काठमाडौँ उपत्यकाका १८ वटा प्रहरी वृत्तमध्ये अहिले मालीगाउँ मात्र सद्दे छ। तीन पटकसम्म आक्रमण र आगजनी प्रयास हुँदा जम्मा ५० जना प्रहरीले कसरी जोगाए कार्यालय, हातहतियार र थुनुवा?
काठमाडौँ– देशको संघीय राजधानी काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा बहाली र अपराध नियन्त्रणको प्रमुख जिम्मेवारीसहित तैनाथ छन् १८ वटा प्रहरी वृत्त। महानगरीय प्रहरीको अवधारणाअन्तर्गत स्थापना गरिएका यी वृत्त अहिले महानगरीय प्रहरीको संरचना नरहे पनि सम्बन्धित जिल्ला प्रहरी परिसरअन्तर्गत छन्। र तीनवटै जिल्ला प्रहरी परिसरलाई एकीकृत रूपमा हेर्ने काम उपत्यका प्रहरी कार्यालयले गर्छ।
भदौ २४ को आगजनी, तोडफोड, आक्रमण र लुटपाटमा उपत्यकाभित्रका यी १८ मध्ये १७ वटा वृत्त ध्वस्त भए। १७ वटा वृत्तका भवन आगजनी–तोडफोडले ध्वस्त मात्र भएनन्, त्यहाँका प्रहरी ज्यान जोगाएर भाग्नुपर्ने अवस्था आयो। कैयौँ ठाउँमा प्रहरीका हतियार, पोसाक, सञ्चार सेट नै लुटिए। गस्ती गर्ने प्रहरीका गाडी खरानी बनाइए।
१८ मध्ये जम्माजम्मी एउटा वृत्त यस्तो नियति भोग्नबाट जोगियो। त्यो थियो– मालीगाउँ वृत्त। यो त्यही एउटा वृत्त हो जहाँ प्रदर्शनकारीले जति नै आक्रमण प्रयास गर्दा पनि एउटा सिसासम्म पनि फुटाउन पाएनन्। शून्य भौतिक र मानवीय क्षतिमा कसरी जोगियो यही एउटा प्रहरी वृत्त?
तीन पटक आक्रमण
जेनजी आन्दोलनको पहिलो दिन, भदौ २३ गते नयाँ बानेश्वरमा प्रहरीको गोलीबाट ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि २४ गतेको आन्दोलन उग्र र हिंसात्मक हुनसक्ने आकलन सुरक्षा निकायहरूले गरिसकेका थिए। त्यही आकलनसहित २४ गते बिहानैदेखि काठमाडौँ उपत्यकाका धेरै ठाउँमा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यु लगाएका थिए। कर्फ्युबीच प्रदर्शनकारी बिहानैदेखि सडकमा आएका थिए। ११ बजेपछि त प्रदर्शन उग्र नै बनिसकेको थियो।
शुरूमा बानेश्वरस्थित संघीय संसद् भवन तोडफोड र आगजनी भएपछि ठाउँ–ठाउँमा आगजनी र तोडफोड शुरू भए। त्यो निशानामा प्रहरी पर्दै गयो। त्यहीक्रममा बानेश्वर, गौशाला र महाराजगन्ज वृत्तमा आगजनी र तोडफोड भएपछि उपत्यका प्रहरी कार्यालयले मातहतका सबै युनिटलाई सतर्क गराए पनि दिउँसो ३ बजेसम्म काठमाडौँ उपत्यकाका धेरैजसो प्रहरी कार्यालयमा आगजनी भइसकेको थियो।
उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय, उपत्यका अपराध अनुसन्धान कार्यालयदेखि तीनवटै जिल्लाका प्रहरी वृत्तहरूमा आगजनी र तोडफोडबाट कार्यालय ध्वस्त भए। त्यहाँ रहेका सवारीसाधनदेखि अन्य कागजात सखाप भए। प्रहरीका हतियार र पोसाक नै लुटिए। हिरासतमा रहेका थुनुवालाई छाडिदिनुपर्ने अवस्था बन्यो।
काठमाडौँ उपत्यकामा रहेका १८ वृत्तमध्ये मालीगाउँ मात्र त्यो वृत्त थियो जो यी सबैबाट सुरक्षित रह्यो। त्यहाँ आगजनी भएन, तोडफोड पनि हुन पाएन। सवारीसाधन क्षति वा थुनुवा छाड्नुपर्ने अवस्था त आउँदै आएन।
मालीगाउँ वृत्तमा १२४ प्रहरीको दरबन्दी छ। भदौ २४ गते बिहानैदेखि त्यहाँका प्रहरी फिल्डमा खटिएका थिए। प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासदेखि विभिन्न ठाउँमा यहाँका प्रहरी खटाइएको थियो। वृत्तमा ५० जनाको टोली तयारी अवस्थामा थियो।
“त्यति नै बेला उपत्यका प्रहरी कार्यालयबाट पूर्वमन्त्री गगन थापाको ज्ञानेश्वरस्थित निवासमा आगजनी भएको खबर आएपछि ३० जना जति त्यहाँ खटियौँ,” वृत्तका एक प्रहरी अधिकृतले भने, “त्यहाँको भीडलाई तितरबितर पारिसकेका थियौँ, त्यहीबेला गौशाला, बानेश्वरसहितका प्रहरी युनिटमा आगजनीको खबर आयो। माथिल्लो निकायबाट आफ्नो कार्यालय, कर्मचारी, हातहतियारलगायतको सुरक्षा गर्ने निर्देशन आएपछि फेरि कार्यालय फर्कियौँ।”
दिउँसो ३ बज्नै लागेको थियो, ठूलो संख्यामा आएका प्रदर्शनकारी मालीगाउँ वृत्तको मूलगेटबाहिर प्रदर्शन गर्दै ढुंगामुढा गर्न थाले।
शुरूमा माइकिङ गरेर सम्झाउन खोजेको प्रहरीले स्थिति नियन्त्रण बाहिर जान सक्ने देखेपछि बल प्रयोग गर्न ढिलो गरेन। त्यो समूहमाथि टियरग्यास प्रहार र लाठीचार्ज गर्यो। वृत्तमा आक्रमण र आगजनी हुन सक्ने सम्भावनालाई ख्याल गरेर प्रदर्शनकारी आउन सक्ने क्षेत्रमा पहिल्यै सादा पोसाकका प्रहरी खटाइएको थियो।
यही सावधानीले प्रहरी समयमै ‘एक्सन’ लिन सफल भयो। यसरी पहिलो आक्रमण निस्तेज पारेर भीड हटाइएपछि त्यहाँबाट तितरबितर भएका प्रदर्शनकारी प्रहरी प्रधान कार्यालयतर्फ मोडिए। त्यहाँबाट पनि लखेटिएपछि त्यो भीडले गहनापोखरीमा आएर त्यहाँस्थित प्रहरी बिटमा बिटमा आगजनी गरेको थियो।
दोस्रो पटक गहनापोखरीमा आगजनी गर्ने समूह र कालोपुल हुँदै आएको समूह एकत्रित भएर फेरि वृत्तमा आक्रमण र आगजनीको प्रयास गर्यो। दोस्रो पटक आएका प्रदर्शनकारीको साथमा पेट्रोल, घरेलु हातहतियारलगायत थिए।
“संख्या पनि धेरै थियो, उनीहरूले आगो लगाउन खोजे। तर भीड नियन्त्रणका सबै उपाय अपनाएर हामीले स्थितिलाई नियन्त्रणमा लियौँ,” वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जंग शाह भन्छन्, “भीडलाई तितरबितर पारेर सानो गौचरणतर्फ लखेट्यौँ, त्यही भीडको एउटा समूहले विद्युत् नियमन आयोगको कार्यालयमा आगजनी गर्यो।”
वृत्तको सुरक्षामा खटिएका ५० जना प्रहरी थिए। त्यसमध्ये केही ट्राफिक प्रहरी थिए। उनीहरूलाई पनि सामान्य प्रहरी पोसाक लगाएर खटाइएको थियो। त्यहीक्रममा मालीगाउँ वृत्तमा तेस्रोपटक आक्रमण प्रयास भयो। यसपालि ३–४ हजार प्रदर्शनकारी आएको शाह बताउँछन्।
बेलुकी करिब साढे ५ बजेको थियो। गौशाला, दरबारमार्ग, कालोपुललगायत विभिन्न क्षेत्रबाट एकसाथ आएका प्रदर्शनकारीले वृत्तको मूलगेट भत्काएर भित्र आगजनी गर्न खोजे।
“उनीहरूले ढुंगामुढा गर्दा सामान्य चोटपटक त सबैजसोलाई लाग्यो। तर चोट लागे पनि हामी पछि हटेनौँ, लगातार हवाइफायर गरिरह्यौँ, रबरका गोली र टियरग्यास पनि हानिरह्यौँ,” त्यस दिनको घटनाबारे वृत्तका एक जुनियर प्रहरी अधिकृतले सुनाए, “त्यो समूह भित्र प्रवेश गरेको भए यहाँ पनि केही बाँकी रहने थिएन। ढुंगामुढामा घाइते भए पनि हामीले हिम्मत नहारेर अन्तिमसम्म बल प्रयोग गरिरह्यौँ। अन्ततः उनीहरु तितरबितर भएर भागे।”
कार्यालय, हतियार, सवारीसाधन सबै सुरक्षित
भदौ २४ को प्रदर्शनमा प्रहरी कार्यालयहरू निशाना बन्दा अधिकांश कार्यालय ध्वस्त भएका छन् भने प्रहरी वृत्तमा रहेका लगभग सबैजसो सवारीसाधन जलेका छन्। कार्यालयबाट हातहतियार, पोसाकलगायत सामग्री लुटिएका र हिरासतका थुनुवा भगाइएका छन्। मालीगाउँ वृत्तमा भने यी सबै सुरक्षित छन्।
“हाम्रो कार्यालयमा कुनै क्षति भएको छैन, सबै कुरा सुरक्षित छन्,” डीएसपी शाहले भने, “तीन पटकसम्म आक्रमण र आगजनी गर्न खोज्दा पनि सबैले उच्च मनोबलसाथ लड्यौँ र उनीहरूलाई परास्त गर्यौँ।”
प्रदर्शन उग्र बनेर प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुन थालेपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयले मातहतका कार्यालयलाई हातहतियार र सवारीसाधन सुरक्षित राख्दै आफू सुरक्षित हुन निर्देशन दिएको थियो। “आगजनी नै भइहाले हिरासतमा रहेका थुनुवा छाड्न पनि आदेश थियो,” वृत्तका एक प्रहरीले भने, “हामीले आगजनी हुनबाटै जोगायौँ, त्यसैले थुनुवा छाड्नै परेन।”
भीडको मनोविज्ञान अराजक हुने भएकाले त्यसलाई नियन्त्रण गर्ने रणनीति बनाउन सके क्षति कम गर्न सकिने उल्लेख गर्दै उनले भने, “घरेलु हतियारसहित आएको समूहले हातपात र आक्रमण गरिसकेको थियो, आत्तिएर पछि हटेको भए ठूलो क्षति हुन सक्थ्यो। तर हामीले लगातार टियरग्यास प्रहार र हवाइफायर गरिरह्यौँ, डमी गोली चलाइरहेपछि उनीहरू पछि हटे।”
तीन पटकसम्म भएको आक्रमणलाई सुझबुझपूर्ण रणनीति बनाएर वृत्त जोगाएपछि प्रहरी नेतृत्वदेखि पूर्वप्रहरी अधिकृतहरूले मालीगाउँ वृत्त र त्यहाँका प्रहरीको प्रशंसा गरेका छन्। पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललगायतले फोन गरेरै धन्यवाद दिएको डीएसपी शाहले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
