एमालेको नयाँ नेतृत्वका लागि आज मतदान: ८० 'ई-भोटिङ मेसिन'को प्रयोग

नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ।

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ।

नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ। 

उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ। एमालेले यसपटक महाधिवेशनमा ८० वटा विद्युतीय मतदान उपकरण (ई-भोटिङ मेसिन)को प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो।

यो पनि: ओलीले नेता व्यवस्थापन गर्न विधान उल्ट्याए, उनकै समूह रहेन एकढिक्का

मतदान स्थल भृकुटीमण्डप तोकिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार आज मध्यान्न १२ बजे देखि मतदान हुनेछ। तर प्राविधिक तयारी सम्पन्न गर्दा केही ढिला हुन सक्ने प्राविधिकहरूले बताएका छन्।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए। “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ,” उनले भने, “तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ।”

अध्यक्ष पदमा सहमति नजुटेपछि अन्य पदहरूमा पनि प्रतिस्पर्धा बढेको छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी दर्ता भएपछि दुवै प्यानलबाट अन्य पदहरूमा समेत उम्मेदवारी परेको छ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ।

मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।