आन्दोलनका क्रममा हुने लुटपाट भदौ २४ गते पहिलो पटक भएको होइन। यस्ता घटनामा यसअघि कुनै अपराधमा नलागेका मानिस पनि देखिन्छन्। के कोही अवसर नपाएर मात्र ‘चोर’ नभएको हो त?
काठमाडौँ– चुच्चेपाटीस्थित भाटभटेनीमा भदौ २४ गते साँझतिर आगजनी भयो। आगो लगाउनुअघि त्यहाँ भएको लुटपाटको दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन्। भाँडाकुडा, इलेक्ट्रिक सामान, लत्ताकपडा मात्र होइन, दालचामलका बोरासमेत घिसार्दै बाहिरिइरहेका मान्छे भिडियोमा देखिन्छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन विभिन्न ठाउँका भाटभटेनीसहित व्यापारिक प्रतिष्ठानमा पहिला लुटपाट र पछि आगो लगाइयो। कतिपय ठाउँमा केही व्यक्तिले लुटपाट गरिरहेकालाई सामान भित्रै राख्न लगाएको दृश्य पनि सामाजिक सञ्जालमा देखियो। नक्सालस्थित भाटभटेनीबाट लुटपाट गरिएका केही सामान स्थानीयको आह्वानमा फिर्तासमेत गरिए।
भदौ २४ गते आन्दोलनकारीको निशानामा परेपछि प्रहरीलाई समेत ज्यान जोगाउन हम्मे परेको थियो। प्रहरी पछि हटेको अवस्थामा खुलमखुला लुटपाट मच्चियो। प्रहरी कार्यालयबाटै पनि हतियारसहितका सामग्री लुटिए। केही नेताका घरसमेत लुटिएका थिए।
यसअघि, गत फागुनमा राजावादी आन्दोलनका क्रममा पनि भाटभटेनीलगायत सुपरस्टोर तोडफोड र लुटपाट भए। त्यस्तै, २०८२ असोजमा सवारी साधनलाई कारबाहीबापतको शुल्क बढाएको भन्दै आन्दोलित यातायात मजदुरले काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड र लुटपाट गरे। त्योबेला नयाँ बसपार्कबाट ८ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल चोरी भएको थियो।
नेपालका पछिल्ला आन्दोलनमा देखिएका यी दृश्य विश्वव्यापी रूपमा भने नयाँ होइनन्। २०२४ अगस्टमा बांग्लादेशको ढाकामा विद्यार्थी आन्दोलनका बेला पनि लुटपाट भएको देखियो। आरक्षण र कोटा प्रणालीविरुद्ध विश्वविद्यालयका विद्यार्थीले गरेको आन्दोलनले त्यहाँको सरकार नै ढलेको थियो। आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी कार्यालय, पसल र सुपरमार्केटमा तोडफोड र लुटपाट भए।
सन् २०२२ मा श्रीलंकामा पनि सत्ता पल्टाउने गरी आन्दोलन भएको थियो। देशले गम्भीर आर्थिक संकट बेहोरिरहेको बेला कोलम्बोस्थित राष्ट्रपति भवनमा प्रदर्शनकारीले आक्रमण गरेका थिए। अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिएका दृश्यहरूमा कोही राष्ट्रपति भवन परिसरको स्विमिङ पुलमा पौडिरहेका थिए, कोही महँगो सोफा र भान्साका उपकरण बोकेर बाहिर निस्कँदै थिए।
उता, सन् २०२० मा जर्ज फ्लोयडको हत्यापछि अमेरिकामा शुरू भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनमा लाखौँ मानिस सडकमा ओर्लिए। त्योबेला पनि अमेरिकाका थुप्रै शहरमा लुटपाट भएको थियो।
आन्दोलनका क्रममा हुने यस्ता लुटपाटमा समानता के छ भने, त्यसअघि कुनै अपराधमा संग्लग्न नभएका मानिस पनि यस्ता गतिविधिमा सहभागी भएको देखिन्छन्। यसले ‘मानिस अवसर नपाएर चोर नभएको हो त’ भन्ने प्रश्न जन्माउँछ।
किन हुन्छ यस्तो व्यवहार?
आन्दोलनका क्रममा हुने लुटपाटका पछाडि विभिन्न सामाजिक र मनोवैज्ञानिक कारण हुन्छन्। समाजशास्त्री नील स्मेल्सरले आफ्नो पुस्तक थिओरी अफ कलेक्टिभ बिहेभियरमा मानिसको यस्तो स्वभावबारे विस्तृत व्याख्या गरेका छन्।
उनका अनुसार, जब समाजमा प्रहरी वा प्रशासन कमजोर वा अनुपस्थित हुन्छ, जोकोहीले आफ्नो व्यक्तिगतभन्दा बढी भिडको शक्ति महसुस गर्छ। यसले व्यक्तिगत जिम्मेवारी कम भएको अनुभव गराउँछ।
आन्दोलन भइरहेको बेला ‘सबैले गर्दै छन्, म किन नगर्ने’ भन्ने सोच राख्छन्। यसले सामान्य अवस्थामा नगर्ने अपराध वा हिंसात्मक गतिविधि गर्न सहज बनाउँछ। स्मेल्सरले यसलाई ‘रेस्पोन्सिबिलिटी डिफ्युजन’ नाम दिएका छन्।
यस्तो बेला भिडमा सहभागीले व्यक्तिगत असन्तोष, सामाजिक असमानता वा अन्य समस्याप्रति आक्रोश पोख्छन्। यो केवल अवसरमा आधारित अपराध नभएर, लामो समयको असन्तोषको सामूहिक विस्फोट भएको उनको तर्क छ।
फ्रेन्च समाजशास्त्री तथा मनोवैज्ञानिक गुस्ताभ ले बोनले आफ्नो पुस्तक ‘द क्राउडः अ स्टोरी अफ पपुलर माइन्ड’मा मानिसले भिडमा कसरी व्यवहार बदल्छन् र सामान्य अवस्थामा नगर्ने हिंसात्मक वा असामान्य काम गर्न सक्छन् भन्ने उल्लेख गरेका छन्। मानिस भिडमा सामेल हुँदा व्यक्तिगत जिम्मेवारी कम महसुस गर्छन्। भिडको मनोविज्ञानअनुसार भावनामा बहकिँदा सामान्य अवस्थामा नगर्ने असामान्य काम गर्न प्रेरित हुने उनको तर्क छ।

यस्तै निष्कर्ष सन् २०२५ मा ‘बीएमसी पब्लिक हेल्थ जर्नल’मा प्रकाशित लुटिङ एन्ड एन्टी–सोसल बिहेभियर अफ्टर डिजास्टर: अ सिस्टेम्याटिक रिभ्यु शीर्षकको अनुसन्धानमूलक लेखमा पनि छ। प्राकृतिक वा मानवजन्य विपत्तिपछि हुने लुटपाट र असामाजिक व्यवहार प्रायः सामाजिक, आर्थिक असमानता, आवश्यक स्रोतको अभाव र आपसी विश्वासको कमीका कारण बढ्ने लेखमा उल्लेख छ।
सेम एन्ड द सिटी– लुटिङ, इमोसन एन्ड सोसल स्ट्रक्चर शीर्षकको अर्को अध्ययनले लुटपाटलाई केवल आर्थिक अवसर खोज्ने काम मात्र नभएर, समाजमा लामो समयदेखि रहेको गरिबी, असमानता र बहिष्करणसँग पनि जोडेको छ। जब मानिसले बारम्बार अपमानित वा उपेक्षित भएको महसुस गर्छन्, तब उनीहरूको असन्तोष सामूहिक क्रोधका रूपमा विस्फोट हुन्छ र लुटपाटजस्ता गतिविधिमा सामेल हुन्छन्। यस्ता लुटपाटलाई अपराधको नजरले मात्र नभई, भावनात्मक प्रतिक्रिया र सामाजिक संरचनालाई पनि ध्यानमा राखेर हेर्नुपर्ने लेखको निष्कर्ष छ।
नेपालमा देखिएको मनोविज्ञान
नेपालमा भएका आन्दोलनलाई माथि उल्लेखित अध्ययनका आधारमा हेर्दा कतिपय तर्कसँग मेल खान्छ। नेपालमा अझै ५८ लाखभन्दा बढी मानिस गरिबीको रेखामुनि छन्। ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०’ले देशको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखाएको छ। पछिल्लो डेढ दशकमा गरिबीको दरमा ५.१३ प्रतिशतले मात्र कमी आएको छ। बेरोजगारी दर पनि १२.६ प्रतिशत छ।
गरिबी, बेरोजगारी र आर्थिक असमानताका कारण समाजको ठूलो समूह राज्यसँग असन्तुष्ट छ। त्यो असन्तोष आन्दोलनअघि सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेण्डमार्फत देखिएको थियो। यसले नेता तथा व्यापारीका छोराछोरीको महँगो भनिएको जीवनशैली देखाएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा र नातिनी स्मितालगायतको जीवनशैलीबारे भिडियो बनाइयो। यो ट्रेण्डमा कयौँ व्यापारी तथा नेताका छोराछोरीको महँगो जीवनशैली देखाइएको थियो।
ती भिडियोमा प्रायः एकातिर नेताका छोराछोरीका तस्वीर र अर्कातिर सडक नपुगेको हुम्ला, सिटामोल खान नपाएका कालिकोटबासी वा १२ कक्षा सकेपछि देश छाड्न एयरपोर्ट पुगेका युवाको तस्वीर राखिएको थियो। यस्ता अधिकांश भिडियोमा ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’ बोलको गीत प्रयोग भएको थियो।
आन्दोलनका क्रममा भएका लुटपाटलाई लामो समयदेखिको असमानता, निराशा र सामाजिक असुरक्षाको विस्फोटको रूपमा मात्र हेर्न नहुने त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दीपेश घिमिरे बताउँछन्। असमानता र भष्ट्राचारविरुद्ध आन्दोलन शुरू भए पनि केही व्यापारिक प्रतिष्ठानमा ताकेरै गरिएको आक्रमण र आगजानीलाई विभिन्न कोणबाट विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। “आन्दोलनको क्रममा को, किन र कुन उद्देश्य लिएर यस्ता गतिविधिमा उत्रियो भनेर छुट्टै अध्ययन गर्नुपर्छ,” उनी भन्छन्।
तर आन्दोलनका क्रममा भएका लुटपाटको जिम्मेवारीबाट सचेत युवा पन्छिन नहुने घिमिरेको तर्क छ। आन्दोलनको क्रममा भएका यस्ता गतिविधि रोक्न आयोजक मानिएका उनीहरूकै भूमिका प्रमुख हुन्छ। तर उनीहरूले आगजानी तथा लुटपाट रोक्न नसक्नु नेपालको शिक्षा प्रणालीमा भएको ‘डिफल्ट’को रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।
नेपालको शिक्षा प्रणालीले युवालाई नैतिक शिक्षा र संस्कार व्यवहारिक रूपमा सिकाउन नसक्दा समाज नै भ्रष्ट भइरहेको घिमिरे बताउँछन्। विद्यालय तथा परिवारले व्यवहारिक रूपमा नैतिक शिक्षा र संस्कार दिन सकेनन्, युवाले आफ्नो अधिकार खोज्दै गर्दा गर्न हुने र नहुने काम थाहा पाएका छैनन्। त्यही कारण अवसर पाउनासाथ जोकोही भ्रष्ट बनिरहेको उनको भनाइ छ।
क्लिनिकल साइकोलोजिस्ट सुरज शाक्य प्रहरी प्रशासन अनुपस्थित रहेको बेला कोही चोरी तथा लुटपाटमा संग्लग्न हुनुको पछाडि भिडको मनोविज्ञानले प्रभाव पार्ने बताउँछन्। पछिल्लो घटनामा लुटपाट हुनुको पछाडि सरकारले आन्दोलनको क्रममा गरेको दमन नै भएको उनको तर्क छ।
शाक्यका अनुसार, शान्तिपूर्ण आन्दोलनमा गोली चलाउँदा सरकारप्रति सामूहिक आक्रोश उत्पन्न भयो। त्यो सामूहिक आक्रोशले आफूजस्तै नागरिकलाई लुटेर नेता तथा व्यापारी धनी भएको सामूहिक दृष्टिकोण निर्माण गर्यो। त्यो दृष्टिकोण बोकेर सडकमा निस्किएको भिडका व्यक्तिले आफ्नो विवेक गुमाए। “कलिला युवाहरू मारेको भन्दै सरकारविरुद्ध उत्रिएको समूहले भिडमा समेत व्यक्तिगत पहिचान हुन्छ भन्ने बिर्सियो, क्यामेराले खिचिरहेको छ भन्नेतिर सोचेन,” उनी भन्छन्।
कतिपय भने निश्चित व्यक्तिप्रतिको रिस र पूर्वाग्रहले पनि लुटपाटमा उत्रिन्छन्। प्रहरी प्रशासनको अनुपस्थितका बेला मानिसमा कुनै न कुनै रूपमा रहेको लोभ पनि जागृत हुने शाक्य बताउँछन्। त्यस बखत भिडमा मिसिएका कतिपयलाई भने लुटपाटपछि पश्चाताप हुने उनको भनाइ छ।
भिडमा कसैले देख्दैन वा चिन्दैन भनेर सामेल भएकाले सामाजिक सञ्जालमा ती दृश्य देख्दा पश्चाताप गर्छन्। कतिपयले भने पश्चाताप भुलाउन ‘उसले पनि लुटेकै धन त हो’ भनेर पनि चित्त बुझाउँछन्। “पहिले सामूहिक रूपमा लुटपाट हुँदा क्यामेराले खिचेको हुन्थेन, अब यो घटनापछि मानिसले अलिक चेत्लान् कि!” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
