्नन्। “हाम्रो क्षेत्रमा मुला खेती निकै राम्रो हुन्छ,” उनले भनिन्, “मुला बेचेर उब्रेको सागबाट गुन्द्रुक बनाई बिक्री गर्दा अघिल्लो वर्ष मात्रै पाँच हजार रुपैयाँ अतिरिक्त कमाइ भयो।”
गुन्द्रुक प्रायः सबै प्रकारका सागसब्जीबाट बनाउन सकिन्छ। तर, बजारमा जंगली वनस्पति ‘ढकायो’ र मुलाको गुन्द्रुकको माग सबैभन्दा बढी छ।
बजारमा विशेष माग उच्च रहे पनि ढकायो संकलन गर्न भने निकै मिहिनेत गर्नुपर्छ। बाँको प्रजातिको यो वनस्पति जेठ र असारको पहिलो सातासम्म उच्च लेकाली भेगका जंगलमा पुगेर संकलन गरिन्छ। अचेल प्रायः सबै लेकाली वस्तीका महिला ढकायोको गुन्द्रुक बनाएर व्यावसायिक लाभ लिनतिर आकर्षित भएका छन्।
बेनीस्थित धौलागिरि कोसेलीघरकी सञ्चालिका मीना राम्जालीका अनुसार, सिजनमा एकै जना महिलाबाट १० हजार रुपैयाँसम्मको गुन्द्रुक कोसेलीघरले खरिद गर्ने गरेको छ। “हामीले मात्र होइन, उनीहरूले अन्यत्र पनि बेच्छन्,” राम्जालीले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
