काभ्रेको बेथानचोकस्थित सडक आयोजनाका मजदुरले १ वर्षदेखि पाएनन् ज्याला

पूर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर विकास गोलेले ६० जना मजदुरले १७ लाख ४० हजार रुपैयाँ पाउन बाँकी रहेको बताए।

काठमाडौँ– काभ्रेको बेथानचोक गाउँपालिका–५ च्याङ्सिखर्कस्थित स्याल्टीखोला–भन्ज्याङ–नागपोखरी सडक स्तरोन्नति आयोजनाका मजदुरले एक वर्षदेखि ज्याला पाएका छैनन्। 

निर्माण व्यवसायी बीचैमा काम छाडेर भागेपछि मजदुर अलपत्र परेका हुन्। ६० जनाभन्दा बढी मजदुरले १७ लाख रुपैयाँ पाउन बाँकी रहेको वडाध्यक्ष राजकुमार वाइवाले बताए।

पूर्वाधार विकास कार्यालय धुलिखेलले ६ करोड रुपैयाँ यो सडकको ठेक्का लगाएको थियो। २०७८ पुसमा निर्माणको जिम्मा पाएको टीआर कन्स्ट्रक्सनले अर्का व्यवसायी राजकुमार गोङ्वालाई जिम्मा दियो। राजकुमारले पनि काम गरेनन्। उनले थपन कन्स्ट्रक्सनलाई जिम्मा दिए। थपनले मात्र साइटमा गएर काम थाल्यो। तर, त्यही थपनका प्रोप्राइटर अमर लामा कामदारको ज्याला नदिई सम्पर्कविहीन भएका छन्।

उनीहरूले एक वर्षदेखिको ज्याला नपाएका हुन्। आयुष लामा र जंगबहादुर तामाङसहित करिब ६० जना मजदुरले १७ लाख ४० हजार रुपैयाँ पाउन बाँकी देखिएको कार्यालयको उक्त सडक हेर्ने इन्जिनियर विकास गोलेले बताए। आयुष र जंग मातहत अरू मजदुरले काम गरेका थिए। 

“पेटी ठेकेदारचाहिँ काम छाडेर भागे छ। उसले कामदारको र अरू केही स्थानीयको पैसा दिन बाँकी रहेछ”, गोलेले भने। सडक निर्माण कार्य भने भइरहेको उनले बताए। भने,  “अहिले मुख्य ठेकेदारले नै काम गरिरहेको छ। उसलाई समयमै काम सक्न ताकेता गरिरहेका छौँ।” 

सडक चौडा गर्ने, पक्की नाली बनाउने र ग्राभेलको काम भइरहेको उनले बताए। अहिले मुख्य ठेकेदारले अरू नै मान्छे ल्याएर काम लगाइरहेका छन्। ज्याला नपाएपछि मजदुरहरू अलपत्र परेका थिए। उनीहरूले केही दिनअघि निर्माणस्थलमा धर्नासमेत दिएका थिए। कामदारको रोकिएको पैसा दिलाउन समन्वय गरिरहेको अध्यक्ष वाइवाले बताए। 

“मैले सोमबार मात्रै सर्वदलीय बैठक राखेर कसरी काम समयमा सम्पन्न गराउने र कामदारको पैसा उपलब्ध गराउने भनेर छलफल गरेको छु”, वाइवाले उकालोसँग भने, “काम छाडेर भाग्ने निर्माण व्यवसायीलाई जसरी पनि खोजेर समस्याको समाधान गर्छौँ।”

अहिले काम गरिरहेको निर्माण व्यवसायीलाई बिनाअवरोध काम गर्न दिने सहमति भएको वडाध्यक्ष वाइवाले बताए।