तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन महसुल बक्यौता रहेका पाँच उद्योगले शुक्रबारदेखि बक्यौता रकम तिर्न थालेका छन्।

काठमाडौँ– उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता तिर्न थालेका छन्।

नेपाल विद्युत् प्राधिकरणको पटक–पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले शुक्रबार नै प्राधिकरणलाई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रंकलाइनको कुल बक्यौता पाँच करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार बुझाएको जानकारी दिए। यसअघि नै बक्यौता तिर्न शुरू गरी वैशाखदेखि तिर्न छाडेको परासीस्थित लक्ष्मी स्टिलले पनि किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको उहाँको भनाइ छ ।

त्यसैगरी, यसअघि किस्ता बुझाई बीचमा छाडेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ बुझाएको प्राधिकरणले जानकारी दिएको छ। शुक्रबार डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न शुरू गरेको थियो।

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ। उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको हो।

त्यसैगरी, १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ। अशोकले २८ किस्ताको सुविधा लिई रु ६३ लाख बुझाएको हो।