भावना र स्मृतिका कारण सबैलाई गाउँ प्यारो लागे पनि सुविधा र सहजताका कारण अधिकांशले शहर रोजेको देखिन्छ। रहर र लहर हेर्दा यो कसैले थाम्न सक्ने देखिँदैन।
पूर्वी नेपालको कुनै गाउँमा जन्मेका क्यानडा निवासी एक व्यक्ति। डेढ दशक बढी उतैको प्राज्ञिक रोजगारी र बसोबास। पक्कै उतैतिर पासपोर्ट र नागरिकता पाए होलान्। उमेरले ५०-५५। जीवनको दौडधुप, बिहे, शिक्षा, जागिर, सन्तानोत्पादन र तिनको बिहेवारि गरीवरी आफ्नै जन्मघर पुनर्दर्शन गर्न तिनलाई २० वर्ष लागेछ। जन्मघर भन्नु नै के, बाआमाले समेत छाडेको पुरानो सगोलको घर। घर भन्नु पनि के, मक्किएका काठ, चर्केका ढुंगामाटा र पर्खाल। बुट्यान र झारपात पलाइरहेका पिँढी र आँगन। एउटा गहिरो स्मृतिको अवशेष।
आफू जन्मेको ठाउँ, आफू खेलेको गाउँ। लडे-दौडेका बाल्य सम्झना। गोठालो जाँदा, घाँस काट्न जाँदा हिँडेका र खुँदेका पाइलाको याद। काफल-ऐँसेलु-तिँदु-पानी अमला। बोटबिरुवा, खोल्छो, दोबाटो, खोला र ढिस्कोको समेत सम्झना हुँदो हो। फलानो ठाउँको मूलको पानी मिठो, फलानो बोटको फलानो फल स्वादिलो। बिज्याइँ गरेका क्षणका याद। बाघ, स्याल, सर्प, बिच्छी आदि देख्दा 'सातो गएको' बाल्यस्मृति। खेतीपाती, मेलापात र गोठालाका गहिरा स्मृति।
तिनको मन पनि 'मातृस्थल/पितृस्थल' देख्दा द्रवीभूत भयो। स्वाभाविक हो। कसको हुँदैन? ‘माइतीगाउँको कुकुर पनि प्यारो’ भन्छन्। (गुनिलो प्राणी 'कुकुर'लाई सबैभन्दा तुच्छ ठान्ने र गालीगलौजमा कुकुर-सुँगुर आदि 'विशेषण' जोड्ने हाम्रो मनोविज्ञानबारे अर्कै लेखमा चर्चा उचित होला।), आफ्नै गाउँ नै पुग्दा किन नहोस्?
सबैलाई झैँ लेखकलाई जन्म/हुर्केको गाउँ सम्झँदा भावनाले हुरुक्क पार्छ। जन्मे-खेलेका डाँडापाखा, जंगल, बुट्यान, बाल्यसखा सबै बोकेर शहरतिर ल्याउन पाए अथवा आफूसँगै बोकेर हिँड्न पाए कति गजब हुँदो हो भन्ने उडन्ते कल्पनाले थिचिरहन्छ। त्यही तलतल मेट्न म बडो कठिनले काठमाडौँबाट मात्रै २ घण्टा दुईपांग्रे दुरीको जन्मस्थल पुग्छु। एकदुई वर्षमा मात्र साइत जुर्छ कहिलेकाहीँ त। स्मृति, भावना र सपना प्राय: जन्म गाउँमै जरो गाडेर बस्न रमाउँछन्।
उमेर बढ्दै गएपछि जिम्मेवारीले थिचेर मान्छेले जीवनको स्वाद बेफिक्री लिन पाउँदैन क्यार! शायद त्यसैले पनि होला, निस्फिक्री र मनमौजी बाल्यकालका ‘नस्टाल्जिया’ले धेरैजसोलाई भावुक बनाएको बुझिन्छ। बाल्यकाल हुन्छ नै त्यस्तै। ज्ञान कम, उत्साह र उमंग बढी। वयस्क जीवनलाई अनेक जिम्मेवारीले थिचेका कारण त्यसबाट निवृत्तिका लागि पनि मान्छे शायद विगत फर्कन रुचाउँछ। विडम्बना, विगतमा फर्कन पाइँदैन। कल्पनाको उडान त जसरी पनि गर्न पाइयो।
क्यानडा निवासी ती सज्जनलाई पनि गहिरोसँग बाल्यस्मृतिले गाँज्यो र बाल्य सम्झना सञ्जालमा पोखे। उही कुरो–गाउँ अब गाउँ रहेन, गाउँले गाउँले रहेनन्। मोही पार्ने ठेकी र मदानी रहेन। जोत्ने हली, गोरु, हलो र जुवा रहेन। गाउँलेहरू पहिलेझैँ निश्चल रहेनन्। तिनको सिधासाधापन हरायो, तिनको विनम्रता हरायो। धेरैले गाउँ छाडे र छाड्दै छन्। बरबादै भयो। झनै बरबाद हुँदैछ।
आफ्नो कुरा पोख्दापोख्दै उनी धेरै भावुक बने।
मान्छेको बसाइँसराइ र गाउँ–शहरको आर्थिक/सामाजिक रस्साकस्सीबारे हुने समाजशास्त्रीय विश्लेषण अलग कुरा, यस्ता रोदन अचेल मिडिया र सामाजिक सञ्जालमा प्रशस्त देखिन्छन्–तिनको चुरो कुरो हुन्छ–गाउँ पहिले गजबै थियो। एक आपसमा गाउँले मिलेर बसेका थिए। मिठोमसिनो बाँडेर खाएका थिए। खानेकुरा सबै ताजा थिए। अहिलेजस्तो अन्न, सागपात र फलफूलमा विषादी थिएन, आदि आदि।
केही सत्य, केही बकवास।
आफू खाजापानी बोकेर आरामदायी जिप चढेर कालोपत्रे सडक हुँदै गाउँ गएको छ, चाहिएको छ ढुंगेयुगको गाउँ। बाजेबराजुले गरेको कृषि छाडेर अर्कै धन्दा अपनाएको छ, फलानो घरमा छिर्दा मोही पिउन पाइएन, माथ्लो घरमा जोत्ने हलगोरु रहेनछ भन्ने गुनासो छ। आफू बसेको छ नेपालबाट हवाईजहाजबाट दुई दिन टाढा पर्ने पृथ्वीको अर्को ध्रुवको 'सेन्ट्रल हिटिङ सिस्टम'सहितको सुविधायुक्त आवासमा, यता नेपाली गाउँमा भने चाहिएको छ गोबर र माटोले लिपपोत गरेको घर। आफ्नो बाल्यकाललाई नै सृष्टिका पुराना दिन ठान्दै यस्ता मान्छेहरू पत्तो नपाईकन 'गोल्डेन एज फ्यालेसी बिलिभर' बन्न पुग्छन्।
विगत गजबकै थियो भन्ने खालका सामग्री अचेल सामाजिक सञ्जालमा प्रशस्त भेट्न पाइन्छन्। (राजतन्त्र राम्रो थियो भन्ने अन्धविश्वास पनि यही 'स्कुल अफ् थट'को एउटा कक्ष हो।) सर्वसाधारणले त्यस्ता सामग्री रुचाएको देखिन्छ। 'अतीतजीवी'हरूले उठाउने कतिपय कुरा सही भए पनि संसारका सबै अतीत समस्याग्रस्त थिए भन्ने ठम्याउन धेरै टाढा जानुपर्दैन। केही दशकअघि मात्रै सानातिना रोगले मान्छेको मृत्यु, सडक र सवारीसाधन अभावमा सुत्केरीहरूको बच्चा पाउने क्रममा हुने मृत्यु, अस्पताल र औषधिको अभावमा मान्छेको मृत्यु सामान्य विषय थियो। सञ्चारसाधन र सञ्चारको अभावमा गाउँबाट हराएको मान्छे वर्षौं बेपत्ता हुने कुरा सामान्य हुन्थ्यो।
जापानिज मिचुबिसी जिपमा बसेर कालोपत्रे सडक हुँदै गाउँ पुगेका यिनलाई कुनै परम् शक्तिले 'लौत त नि मनुवा, तिम्रो त्यस्तै इच्छा हो भने पुरानै जमानामा फर्किऊ' भनेर पुरानै युगमा फर्काइदिए भने आजै यिनको हालत कस्तो हुँदो हो! चर्पीबिनाको, बिजुली बत्तीबिनाको, राम्रो सिरोक र डसनासमेत नभएको त्यस विपन्न युगमा फर्केर त्यही मट्टितेलको टुकी बाल्न तयार हुन्थे होलान् यी सज्जन? झरी परिरहेको मध्यरातमा 'उधोउमो' हुँदा कुन हालत हुन्थ्यो त्यस युगमा? हेक्का राखेका होलान् यिनले?
ऐँसेलुका झ्याङमुनिका लुकामारी र काफलका बोटबोटका झुत्ती सम्झँदा गजबै लाग्छ। बाल्यकालका केही 'सेलेक्टेड सम्झना' मिठै हुन्छन्। भोकले खारिएका बेला मौकाले जुरेको खाजा खाँदाको त्यतिखेरको 'स्वाद'लाई अहिले सहजै प्राप्त कुनै कन्टिनेन्टल, अरबी या अमेरिकन डिसले जित्न सक्दैन। किन सक्दैन भने अब उतिखेरको भोक नै बाँकी रहेन। (भोकमरीको दर घटे पनि संसार र देशभित्रै पनि कतिपय विपन्न समुदायमा भोकमरी छ। पत्रकारिता पनि शहरतिरै बसाइँ सरेपछि फिँजारिएका गाउँवस्तीका विपन्नताबारे बिरलै खबर छापिने गरेका छन्।)
तर विकासे मल र अनाज नआएको समयमा एक दिनमा टन्न दुई छाक खानै धौ पर्ने समय ४० काटेको यस मनुवालाई मजैसँग याद छ। ५०/६०/७० काटेकाले त्यो भन्दा महाकाल काटे। भोकमरीका कारण जंगलका गिठ्ठाभ्याकुर खोज्ने र जंगलका सालका पालुवासमेत खानेहरूको अझै सम्झना गर्नुहुन्छ हाम्रा आमाहरू।
सन् १९४३ को बंगाल भोकमरी हामीबाट कति टाढा थियो र? (अनि हाम्रा भोकमरीबारे त इतिहास लेख्ने पनि शायदै कोही थियो।) हाम्रो हालतको चित्रण यही एउटा दृश्यले राम्रोसँग गर्ला—२० वर्ष अघिसम्म बिहानै कुनै गाउँ/देहातको मुखैमा पुग्दा मानव मलमूत्रको ताजा गन्धले खपीसाध्य हुन्थेन।
यद्यपि, अभावबीच पनि मुठ्ठीभर मान्छेको जीवन 'स्वर्ग' थियो। त्यसमाथि अधिकांश मान्छे त अभावबीच नै बाँच्न सिकिरहेको थिए। किनभने, ७० हजार वर्षयता आधुनिक मान्छे यसैगरी जिइरहेको थियो। तर संसार देखेको आजको मान्छे अभावबीच बाँच्न स्वीकार गरिरहेको छैन। त्यसै कारण ऊ संसारभर अवसरको खोजीमा दौडेको छ।
त्यो दर निरन्तर बढिरहेको छ भन्ने तथ्य बुझ्न डेटा खोज्न जानपर्छ जस्तो लाग्दैन। सक्रिय उमेरसमूहका मान्छे बिदेसिँदै गर्दा गाउँ अब पाका उमेरसमूहका मान्छे पनि क्रमशः शहरमै बढ्दै छन्।
भावना र स्मृतिका कारण सबैलाई गाउँ प्यारो लागे पनि सुविधा र सहजताका कारण अधिकांशले शहर रोजेको देखिन्छ। रहर र लहर हेर्दा यो कसैले थाम्न सक्ने देखिँदैन। मूल रूपमा सुविधा र जागिरकै खोजीमा हिँडेको हुन् सबै मान्छे। अरूभन्दा थप अब्बल र योग्य बन्न खोजिरहेका हुन् मान्छे। अरूभन्दा सम्पन्न र स्वस्थ्य बन्नै दगुरेको हो मान्छे।
गाउँसँगै देश छाड्ने अभ्यासले पारेको प्रभाव कति गम्भीर छ भने गाउँघरमा मान्छे बितेर तिनका सन्तान आइपुगुन्जेलसम्मका लागि शव राख्ने 'डिपफ्रिज'समेत किनिन थालेको छ कतिपय गाउँघरमा। पशुपतिको विद्युतीय शवदाहगृहमा झन्डै दुई दर्जन शव राख्न मिल्ने चिस्यान कक्ष २०७५ सालमै बनाइएको थियो।
यसो भन्दै गर्दा जन्मथलो (नुवाकोट तारकेश्वर ५-कालीमाटी) का धेरै आफन्त काठमाडौँ सर्दै हुनुहुन्छ। अमेरिकातिर नेपालीले फलानो नेपाली समाज बनाएझैँ कालीमाटीबाट काठमाडौँ आएकाहरूको समाज पनि झन्डैझन्डै बनिसक्यो। घोषणा गर्न मात्रै बाँकी छ।
अहिलेसम्म कालीमाटी जाँदा बोल्ने, बोलाउने र अभरमा ढुक्कले बस्न मिल्ने घर छन्, तर बस्ने भौतिक निवास भए पनि अबको केही वर्षमा कालीमाटी जानूपूर्व हाम्रो परिवारले निकै सोचविचार र पूर्वयोजनासाथ जानुपर्ने देखिइसक्यो।
"घर जाँदा पस्ने ठाउँ थियो। अब त उनी पनि हिँड्ने रे, उहाँ पनि जाने रे! अब कोसँग बोल्ने? कसलाई सम्झेर जाने?", यस्तो 'वार्तांश' निकट भविष्यमा धेरै दोहोर्याउने छौँ तपाईंहामीले।
…
यी तमाम यथार्थबीच विचित्रको मानव-मनोविज्ञान गहिरो गरी लुकेको महसुस हुन्छ–त्यो के भने, 'आफू सम्पन्न हुँ। सक्षम र सुकिलो हुँ। पसिना बगाएर, मैलोधैलो भएरै गाउँलेहरूले गाउँको 'कञ्चनपन' जोगाइदिइरहुन्, गाउँलेहरू सिधा-सरल भइरहुन्। तिनको विनम्रता र चोखोपन कायम रहिरहोस्। गाउँको 'कुमारीत्व' कायम गरिराखुन्। दुईचार पोका कोसेली दिएर आफू यसो दानी बनिटोपल्न पाइयोस्। गाउँ र गाउँले उस्तै रहुन्, झिल्के बनेर आफू बेलाबेला पुग्न पाइयोस्…।'
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
