नेपाल अफगानिस्तानसँग पराजित

यू–१९ एशिया कप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

काठमाडौँ– १९ वर्षमुनि (यू–१९)को एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।

दुबईमा आज एशिया कप अन्तर्गत समूह ‘बी’ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले ६१ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै ओस्मान सादातले २८ रन जोडे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे। नेपालका अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमै सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए। चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे। अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २–२ विकेट हात पारे। यस हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नेपाल श्रीलंका र बांग्लादेशसङ पराजित भएको थियो।