लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो संस्करणको च्याम्पियन

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि जितेको छ।

काठमाडौँ– काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले जितेको छ। प्रतियोगिताको लिग चरणबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनीले पुनरागमन गर्दै एनपीएलको उपाधि जित्न सफल भएको हो।

सुदूरपश्चिम भने उपाधि होडमा दोस्रो पटक चुकेको छ। यसअघि एनपीएलको पहिलो सिजनमा पनि जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो।

शनिबारको फाइनल खेलमा जितका लागि ८६ रनको सामान्य लक्ष्य पाएको लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर ८६ रन बनायो। लुम्बिनीले ६६ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो। 

लुम्बिनीको जितमा दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ४२ रन बनाए। त्यसैगरी, कप्तान रोहित पौडेलले १२ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे। डी'आर्सी सर्टले १४ रन बनाउँदा निरोशन डिकवेला ११ रनमा नटआउट रहे।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो।

ब्याटिङतर्फ सुदूरपश्चिमका लागि ईशान पाण्डेले ५१ बलको सामना गर्दै एक चौकासहित सर्वाधिक ३३ रन को योगदान दिए। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/१० रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बलिङमा लुम्बिनीका बलरहरूको प्रदर्शन उत्कृष्ट रह्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिएका छन्। योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन्। यसअघि, काठमाडौँ गोर्खाजका साहब आलमले पहिलो ह्याट्रिक गरेका थिए।

रोहितबाहेक, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले पनि समान तीन/तीन विकेट लिए। यस्तै, टीका भन्डारीले १ विकेट लिए। 

विजेता लुम्बिनीले उपाधिसहित एक करोड १० लाख प्राप्त गर्‍यो भने उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा आफ्नो यात्रा टुंग्यायो।