हिल्टनमा आगजनी र लुटपाट गर्ने समूह साँझ ४ बजेसम्म सक्रिय थियो, ५ बजेतिर आगोको लप्काले पूरै लपेट्यो। भोलिपल्ट साँझसम्मै बलेको आगोले हिल्टन ध्वस्त भयो। आगजनीको कारण थियो– एउटा अपुष्ट समाचार।
काठमाडौँ– भदौ २४ गते ठाउँठाउँमा जम्मा भएको भिडमा हिल्टन जलाउने आवाज सुनिएको सूचना होटल व्यवस्थापनले पाइसकेको थियो। त्यसैले पाहुनालाई पछाडिको ढोकाबाट सुरक्षितस्थल पठाउन थालिएको थियो। होटल हिल्टन काठमाडौँको ८० कोठामा करिब १४० पाहुना थिए।
नक्साल भगवती बहालअघि आइपुगेको भिडले दिउसो १२ बजेतिर हिल्टनको दक्षिण कुनामा ढुंगा हान्न थाल्यो। अन्दाजी साढे १२ बजेतिर ढुंगा हानिरहेको भिड मूलढोका फोडेर भित्र पस्न थाल्यो। अन्दाजी ३०० जना होटलभित्र पसेर तोडफोड मच्चाउन थाले। कोही तोडफोडमा र कोही बारमा रहेका महँगा मदिरातिर लागे।
भिडमै रहेका कोही लिफ्टबाट सोझै १३औँ तला गएर, त्यहाँभन्दा माथि छतमा पुगे। त्यहाँ नाचगान र होहल्ला गरे। कतिपय स्विमिङ पुलमै पुगे।
होटलको माथिल्ला तलामा चढेको समूह मोजमस्तीमै हुँदा तल आगो झोसियो। आगो ह्वारह्वारी बल्न थालेपछि माथि रहेकाको विलौना शुरू भयो। आगोको धुवाँलाई एकत्रित गरी एउटै मुस्लोमा बाहिर पठाउने प्रणालीले भने काम गरेको थियो। होटलमा अहिलेसम्म कुनै मानवीय क्षतिको प्रमाण भेटिएको छैन। तर छतमा पुगेकाहरू कसरी जोगिए भन्ने पनि खुलेको छैन।
आगजनी, तोडफोड र लुटपाट गर्ने समूह ४ बजेसम्म सक्रिय थियो। साँझ ५ बजेतिर होटललाई आगोको लप्काले पूरै लपेटेको थियो। राति ११ बजेतिर दमकल आएपछि थालिएको निभाउने प्रयत्न १२ घण्टाभन्दा बढी समय चल्यो। आगो निभेको निष्कर्षमा दमकल फर्किएपछि फेरि बल्न थाल्यो। अनि पुनः आएका दमकलले आगो पूर्णरूपमा निभाएको हिल्टन स्रोत बताउँछ। (चेन होटल हिल्टनको अन्तर्राष्ट्रिय प्रोटोकलका कारण सूचनाको स्रोत खुलाउन नसकिएको हो।)
हिल्टनमा आक्रमण र आगजनीको कारण गत वैशाखमा प्रकाशित एउटा अपुष्ट समाचार भएको होटल आगजनीपछि व्यवस्थापनले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ। त्यस बेला जयवीर सिंह देउवा (पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु देउवाका छोरा)ले पनि उक्त पाँचतारे होटलमा लगानी गरेको भन्दै एक न्युज पोर्टलले समाचार प्रकाशित गरेको थियो।
त्यही अपुष्ट समाचारलाई प्रमुख आधार बनाई दिलभूषण पाठकले २०८२ जेठ ३ गते आफ्नो युट्युब च्यानलका लागि बनाएको भिडियो भाइरल भएको थियो। जयवीरको उजुरीमा साइबर ब्युरोले पाठकविरुद्ध पक्राउ पुर्जी लिएपछि विवाद चर्चाको उत्कर्षमा पुगेको थियो।
पत्रकार पाठकले आफूले भिडियो बनाउनुभन्दा धेरैअगाडि समाचार आएको र आफूले सर्वसाधारण र हिल्टनले भनेका कुरा के हुन् भनेर ‘एक्स्प्लेनर’ भिडियो बनाएको बताए। आफूले भिडियो बनाउनुअघि हिल्टनको लगानीको विषयमा धेरै ठाउँमा समाचार आएको र हिल्टनको खण्डन पनि आएको उनी बताउँछन्। त्यस विषयमा दुवै पक्षको भनाइ राखेर यथार्थ बाहिर आओस् भन्ने चाहनाअनुसार भिडियो बनाएको उनको भनाइ छ।
तर पाठकले बनाएको त्यही भिडियो आन्दोलन चर्काउन बनाइएका सामाजिक सञ्जालका पेजमा घुमाएको घुमायै गरिएको थियो। “हिल्टनको छेउछाउ अरू पनि पाँच सितारा होटेलहरू छन्,” प्रमुख लगानीकर्ता शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल भन्छन्, “हिल्टनमात्रै निशानामा पर्नुले पनि त्यही अफवाह आक्रमणको कारण हो भन्न सकिन्छ।”
सामाजिक सञ्जालमा भनिएजस्तो हिल्टनमा देउवा परिवारका कसैको लगानी नरहेको अग्रवाल दाबी गर्छन्। “देउवा परिवारको लगानीको प्रमाण कसैले देखाइदियोस्,” उनी भन्छन्, “त्यो शेयर म तुरुन्तै सरकारलाई हस्तान्तरण गर्दिन्छु।”
त्यस्तो समाचार प्रकाशित हुनासाथ विज्ञप्तिमार्फत खण्डन गरिसकेपछि पनि सामाजिक सञ्जालमा भाइरल बनाएर होटलप्रति नै घृणा फैलाइएको उनी गुनासो गर्छन्।
भदौ २३ गतेको जेन–जी आन्दोलनको दमनमा १९ जनाको ज्यान गएको भोलिपल्ट बूढानीलकण्ठस्थित देउवा निवास मात्र जलाइएन, देउवा परिवारको लगानी रहेको भनेर प्रचारित नामी कलेज र युलेन्स स्कुल पनि खरानी भए। चपागाउँस्थित युलेन्सको भवनका साथै हालै सञ्चालनमा आएको बाँसबारीस्थित स्कुलको संरचना पनि जलाइएका थिए।
शिक्षा पत्रकार सुदर्शन घिमिरेले फेसबुकमा स्टेटस लेख्दै हिल्टन होटल मात्र नभई युलेन्स स्कुलको मामिलामा पनि पत्रकारहरू चुकेको बताएका छन्। युलेन्स स्कुलमा आरजु देउवा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मात्र भएको, तर १ रुपैयाँ पनि लगानी नभएको उनले उल्लेख गरेका छन्।
युलेन्स स्कुल आरजुको भएको मिथ्या सूचनाको दूष्परिणाम अकल्पनीय रूपमा प्रकट भएको उनको भनाइ छ। “युलेन्स स्कुल युलेन्स एजुकेसन फाउन्डेसन नामक मुनाफा वितरण नगर्ने कम्पनीले चलाएको स्कुल हो। यो स्कुलको नाफा न आरजुले लान पाउँछिन्, न त अरू कसैले,” घिमिरेले लेखेका छन्, “कमाइ भएको पैसा स्कुलमै लगानी गर्नुपर्ने हुन्छ। फाउन्डेसन बन्द भएको खण्डमा यो सम्पत्ति स्वतः सरकारको हुन्छ।”
वर्ष दिनभित्रै सञ्चालनमा ल्याउने अठोट
१३ महिनाअघि मात्र सञ्चालनमा आएको हिल्टन होटलको ‘स्ट्रक्चर’ मर्मत गरी काम लाग्छ कि भत्काउनै पर्छ भन्ने निश्चित भइसकेको छैन। अग्रवालका अनुसार निरीक्षण गराइएका स्थानीय इन्जिनियरहरूले स्ट्रक्चर काम लाग्ने प्रारम्भिक मूल्यांकन गरेका छन्। यसको अन्तिम निक्र्योल हिल्टनले पठाउने अन्तर्राष्ट्रिय विज्ञहरूको समूहले गर्नेछ। “संरचना भत्काउन नपर्ने अवस्थामा वर्ष दिनभित्र होटल सञ्चालन गर्ने प्रयत्न हुनेछ,” उनले भने।
अन्तर्राष्ट्रिय चेन रहेको हिल्टन होटल एन्ड रिसोर्ट्सको व्यवस्थापनमा सञ्चालित प्रिमियम दर्जाको हिल्टन होटल साढे ८ अर्ब लगानीमा खोलिएको नेपालको व्यवस्थापनले जनाएको छ। विश्व टुरिजम फोरम इन्ष्टिच्युटका अनुसार, हिल्टन छैटौँ ठूलो चेन होटल हो। लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको अमेरिकी चेन हिल्टनको व्यवस्थापनभित्र संसारभर सात हजार १६५ होटल तथा रिसोर्ट छन्।
नेपालमा व्यापारिक घराना शंकर ग्रुप प्रमुख लगानीकर्ता रहेको होटल २०८१ साउन १८ बाट सञ्चालनमा आएको थियो। १० रोपनी क्षेत्रफलमा फैलिएको होटल १७ तलाको थियो। यसमा एउटा ‘प्रेसिडेन्सियल सुइट’, दुईवटा ‘लक्जरी सुइट’ र अन्य १० वटा ‘सुइट रुम’सहित १७२ कोठा सञ्चालनमा थिए। यस होटलको कुल भौतिक निर्माण क्षेत्र १९ हजार ७५७ वर्गमिटर छ।
सन् २०१४ मै सम्झौता भए पनि होटल निर्माण सम्पन्न भई सञ्चालनमा आउन आठ वर्ष लागेको थियो। ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाई सन् २०१६ बाट निर्माण थालिएको थियो। भौतिक संरचनाको निर्माणले गति लिइरहेको बेला कोभिड–१९ महामारीले गर्दा सम्पन्न हुन विलम्ब भएको व्यवस्थापकको भनाइ छ।
निर्माणमा ढिलाइ हुँदा १ अर्ब १० करोड रुपैयाँ लागत बढेर साढे ८ अर्ब पुगेको लगानीकर्ताको दाबी छ। कुल लागतको करिब ६० प्रतिशत अर्थात्, ५ अर्ब २ करोड रुपैयाँ नेपालका विभिन्न बैंकहरूले ऋण लगानी गरेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा होटलले ८० करोड रुपैयाँ समग्र आम्दानी गरी नेपाल सरकारलाई करिब १५ करोड राजस्व तिरेको शंकर ग्रुपले जनाएको छ। यहाँ प्रत्यक्ष रूपमा १८३ र अप्रत्यक्ष ५३ जना गरी कुल २३५ जनाले रोजगारी पाएका थिए।
अन्य वित्तीय क्षेत्र पनि प्रभावित
हिल्टनमा नौ वटा बैंकहरूको लगानी छ। सबभन्दा बढी नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १ अर्ब १ करोड ८० लाख लगानी गरेको छ। त्यसपछि क्रमशः नेपाल एसबीआई बैंकको ८४ करोड ६० लाख, माछापुच्छ्रे बैंकको ५६ करोड ९५ लाख, प्रभु बैंकको ४९ करोड ७५ लाख, नेपाल बैंकको ४९ करोड ७५ लाख लगानी छ। त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ४९ करोड ७० लाख, नबिल बैंकको ३९ करोड ८० लाख, एभरेष्ट बैंकको ३८ करोड ८० लाख र कृषि विकास बैंकको २९ करोड ८५ लाख रुपैयाँ लगानी छ।
होटलको बीमा ५ अर्ब रूपैयाँ बराबरको छ। तर कति हिस्सा बीमाबाट भरपाई हुनसक्छ भन्ने अध्ययन भइरहेको ओरिएन्टल इन्स्योरेन्स कम्पनीले जनाएको छ। नेपालमा पनि शाखा विस्तार गरेर काम गरिरहेको यो भारतीय निर्जीवन बीमा कम्पनी हो।

इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालका सीईओ टोटन चक्रवर्तीले अहिले नै हिल्टनमा कति क्षति भयो भन्न नसकिने उकालोसँग बताए। “अहिले नै बोल्न मुस्किल छ, सर्वेयरहरू आउन दिऊँ पहिला, अहिले प्रारम्भिक सर्वेक्षण मात्र गरिएको छ। भारतबाट नै सर्वेक्षक आएर यसको विस्तृत सर्भेक्षण हुनेछ,” चक्रवर्तीले भने।
उनका अनुसार नेपालका एक र भारतबाट एकजना सर्भेयर हुनेछन्। रिइन्सुरेन्स कम्पनी त्यसैमा सहमत नभए उनीहरूबाट पनि अर्का सर्भेयर खटिन सक्छन्।
बीमा कम्पनीहरूले जोखिमको भार आफूले मात्रै लिँदैनन्। सामान्यतः बीमा कम्पनीहरूले बीमाको औसत ३० प्रतिशतसम्म मात्रै भार बेहोर्छन्, बाँकी जोखिम पुनर्बीमा गरेका हुन्छन्। ओरिएन्टलले आफ्नो वेवसाइटमा राखेअनुसार, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पुनर्बीमा र जेनेरल इन्स्युरेन्स कर्पोरेसन अफ इन्डियासँग पुनर्बीमा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
केशु लामिछाने
