एनपीएलको दोस्रो संस्करण सम्पन्न भएसँगै यसमा उच्चस्तरको प्रदर्शन गरेका खेलाडीहरूले आउँदो टी२० विश्वकप प्रतियोगिताका लागि राष्ट्रिय टोलीको ढोका ढकढक्याएका छन्।
काठमाडौँ- नेपालले २०२६ फेब्रुअरीबाट भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्न लागेको आईसीसी टी२० विश्वकपमा सहभागिता जनाउँदै छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भर्खरै सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल वेस्ट इन्डिज, बांग्लादेश, इंगल्यान्ड र इटली भएको समूह ‘सी’ मा परेको छ।
विश्वक्रिकेटका शक्तिराष्ट्रसँगको प्रतिस्पर्धाका लागि नेपाली टोलीका खेलाडी प्राविधिक रूपमा मात्रै होइन, मनोवैज्ञानिक रूपमा पनि तयार हुनुपर्ने हुन्छ। विश्वकप नजिकिँदै गर्दा नेपालमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो छाप छोडेको छ। पुरानासँगै नयाँ खेलाडी पनि 'एक्स्पोजर'को मौका पाएका छन्।
यस वर्षको एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्यो। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९.१ ओभरमा ८५ रन बनाएर सबै विकेट गुमायो, जसलाई लुम्बिनीले ९ ओभरको समाप्तिमा ४ विकेट गुमाएर सहजै समेट्यो।
फाइनलमा राष्ट्रिय टिमका समेत कप्तान रहेका लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिकसहित ३ विकेट लिए। शेर मल्लले र नामिवियन क्रिकेटर रुवेन ट्रम्पलम्यानले पनि समान ३ विकेट र तिलक भण्डारीले १ विकेट लिए। ब्याटिङ ओपनिङ गर्न आएका दिनेश अधिकारीले १३ बलमा ४२ रन बनाउँदा लुम्बिनीले सहज विजय भेट्टायो।

पहिलो सिजनमा विदेशी खेलाडीले बलिङ र ब्याटिङ दुवैमा उच्च प्रदर्शन गरेका थिए। त्यसबेला बलिङमा नेपालका ललित राजवंशीले १७ विकेट, किशोर महतोले १४, विपिन शर्माले १३, रिजन ढकालले १३, र करण केसीले १२ विकेट लिएका थिए। अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले ९ विकेटसहित २२७ रन, रोहित पौडेलले ८ विकेटसहित २७९ रन र बसिर अहमदले ६ विकेटसहित १८१ रन जोडेका थिए। विकेटकिपर ब्याटर विनोद भण्डारीले २३५ रन बनाएका थिए।
एनपीएलको दोस्रो सिजनमा नेपाली खेलाडी बलिङ र ब्याटिङ दुवैतर्फ अब्बल देखिए। पहिलो सिजनमा जस्तै विनोद भण्डारीको प्रदर्शन अब्बल रह्यो, भलै फाइनलमा 'डक आउट' भएका थिए। उनले प्रतियोगिताभरि नौ खेलमा २६४ रन बनाए।
एनपीएलमा राष्ट्रिय टोलीका केही खेलाडी लयमा देखिए। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले राम्रो प्रदर्शन गरे।
बलिङतर्फ सन्दीप लामिछाने, अविनाश बोहरा र शेर मल्ल समान १७-१७ विकेटका साथ शीर्ष स्थानमा रहे। शाहब आलमले काठमाडौँ गोर्खाज र पोखराबीचको खेलमा ६ विकेट लिँदै एनपीएलमा एकै खेलमा धेरै विकेट लिने कीर्तिमान बनाए।

ब्याटिङतर्फ उत्कृष्ट इंगल्यान्डका विकेटकिपर र ब्याटर आडम रोसिङ्टोनपछि नेपालका लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारी छन्। धेरै रन बनाउनेको तालिकामा विनोदभन्दा माथि रहेका रोहितले २७६ रन बनाए।
लुम्बिनीलाई प्लेअफबाट फाइनलसम्मको यात्रा गराउन महत्त्वपूर्ण भूमिका खेले शेर मल्लले। प्लेअफबाटै बाहिरिने अवस्था हुँदै गरेको लुम्बिनीलाई खेलमा फर्काउन मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि टोलीले उपाधि नै जित्यो। उनले फाइनल खेलमा पनि सुदूरपश्चिमविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। लगातार दुई सिजन दुई फरक टोलीबाट च्याम्पियन बनेर उनले एनपीएल इतिहासमा आफूलाई सफल खेलाडीका रूपमा स्थापित गरेका छन्।
गत सिजनमा अविनाश बोहरा र शेर मल्ल दुवैले समान ७-७ विकेट लिएका थिए। यसपटक पनि उनीहरूले समान १७-१७ विकेट लिएर दुवैले राष्ट्रिय टोलीको ढोका ढक्ढक्याएका छन्।

एनपीएलको दोस्रो संस्करण सफलताका साथ सम्पन्न भएसँगै, यसमा उच्चस्तरको प्रदर्शन गरेका खेलाडीहरूलाई विश्वकपमा अवसर दिनुपर्ने दबाब छनोट समितिमा परेको छ। आठ वटै फ्रेन्चाइज टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूका लागि राष्ट्रिय टोलीमा ढोका खुल्न सक्ने सम्भावना छ। यद्यपि, कुनै पनि महत्त्वपूर्ण प्रतियोगितामा खेलाडी छनोट गर्दा छनोट समितिबाट मात्रै नभएर कप्तान, कोचलगायतको सल्लाह महत्त्वपूर्ण हुने छनोट समितिका संयोजक एलबी क्षेत्री बताउँछन्।
“विश्वकप भनेको हाम्रोजस्तो देशका लागि ठूलो लक्ष्य हो। खेलाडीलाई जुनस्तरको सेवासुविधा र लगानी लगाएर यो अवस्थामा क्रिकेट पुगेको छ, त्यसलाई मध्यनजर गरेर नै खेलाडी छनोटको प्रक्रिया हुन्छ,” उनले भने।
क्षेत्रीका अनुसार, सीमित स्रोतसाधनका बाबजुद विश्वकप खेल्ने खेलाडी तयार गर्न लामो समय लाग्ने भएकाले अहिले एक/दुईवटा खेल राम्रो खेल्दैमा त्यसैलाई मात्रै आधार बनाएर छनोट गर्न मिल्दैन। लक्ष्यमा पुग्नका लागि सीमित खेलाडीलाई मुख्य केन्द्रमा राखेर तालिम र प्रशिक्षणमा लगानी गर्नुपर्ने भएका कारण पनि धेरै फेरबदल गर्न नमिल्ने उनको तर्क छ।

“हामी सबैको चाहना नेपाल क्रिकेटको राम्रो भविष्य होस् भन्ने हो। जुन ठाउँका लागि जुन खेलाडी उपयुक्त हुन्छ, टोलीलाई जुन खेलाडी आवश्यक छ, त्यसैको आधारमा खेलाडी छनोट हुन्छ,” उनले भने।
कोचले टोलीमा खेलाडी परिवर्तन आवश्यक देखेको अवस्थामा, विश्वकप हुने प्रतियोगिताको पिच कन्डिसन (पिचको अवस्था), विकेट कस्तो प्ले हुन्छ र बल बाउन्स हुने फ्ल्याट वा हार्ड पिच हो भन्ने जस्ता प्राविधिक आवश्यकताहरू कोचले प्रस्तुत गर्छन्। त्यसैको आधारमा खेलाडी छनोट गरिने क्षेत्रीले बताए। “यो टिम खेल हो। कसैले कति रन हान्यो वा कति विकेट लियो भन्दा पनि, उसले टोलीसँगको मनोविज्ञानलाई कसरी साथ दिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
