एमाले निर्वाचन: लाइनमै लागेर मतदान गर्न असहज भएपछि कुपन लागू

बिहानैदेखि घन्टौँसम्म लाइनमा लाग्दा मतदातालाई असहज बनेपछि कुपन वितरण गरिएको हो।

काठमाडौँ– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ।

बिहान ९ बजेर १२ मिनेटदेखि मतदान शुरू भएको थियो। बेलुकी साढे ८ बजेसम्म एक हजार १२० मत खसेको छ। अझै ५० प्रतिशतभन्दा बढी मत खस्न बाँकी छ।

एमाले निर्वाचन आयोगले मतदान गर्न मतदातालाई समय लागेपछि कुपन प्रणाली लागू गरेको छ। बिहानैदेखि घन्टौँसम्म लाइनमा लाग्दा मतदातालाई असहज बनेपछि कुपन वितरण गरिएको हो।

जस अनुसार एकदेखि एक सयसम्म प्रत्येक लटमा मतदातालाई मतदान गर्न दिइएको छ। कुपन लिएर आफ्नो पालो आएपछि मात्रै मतदाताले मतदान गरिरहेका छन्। कुपन लागू भएपछि सहज भएको मतदाताहरूको अनुभव छ। अपाङ्ग, अशक्त र बिरामीको हकमा भने लाइन लाग्न नपर्ने व्यवस्था गरिएको छ। 

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले आफूहरूले एकजना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने अनुमान गरे पनि समय धेरै लागेकाले ढिलाई भएको बताए। उनका अनुसार कतिपय मतदातालाई मतदान गर्न एक घन्टाभन्दा बढी पनि लागेको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओलिलाई एकघन्टा १२ मिनेट र ईश्वर पोखरेललाई एक घन्टा ५ मिनेट समय लागेको पनि उनले जानकारी दिए। दुवै प्यानलका उम्मेदवारका सूचि लिएर हेर्दै मतदान गर्न थालेका कारण ढिलाइ भएको उनी बताउँछन्।

एमाले नेता राजेन्द्र गौतमका अनुसार भोटिङ मेसिनको साक्षरता लगायतका कारणले पनि मतदान गर्न केही बढी समय लागेको हो।

एमालेको यस ११औँ महाधिवेशनबाट दुई हजार २६३ महाधिवेशन प्रतिनिधिले ३५१ उम्मेदवार चयन गर्नेछन्। पदाधिकारी, केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगसहितका लागि ६२२ जना उम्मेदवार छन्।