नेता ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएको बेला आफ्नै समूहमा बढेको असन्तुष्टि मत्थर गरेर नजाँदा चुनावी परिणाममा असर पर्ने देखेर ओली समूहले रणनीतिक रूपमा दबाब अभियान चलाएको छ।
काठमाडौँ– नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनको मतदानअघि निवर्तमान अध्यक्ष केपी शर्मा ओली समूहले आफ्नो टिमका असन्तुष्ट पक्षलाई मनाउन थालेको छ।
सोमबार ओली प्यानलबाट उम्मेदवारमा नपरेपछि केही नेताहरू असन्तुष्ट भएका छन् भने केहीले नेतृत्वको निर्णय विरुद्ध उम्मेदवारी दर्ता गरिसकेका छन्। बिहानैदेखि ओली र उनको टिमका नेताहरूले असन्तुष्ट र स्वतन्त्र उम्मेदवारी दिएकालाई भेटेर उम्मेदवारी फिर्ताको घोषणा गर्न र आफ्नो समूहको प्रचार प्रसारमा हिँड्न दबाब दिइरहेका छन्।
सोमबार उपमहासचिवमा उम्मेदवारी दिन नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई लिखित र सामाजिक सञ्जाल मार्फत् नै उम्मेदवारी फिर्ता भएको घोषणा गर्न लगाइएको छ।
“गुन्डुबाट टेलिफोन आएपछि कुराकानीमा उम्मेदवारी फिर्ता भएको निर्णय सार्वजनिक गर्न बाध्य भएको हुँ,” गौतमको भनाई उद्धृत गर्दै उनी निकट एक नेताले भने, “नेतृत्वलाई असहज भएका बेला विद्रोह गर्नु भोलि राम्रो हुँदैन भनेपछि फिर्ता लिएको निर्णय गर्नुपर्यो।”
उनले उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जाल मार्फत् घोषणा गरे पनि उम्मेदवारको अन्तिम नामावलीमा नाम भने प्रकाशन भइसकेको छ र उक्त नाम विद्युतीय भोटिङ मेसिनमा पनि सूचिकृत भइसकेको छ। उनी अहिले ओली समूहको प्रचार प्रसारमा जुटिसकेका छन्।
सोमबार ओली समूहले उपाध्यक्षमा प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, ज्ञवालीले महासचिवभन्दा अर्को पदमा उम्मेदवारी नदिने भन्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए। ज्ञवालीको विद्रोहले ओली समूहलाई ठूलो असर पर्ने आकंलनबीच रातारात ओलीले ज्ञवालीलाई सार्वजनिक रूपमा प्रचार गर्न दबाब दिए। आफू निकट नेताहरूलाई ज्ञवालीको निवासमा भेट्न नै पठाए।
नेता सूर्य थापा, राजेन्द्र अर्याल लगायत मंगलबार बिहानै ज्ञवालीलाई भेट्न उनको निवास पुगेका थिए। सोमबार असन्तुष्ट भएर महाधिवेशनस्थलबाट बाहिरिएका ज्ञवालीले मंगलबार बिहानै ओली समूहलाई विजय गराउन आग्रह गर्दै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले उनी भृकुटीमण्डपमै पुगेर ओली र उनका समूहका उम्मेदवारको प्रचारमा खटिएका छन्।
ओली, महासचिवका उम्मेदवार शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताले असन्तुष्ट र स्वतन्त्र उम्मेदवारी दिएका नेतालाई मनाउने प्रयास जारी राखेका छन्। ओली समूहले उपाध्यक्षमा उम्मेदवारी दिएका भीम आचार्य, सचिवमा उम्मेदवारी दिएका लालबाबु पण्डितदेखि अन्य नेतालाई नेतृत्वको पक्षमा उभिन दबाब दिइरहेको एक नेताले जानकारी दिए।
“ओली कमरेडदेखि अन्य नेताहरूले उम्मेदवारी दर्ता गरे पनि लिखित र सामाजिक सञ्जाल मार्फत् फिर्ता लिएर सहयोग गर्नुस् भनिरहनुभएको छ,” पदाधिकारीमा उम्मेदवारी दिएका एक नेताले भने, “हामी के गर्ने भन्ने छलफलमै छौं।”
स्वतन्त्र रूपमा पदाधिकारीमा उम्मेदवारी दिएकाहरूले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छन्। उनीहरूलाई भोलि केन्द्रीय सदस्यमा निर्वाचित भएमा स्थायी कमिटीदेखि पोलिटब्युरोसम्म बढुवा गर्ने लगायतका आश्वासन ओली पक्षले दिइरहेको छ।
नेता ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएको बेला आफ्नै समूहमा बढेको असन्तुष्टि मत्थर गरेर नजाँदा चुनावी परिणाममा असर पर्ने देखेर ओली समूहले रणनीतिक रूपमा दबाब अभियान चलाएको हो। ओली समूहबाट विद्रोह गरेर प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नै दिएनन् भने, कृष्णगोपाल श्रेष्ठ जो ओलीलाई पार्टीभित्र र बाहिर समस्या पर्दा सधैं साथ दिने गर्थे। उनी यो महाधिवेशनमा सचिवमा चुनाव लड्न चाहन्थे तर ओलीले उनलाई उम्मेदवार नै बनाएनन्। जसबाट उनी असन्तुष्ट बने र संस्थापन इतर समूहमा लागे। उनले ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन्।
त्यस्तै उपाध्यक्षमा उम्मेदवार बन्न नपाएपछि असन्तुष्ट बनेका नेता रघु जी पन्तले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। त्यस्तै ओली प्यानलबाट विद्रोह गरेर नेता लालबाबु पण्डितले पनि सचिवमा उम्मेदवारी दिएका छन् भने नेता भीम आचार्यले पनि स्वतन्त्र रुपमा नै उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
ओलीसँग नजिक भनिएका अन्य नेताहरू पनि ईश्वर पोखरेल समूहमा खुलेर लागेका छन्। यस्तै ओलीको उम्मेदवारी चयनमा असन्तुष्टि जनाउँदै नेता अग्नि खरेलले पनि स्वतन्त्र रुपमा सचिवमा उम्मेदवारी दर्ता गराएका छन्। उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए।
ओली पक्ष प्रचारमा र पोखरेल समूह प्रतिनिधि भेटमा केन्द्रित
नयाँ नेतृत्व चयनका लागि मंगलबार चुनावको समय निर्धारण गरिएको छ। त्यसको पूर्वसन्ध्यामा भृकुटीमण्डप बाहिर ओली पक्षले प्रचार प्रसारलाई आक्रामक बनाएको छ। भने पोखरेल समूहले बन्दशत्र भित्र प्रतिनिधि भेटघाटलाई तीव्र पारेको छ। ओली पक्षले प्रचारप्रसारलाई फरक फरक शैलीमा प्रस्तुति गरिरहेको छ।
सोमबार राति एमाले निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि अहिले उम्मेदवारको नामावली विद्युतीय भोटिङ मेसिनमा सूचिकृत गर्ने काम भइरहेको छ। उक्त नामावली सूचिकृत हुन समय लाग्ने भएकाले ५ बजेदेखि मात्र चुनाव हुने बुझिएको छ।
एमाले निर्वाचन आयोगले सोमबार राति अन्तिम नामावली प्रकाशन गरेर उक्त विवरण निर्वाचन गराउने जिम्मा पाएको रामलक्ष्मण इनोभेसनलाई दिएको छ। उम्मेदवारको नाम उपकरणमा राखिसकेपछि मतदानको प्रक्रिया अगाडि बढ्ने बताइएको छ। एक जनालाई ३० देखि ३५ मिनेट समय लाग्ने बुझिएको छ।
निर्वाचन गराउन ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने भएको छ। एमालेको महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
