काठमाडाैँविरुद्ध ४ विकेटको जित हात पार्दै लुम्बिनी दोस्रो क्वालिफायरमा

यस खेलको विजेता टोली लुम्बिनीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा काठमाडाैँ गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले ४ विकेटको जित हात पारेको छ।

काठमाडाैँले दिएको ११२ रनको लक्ष्य पक्ष्याएको लुम्बिनीले १४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा जित हात पारेको हो। लुम्बिनीका लागि डी आरसी सर्टले सर्वाधिक ३३ रन बनाए। सन्दीप जोराले २३ र क्याप्टन रोहित पाैडेलले १८ रन बनाए। काठमाडाैँका लागि सन्तोष यादवले सर्वाधिक २ विकेट लिए भने रसिद खान, करण केसी, साहब आलम र सनी पटेलले समान १ विकेट लिए। 

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो।

काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए। त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए। कप्तान करण केसी नौ रनमा आउट भए।

यता काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान ३/३ विकेट लिए। यस्तै ट्रम्पलम्यानले २ विकेट लिए भने अभिशेष गौतमले १ विकेट झारे।

यो हारसँगै काठमाडाैँ प्रतियोगिताबाट बाहिरिएको छ। यस खेलको विजेता टोली लुम्बिनीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।